८ वैशाख २०८१ शनिबार
कला

देशविदेशका कथामा ‘गुलाफसँगको प्रेम’

काठमाडौं - अष्ट्रेलियामा बस्दै आएकी साहित्यकार संगीता स्वेच्छाले ‘गुलाफसँगको प्रेम’ नामक कथा संग्रह पाठकमाझ ल्याएकी छन् । संग्रहमा परदेशमा बसेका नेपालीको कथासँगै स्वदेशबाट विदेश गएपछि सांस्कृतिक, पेसा तथा जीवनमा आउने रूपान्तरणको चित्रलाई कथात्मक रूपमा समेटिएको छ ।

संग्रहको आइतबार राजधानीमा कवि तथा साहित्यकर्मी तुलसी दिवस, साहित्य अनुरागी सुस्मिता नेपाल र शेखर खरेलले लोकार्पण गरे । कवि दिवसले विदेशिएका धेरै जनसंख्यामध्ये कमैले मात्र सिर्जनशिलता बोकेर फर्कने गरेको बताए । ‘पुस्तक पढ्दै जाँदा पाठकले गर्ने अनुमानविपरितका विषय पाउँछन्’, दिवसले भने, ‘कुनै फर्मुला कथा जस्तो कथा पुस्तकमा छैन । कथाको स्वरुप राम्रो छ ।’ दिवसले संगीताका कथामा जिन्दगीमा मानिसले सोचेको, खोजेको र भोगेको भन्दा बढी पीडा र व्यथाहरू पाइने उल्लेख गरे । 

अर्की समिक्षक सुस्मिताले परदेशिएका नेपालीले भोग्नु परेको नागरिकता, अन्तर्जातिय विवाह, स्वतस्फुर्त जीवनको चाहना, जीवनमा गर्नुपर्ने सम्झौताका यथार्थ कथासंग्रहमा पाइने बताइन् । ‘समाजको सामाजिक, आर्थिक र पारिवारिक समस्यासँगै संस्कार सस्कृति कथाका पर्याय बनेका छन्’, उनले भनिन् । त्यस्तै शेखरले कथा वियोगान्त, विग्रह र विखण्डनको भावमा लेखिएको बताए । 

कथाकार संगीताले लेखनमा बीचको लामो समयको थातीपछि कथा संग्रह लिएर आएको बताइन् । उनले जतिसुकै सक्षम भएपनि परदेशमा संघर्ष गर्दाको व्यस्तता र साहित्यिक माहोलको अभाव खेप्नु परेको खुलाइन् । उनले नयाँ उपन्यासको अन्तिम तयारी भइरहेको बेला कथासंग्रह लिएर जनाइन् । उनको यसअघि उपन्यास ‘पखालिएको सिउँदो’ र संयुक्त कथासंग्रह ‘असहमतिका पाइलाहरू’बजारमा ल्याइसकेकी छन् ।

बेलायतको सर्रे युनिभर्सिटीबाट वातावरण सञ्चारमा विद्यावारिधी गरेकी लेखिकाले अष्ट्रेलियाको होम्सग्लेन इनिष्टिच्युटबाट सफ्टवेयर डेभलपमेन्टमा डिप्लोमा गरेकी छिन् । प्रकाशक रंग नेपालका निर्मल घिमिरेले कथा संग्रहमा रहेका २० कथामध्ये १२ कथा पहिले प्रकाशित भइसकेका र अन्य ८ अप्रकाशित कथा रहेको बताए ।

 

प्रकाशित: ७ माघ २०७५ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App