८ वैशाख २०८१ शनिबार
समाज

आर्थिक प्रलोभनमा परे कडा कारबाही : आइजिपी

काठमाडौं - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी कुनै पनि कर्मचारी आर्थिक प्रलोभनमा परेको जानकारीप्राप्त भए कडा कारबाही गर्ने चेतावनी दिएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंस्थित नवनिर्मित नागरिक सहायता कक्षको आइतबार उद्घाटन गर्दै महानिरीक्षक खनालले प्रहरी कर्मचारीले आर्थिक प्रलोभनमा परेको र दुई रुपैयाँ नै किन नहोस्, घुस खाएको भेटिए कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।

काठमाडौं देशको राजधानी भएकाले यहाँ हुन सक्ने गुन्डागर्दी, आर्थिक अपराध, मानव बेचबिखन, लुकेका अपराधलगायतलाई जरैदेखि निर्मूल पार्न नेपाल प्रहरी तत्पर रही काम गर्दै आएको उनको भनाइ थियो। अपराध नियन्त्रणका लागि नागरिक समाज तथा सरोकारवाला अन्य निकायले समेत आवश्यक सहयोग गरिरहेको बताउँदै उनले प्रहरी आर्थिक प्रलोभनमा परेको थाहा भए प्रहरी प्रधान कार्यालयमा खबर गर्न समेत आग्रह गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले उक्त कक्ष निर्माण गरी प्रहरीलाई हस्तान्तरण गर्ने नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, काठमाडौं परिसर मातहतका नागरिक सहायता कक्षमा निःशुल्क वाईफाई जडान गरी सहयोग गर्ने सुविसु केवल नेट प्रालि, परिसरस्थित नागरिक सहायता कक्षमा फर्निचरलगायत सहयोग गर्ने सामाजिक संस्थाहरु विश्वास नेपाल र संरक्षक समूह नेपालका प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गरेका थिए। कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले समुदाय प्रहरी साझेदारी अवधारणाअनुसार सहायता कक्ष निर्माण गरिएको जानकारी दिँदै पीडितमैत्री सेवा प्रदान गर्ने उद्देश्यमा यस्ता कक्षहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। नागरिकलाई समेत जिम्मेवार बनाई अपराध न्यूनीकरण गर्न समुदाय प्रहरी साझेदारी अवधारणा लागू गरिएको उनको भनाइ थियो।

साइबर अपराध, लागूऔषध दुव्र्यसन, महिला हिंसाजस्ता सामाजिक अपराध न्यूनीकरणका लागि प्रहरीको मात्रै प्रयासले सफल हुन नसक्ने बताउँदै खनालले भने, ‘साझेदारी कार्यक्रम लागू भएपछि प्रहरीलाई समुदायबाट उल्लासमय रुपमा सहयोग प्राप्त भएको छ।’ कार्यक्रममा काठमाडौंकाप्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले केन्द्रदेखि टोलटोल समेट्ने गरी ल्याइएको समुदाय प्रहरी साझेदारी अवधारणाले राज्य र नागरिकबीच सेतुको रुपमा कार्य गरेको चर्चा गरे।

प्रकाशित: ७ माघ २०७५ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App