८ वैशाख २०८१ शनिबार
समाज

खोटाङका अधिकांश स्थानीय तहका हिसाब ‘अपारदर्शी’

खोटाङ – महालेखा परीक्षकको कार्यालयले खोटाङका अधिकतर स्थानीय तहको वित्तीय विवरण चुस्तदुरुस्त नभएको जनाएको छ। सरकारी निकायको लेखा परीक्षणका लागि केही समयअघि आएको महालेखा परीक्षकको टोलीले हरेक स्थानीय तहमा वित्तीय विवरण अधावधिक नगरेको पाइएको जनाएको हो।

स्थानीय तहले एकमुस्ट खर्च गरेको देखिए पनि शिक्षा, स्वास्थ्य, महिला विकास, कृषि, आयुर्वेद लगायतका विषयगत खर्चको छुट्टाछुट्टै हिसाबकिताब नराखेको पाइएको महालेखा परीक्षकको कार्यालयका निर्देशक प्रद्युम्न न्यौपानेले बताए। जिल्लाका स्थानीय तहको वित्तीय विवरण र खातापाता अद्यावधिक गर्ने काम नभएको देखिएको छ,’ निर्देशक न्यौपानेले भने, ‘यति मात्रामा खर्च भयो भन्ने देखिन्छ। तर, विषयगत रूपमा कहाँ, कति खर्च भयो भन्ने देखिन्न। बजेट एकै ठाउँमा राखेर खर्च गरेको पाइएको छ।’

यस्तै स्थानीय स्तरको सञ्चित कोषको हिसाबकिताब पनि अद्यावधिक नभएको महालेखा परीक्षक टोलीको ठहर छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेका खोटाङका अधिकतर स्थानीय तहले असाध्यै बढी टुक्रे योजनामा बजेट खर्च गरेको, कतिपय स्थानीय तहमा कामअनुसार बिलभर्पाई नपाइएको/नपुगेको, कर आन्तरिक राजस्व कार्यालयमा नबुझाउने गरेको पाइएको छ। एक वडामा हचुवामा विद्युतीकरणका लागि १ करोड ८० लाख रुपैयाँ खर्च गरिएको जनाइएको छ। ‘स–साना योजनालाई बजेट छुट्याउने र मर्मतमा बढी खर्च गर्ने प्रवृत्ति देखिएको छ,’ न्यौपानेले भने, ‘उपलब्धिमूलक र रणनीतिक महत्वका सडकलाई भन्दा मर्मतका टुक्रे योजनामा खर्च गर्ने गरेको पाइएको छ। एउटै वडामा २०÷२२ वटा टुक्रे योजना सञ्चालन गरिरहेको पनि पाइयो।’

३५ दिनभित्र लेखा परीक्षण पूरा गर्ने गरी महालेखा परीक्षकको कार्यालयको टोली मंसिर पहिलो साता खोटाङ आएको थियो।

प्रकाशित: ७ माघ २०७५ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App