coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

उभौली, संक्रान्ति र संक्रमण

आदिवासी जनजाति किरातहरूको सर्वश्रेष्ठ–सर्वज्येष्ठ महान् चाड माघी वा माघे संक्रान्तिको महत्व अति उच्चकोटि छ। यो प्राचीन ऐतिहासिक पृष्ठभूमिमा छ। पूर्वीय दर्शन वेदाङ्गको छैटौँ अंग मानिने ज्योतिषमा मकर संक्रान्ति वा धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने अर्थात् भूमध्यरेखाबाट उतरतर्फ सूर्य अयन उत्तरायणमा उकालो उँभो आउने प्राकृतिक न्यायिक परम्परालाई नै प्रचलित भाषामा उभौली भनिन्छ। उँभोतिर उक्लिनु उभौली काल, समय खण्डलाई युग–युग देश, काल, पात्र परिस्थिति अनुकूल चाड पर्वका रूपमा मान्दै आएको संस्कार वर्तमानमा बेजोड रूपमा तामझामका साथ सांस्कृतिक पर्व विकसित हुनु गौरवको कुरा हो।

अघिल्लो महिनाको अन्त्य र नयाँ महिनाको सुरु नभएको स्थितिलाई संक्रमणकाल भनिन्छ, संक्रमण मुक्त भएको संक्रान्ति प्रत्येक मासको पहिलो दिन हो। धर्म, संस्कार, चाडपर्व, तिथिबार, ऋतु परिवर्तन, खगोल र भूगोलसँग जोडिएको माघे संक्रान्तिलाई किरात मुन्धुमि भाषाबाट “कक्फेक्वा तङनाम” भनिन्छ। चाँप फुल्ने यामपश्चात् अब खेतीपाती गर्ने योग्य समय आयो, कमिला भुइँबाट निस्कन थाल्छ, मौरीहरू चरणमा चर्न जान्छन्, चराचुरुङ्गीहरू विभिन्न आआफ्नो भाकामा गाउन थाल्छन्, किसानहरू खेतीपातीको श्री गणेश गर्न बीउ, बिरुवा राख्ने खनजोतको सुुरुवात गर्छन्, सूर्यको किरण तापक्रम तापिलो भई पृथ्वी फुक्दै खेती गर्न योग्य जग्गा जमिनको सांकेतिक अवस्था “उभौली र उधौली” पुस्तकमा हुबहु वर्णन गरेको छु।   

प्राग्कालीन अवस्थामा आगोको उत्पत्ति, कन्दमूल र फलपूmल मात्र खान पाइने तथा शिकार मारी खाने शिकारी युगमा वनको तरुल, जंगल आसपासका लहरा, तहरा, साग, सिस्नु खोजी ल्याएर सर्वप्रथम चुल्होमा पोली खाने विधि जान्यौँ। त्यसपछि उसिनी खाने प्रथाको क्रमशः विकसित हुँदै अन्नको सृष्टिपछि भुटी खाने पकाइ खाने सभ्यताको सुरुवातको सम्झनास्वरूप आजतक माघी पर्व विशाल जन–समारोहको रूपमा एवं व्यक्तिगत घर घर र सामाजिक सभामा मान्ने प्रचलन मनुष्य जातिको शिष्टता, सभ्यता, र संस्कृतिको जगेर्ना तथा संरक्षण संरक्षणको निरन्तरता हो।

घर, अँगेना, चुल्होमा आगोमा लगाई पोल्नु नै यज्ञ हो भने पकाएर भोजन गर्नु सभ्यताको क्रमिक नमुना हो। प्राचीन सभ्यता संस्कार मानवजातिको अध्ययन गर्दा अग्निदेव ईश्वरको मुख वा किरातेश्वर शिव अग्निदाता हुने कारणले अग्निमा दहन गरी पोल्ने प्रक्रिया जन्मदेखि मरणसम्मको अवस्था अद्यावधिक व्यावहारिक र सामाजिक  संस्कारमा प्रचलित छँदै छ।

