८ वैशाख २०८१ शनिबार
कला

प्रचारप्रसार दौडाहामा ‘समर लभ’

मोफसलमा प्रचारप्रसारमा व्यस्त समर लभ फिल्म टोली हेटौंडामा पत्रकार सम्मेलन गर्दै। तस्बिर : अशोकसुजन/नागरिक

मकवानपुर - सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को टोली यतिबेला मोफसल प्रचारप्रसारमा व्यस्त छन् । फिल्म युनिटले हेटौंडामा गत शनिबार पत्रकार सम्मेलन गरेर फिल्मबारे जानकारी दिँदै पूर्वी नेपाल गएका छन् ।

फिल्मका निर्माता खगेन्द्र श्रेष्ठले ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रेम दिवस’का दिन पारेर माघ २५ गतेबाट फिल्म रिलिज हुने भएपछि प्रचारप्रसारलाई तिब्रता दिइएको बताए । ‘आइतबार धरान र ईटहरीमा, सोमबार दमक र बिर्तामोड र समयले भ्याए विराटनगरमा पनि पत्रकारसँग भेटघाट गर्नेछौं’, उनले भने, ‘मंगलबार पोखरामा र पुनः चितवनमा पत्रकार सम्मेलन गर्दै काठमाडौंका कलेजमा फिल्म हेर्न अभियान चलाउनेछौं ।’

फिल्म टोलीले चितवनमा गत पुस ३० पत्रकार सम्मेलन गर्दै मोफसल यात्रा शुरु गरेको थियो । टोलीले मंगलबार नेपालगञ्जमा, बुधबार दाङमा र बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रचारप्रसार गरेको थियो ।

नायक आशिष पियाले पर्याप्त तयारी र तीन वर्ष लगाएर फिल्म छायांकन गरिएकाले दर्शकले रुचाउनेमा आशा व्यक्त गरे । ‘उपन्यास अनुसार नै देशविदेशका सुन्दर स्थानमा फिल्म छायांकन गरेका छौं,’ फिल्ममा अतीतको भुमिकामा देखिएका उनले भने, ‘हामीले निकै मेहनत गरेकाले फिल्मले माया पाउनेमा ढुक्क छौं ।’

फिल्ममा सायाको भुमिका निभाएकी नवनायिका रेवती क्षेत्रीले बलिउडमा पनि काम गरि सकेकाले ‘समर लभ’मा निखारता पस्केको बताईन् । नायिका नम्रता सापकोटाले फिल्ममा सुस्मिताको भुमिका निभाएकी छन् । मुस्कान ढकालको निर्देशन रहेको फिल्ममा आशिष र रेवतीसँगै सुरजसिंह ठकुरी, सरोज खनाल, ओम प्रतिक, शिशिर भण्डारीलगायतको अभिनय छ । मुस्कानले यसअघि फिल्म ‘नाइँ नभन्नु ल ३’को निर्देशन गरेका थिए ।

नाइटिंगेल इन्टरटेनमेन्टको व्यानरमा बनेको फिल्ममा सुबिनको कथामा सामीप्यराज तिमल्सेनाको पटकथा तथा सामिप्य र सुबिनकै संवाद, खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता तथा विनोद अधिकारी कार्यकारी निर्माता छन् । फिल्ममा स्वपन सरकार र मनोज विक सह–निर्माता छन् ।

फिल्म सिंगापुरसँगै काठमाडौं, पोखरा, धनगढीलगायतका स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । निर्माता भण्डारीले फिल्म हेर्ने एक भाग्यमानी दर्शकले लक्की ड्रमार्फत् थाइल्याण्डको भ्रमण गर्न पाउने बताईन् । उनका अनुसार विजेता घोषित हुनेले फिल्मको गीत, पोस्टर र ट्रेलर फेसबुकमा अनिवार्य शेयर गरेको हुनुपर्ने छ भने फिल्म हेरेको टिकट साथमा हुनुपर्नेछ ।

 

प्रकाशित: ७ माघ २०७५ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App