७ वैशाख २०८१ शुक्रबार
खेल

बाहिरिए फेडेरर

मेलबर्न - स्विस स्टार रोजर फेडेरर अस्ट्रेलियन ओपनको प्रिक्वार्टरफाइनलबाट बाहिरिएपछि लगातार तेस्रो पटक उपाधि जित्ने सपना अधुरै रहेको छ।

मेलबर्नको रोड लाभेरा एरिनामा भएको खेलमा ३७ वर्षे फेडेरर २० वर्षे स्टेफानोस सिटसिपाससँग ३ घण्टा ४५ मिनेट लामो समयसम्म  संघर्ष गरे पनि ३–१ को सेटमा स्तब्ध हुँदै १६ वर्षमा दोस्रो पटक क्वार्टरफाइनलमा पुग्न असफल भए। ६ पटक अस्ट्रेलियन ओपन च्याम्पियन फेडेररलाई स्तब्ध बनाउँदै स्टेफानोस ग्रान्ड स्लामको अन्तिम आठमा स्थान बनाउने पहिलो ग्रिक खेलाडी बने ।  

पहिलो सेट गुमाए पनि स्टेफानोसले उत्कृष्ट पुनरागमन गर्दै जित रचे । स्टेफानोसले फेडेररमाथि ६–७(११÷१३),७–६(७÷३), ७–५ र ७–६(७÷५) को जित निकालेका थिए । फेडेररले यस पटक पनि जित निकाल्ने लक्ष्य भए पनि सफल हुन नसकेको बताए । ‘यो पटक निकै संघर्ष गरे पनि खराब नतिजा पाए,’ फेडेररले भने,‘आगामी खेलमा भने राम्रो तयारी गरेर उपाधि जित्ने योजनामा छु । ’

विश्व नम्बर दुई एन्जेलिक केरबर अस्ट्रेलियन ओपनको प्रिक्वार्टरफाइनलमा गैरवरीयताकी अमेरिकी स्टार डेनिली कोलिन्ससँग स्तब्ध हुँदै वर्षको पहिलो ग्रान्ड स्लामबाट बाहिरिएकी छन् । मेलबर्न पार्कमा आइतबार भएको खेलमा ३१ वर्षीय जर्मन स्टार एन्जेलिक २५ वर्षीय गैरवरीयताकी कोलिन्सलाई एक घण्टामा खेल सुम्पिँदै वर्षको पहिलो ग्रान्ड स्लामबाट बहिर्गमन भइन् । 

डेब्यु खेलमै कोलिन्सले तीन पटककी ग्रान्ड स्लाम च्याम्पियन एन्जेलिकमाथि हाबी भइन् । एकतर्फी खेलमा कोलिन्सले एन्जेलिकमाथि ६–० र ६–२ को सोझो सेटमा जित रचिन् । क्वार्टरफाइनलमा कोलिन्सले पाँचौं वरीयताकी आफ्नै देशकी स्लोएनी स्टेफेन्स र रसियाकी एनास्टासिया पयलुचेन्कोभाबीचको विजेतासँग खेल्नेछिन् । कोलिन्सले क्वार्टरफाइनलसम्म पुगिसकेकाले थप आत्मविश्वास बढेको बताइन् । 

‘मैले यो सफलताका लागि ठूलो मिहिनेत गरेको छु,’ कोलिन्सले भनिन्, ‘यस जितसँगै आत्मविश्वास पनि बढेको छ । मैले आफ्नो खेलमा नै ध्यान केन्द्रित गरेको छ । साथै आफ्नो सटमा पनि विश्वास बढेको छ ।’ यो प्रतियोगिताअगाडि कहिले पनि ग्रान्ड स्लामको खेल जित्न असफल कोलिन्ससँग यस पटक भने उत्कृष्ट लयमा छिन् । 

विम्बल्डन च्याम्पियनसमेत रहेकी एन्जेलिकले यसअघिका तीन खेलमा एक सेट नगुमाए पनि कोलिन्ससँग भने बिर्सनलायक प्रदर्शन गरिन् । मेलबर्न पार्कमा सन् २०१६ को अस्ट्रेलियन ओपन जितेकी एन्जेलिकले गत वर्ष भने सेमिफाइनलसम्म यात्रा गरेकी थिइन् । घरेलु मैदानमा एस्लेघ बार्टीले रसियाकी मारिया सारापोभामाथि ६–४, ६–१ र ६–४ को जित रचिन्। 

यससँगै सन् २०१४ पछि पहिलो ग्रान्ड स्लाम जित्ने सारोपोभाको सपना अधूरै रहेको छ । पाँच पटक ग्रान्ड स्लाम विजेता सारापोभा लामो समयको प्रतिबन्धपछि उपाधि लयमा फर्कन संघर्षरत छिन् । अस्ट्रेलियाकी बार्टीले क्वार्टरफाइनलमा रसियाकै पेत्रा कभितोभासँग प्रतिस्पर्धा गर्नेछिन्।

प्रकाशित: ७ माघ २०७५ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App