नेपालका ५९ जनजाति महासंघले माघे चाड ऐतिहासिक र प्राचीन पर्वका रूपमा मान्छ भने आ–आफ्ना गाउँ  हर्षोल्लासका साथ खुसी हुँदै मनाउने परम्परा प्रचलित छ। किरात, धर्म, दर्शनका अनुसार किरात धर्मगुरु आत्मानन्द लिङ्देनद्वारा परिमार्जित तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट उद्घाटित विमोचित किरातका चाड–पर्वहरूमा उधौली–उभौलीलगायत आधा दर्जन जति चाडपर्वहरू मनाउने घोषणा भएको स्मरण गराउँछु। यीमध्ये सबैभन्दा जेठो चाड माघे संक्रान्तिलाई माघ १ देखि ७ गते तक सप्ताहव्यापी पर्वका रूपमा विभिन्न कार्यक्रमका साथ मनाउने मूल थलो इलामको माङसेबुङ किरातेश्वर धाम लारुम्बामा वार्षिक मनाउँदै र अनुयायीहरूलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय मनाउन लगाउनु किरात संस्कृति, संस्कार, धर्म, कर्म, चाड, पर्व, उत्सवको निरन्तरता दिनु अक्षरशः पालन गर्नु मानव सभ्यता संस्कृति औ पहिचानको द्योतक हो। यही क्रममा प्रत्येक सालको माघ १ देखि ७ गतेसम्म सप्ताहव्यापी विभिन्न व्यञ्जन ६४ खाद्य मात्र नभएर १०८ प्रकारका आहारा खाना, भोजन, तुलफूल, फलफूल, कन्दमूल, बनाएर आफ्नो प्राचीन चाडपर्व मनाउनु र खेलकुद मनोरञ्जन, सांस्कृतिक नाचगान आदि प्रदर्शनले मानव शिष्टता, सभ्यता र संस्कारको ज्वलन्त उदाहरणीय नमुना हो। साप्ताहिक पर्वको मध्यान्तरण माघ ५ गते विशाल जन समारोह भेला भई उभौली पर्वमा राष्ट्र अन्तर्राष्ट्रिय भक्तजन एवं राष्ट्र प्रमुखहरू आगमन हुने परम्परा छ।

भारत, भुटान, बर्मा, हङकङ, युके, अमेरिकालगायत १०–१५ राष्ट्रका सहभागिताले किरात धर्मको शान, मान, थान, गान बढाएको महसुस हुन्छ भन्ने काठमाडौँ राजधानी खुला मञ्चमा राष्ट्र नेताले सम्बोधन गर्ने चलन नेपाल र नेपालीको  सहिष्णुता, समझदारी औ बहुजाति, बहुभाषी, बहुसंस्कृति औ बहुधर्मी बहुपार्टीको मुलुकको परिचय हो। यही संस्कृति औ बहुधर्मी, बहुपार्टी मुलुकको परिचय हो। यही संस्कृति सद्भाव, सदाचार, सहिष्णुताले बुद्ध, ऋङ्ग, वेदव्यास, परासर, खप्तड बाबा, शिवपुरी बाबा, फाल्गुनन्द, आत्मानन्द, ध्यानी, ज्ञानी, मानीहरूको ज्ञान दर्शनले सिंचत सगरमाथाको उच्चाइझैँ चाडपर्व साथमा समृद्ध नेपाली, सुखी नेपाली रहन सकौँ उभौली पर्वको उपलक्ष्यमा यही शुभकामनासहित पत्रान्त गर्छु। थलशान्ति, जलशान्ति, आकाशशान्ति, वायुशान्ति, अग्निशान्ति, विश्व ब्रह्माण्डशान्ति, मानवशान्ति।

प्रकाशित: ७ माघ २०७५ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App