४ वैशाख २०८१ मंगलबार
समाज

कतै जनशक्ति छैन, कतै उपकरण

इलाम सदरममुकामस्थित जिल्ला अस्पताल। ५० शड्ढयाको यो अस्पताल एक विशेषज्ञको भरमा चलिरहेको छ। तस्बिर : भीम/नागरिक

इलाम - सरकारी अस्पतालमा पर्याप्त सुविधा नहुँदा मेची क्षेत्रका सर्वसाधारणले सधैं सास्ती खेप्नुपरिरहेको छ। पहाडी भेगका अस्पतालबाट धेरैजसो बिरामी रेफर गरिन्छन् भने तराईमा पूर्वाधार भएर पनि जनशक्ति नहुँदा बिरामीले उपचारका लागि अन्यत्र धाउनुपरेको छ।

पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा पूर्वाधार अभाव छ। कतिपय अस्पतालमा उपकरण छन्, जनशक्ति छैन भने कतिपयमा पूर्वाधार पर्याप्त भए पनि विशेषज्ञ चिकित्सककै दरबन्दी खाली छ। यहाँका सरकारी अस्पतालमा औषधि र निःशुल्क औषधि पर्याप्त नहुनु सधैंको समस्या बन्ने गरेको छ। सरकारले दिएको स्वास्थ्य बिमाको सुविधा लिन पनि झन्झट बेहोर्नुपरिरहेको सेवाग्राहीको गुनासो छ।

सरकारी अस्पतालमा सेवा नपाएपछि ताप्लेजुङदेखि पाँचथर र इलाम हुँदै झापासम्मका बिरामी महँगो खर्च गरेर निजी अस्पताल धाउन बाध्य छन्। उपचार गराउन पूर्वी जिल्लाका सर्वसाधारण झापा, विराटनगर, धरान र काठमाडौंका मात्र नभई भारतका सिलिगुडी, बेङ्लोर, दार्जिलिङ, कोलकाता र नयाँदिल्लीसम्म पुग्न बाध्य छन्।
इलाम अस्पतालमा सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई गत सोमबार चिकित्सकले आइसियु (इन्टेन्सिभ केयर युनिट) मा राख्न सुझाव दिए। तर, इलाममा यो सुविधा नभएपछि उनलाई नर्मल स्लाइन र अक्सिजन दिएर राखिएको छ। उनको थप उपचारका लागि बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोली नै गुहार्नुप¥यो। टोली डा. केसीको स्वास्थ्य परीक्षण गरी फर्कियो। आइसियुमा राख्नुपर्ने बिरामीलाई एन्टिबायोटिक र स्लाइनका भरमा राख्नुपरेको चिकित्सक बताउँछन्।

मेची क्षेत्रभरमा झापास्थित एक सय ३४ शड्ढयाको साबिक मेची अञ्चल अस्पतालमा मात्रै आइसियु सुविधा उपलब्ध छ। तर, पर्याप्त चिकित्सक नभएकै कारण अढाइ घन्टाको दूरीमा रहेको मेची अस्पतालले पनि इलाम आएर सेवा दिन सकेन। झन्डै पाँच घन्टाको धरानबाटै टोली आउनुप-यो। ‘क्षेत्रीय कार्यालयबाट भेन्टिलेटर इलाममा आवश्यक छ, सेवा दिन सम्भव छ कि छैन भनेर सोधिएको थियो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले भने, ‘टोलीमा जान आवश्यक चिकित्सक नभएकाले सेवा दिन सकेनौं।’ उनले अस्पतालमा चार शड्ढयाको आइसियु सेवा रहेको जनाए। ‘आइसियु सुविधा लिन आवश्यक हुने बिरामीको संख्या धेरै हुन्छ तर २२ विशेषज्ञको दरबन्दीमा १० वटा खाली भएकाले आएका बिरामीलाई पनि सेवा दिन समस्या भइरहेको छ।’

उपचार गराउन भारतसम्म पुग्नुपर्ने बाध्यता

मेची अस्पतालमा ओपिडी, एक्स–रे, भिडियो एक्स–रे, डेन्टल, आकस्मिक, इसिजीलगायतका सेवासुविधा छन्। नाक–कान–घाँटी, मनोरोग, बालरोग, प्याथोलोजी, सर्जनलगायतको दरबन्दी खाली हुँदा चाहेअनुसारको सेवा दिन नसकेको ठाकुर स्वीकार्छन्। ‘औषधि पनि यो वर्ष आएको छैन। अस्पतालका कतिपय सेवा भएर पनि सर्वसाधारणसम्म पु¥याउन सकेका छैनौं,’ उनले भने, ‘मुख्य आवश्यकताचाहिँ डाक्टरको दरबन्दी पूरा नहुनु नै हो।’

अञ्चल अस्पतालकै यो अवस्था हुँदा बाँकी तीन पहाडी जिल्लाका अस्पतालको स्थिति अझ दयनीय छ। ५० शड्ढयाको इलाम जिल्ला अस्पतालमा नौ विशेषज्ञसहित १६ चिकित्सकको दरबन्दी छ। तर, अहिले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाहेक अन्य दरबन्दी खाली छन्। हाडजोर्नी र जनरल शल्यक्रियाका चिकित्सक करारमा कार्यरत छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले आइसियु, सिसियुलगायत सेवा दिन छुट्टै चिकित्सक आवश्यक पर्ने भएकाले यहाँ उपकरणसमेत नभएको बताए। ‘दक्ष स्वास्थ्यकर्मी नभएपछि उपकरण हुने त कुरै भएन, भएर पनि चलाउने अवस्था रहँदैन,’ उनले भने, ‘इलाममा आइसियु र सिसियु अत्यन्त आवश्यक छ, पहाडी र हिमाली जिल्लामा हुनुपर्ने हो तर छैन।’

डा. रायमाझीले आइसियु र सिसियुको सुविधा दिनुपरे तत्काल बिरामी रेफर गर्नुपर्ने अवस्था रहेको बताए। ‘हामीले विशेषज्ञ डाक्टरको दरबन्दी पूरा होस् भनेर विभागमा पत्राचार गरेका छौं,’ उनले भने, ‘दक्ष चिकित्सकको दरबन्दी पूरा हुँदा आइसियु र सिसियुको सुविधा दिन समस्या पर्दैन।’

१५ शड्ढयाको पाँचथर जिल्ला अस्पतालले अहिले ३५ शड्ढया चलाइरहेको छ। गर्मी महिनामा चापाचाप हुने अस्पतालमा जाडो महिनामा आएका बिरामीमध्ये पनि धेरैलाई रेफर गर्नुपरेको अस्पतालले जनाएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. बुद्धिबहादुर थापाले जटिल खालका बिरामीलाई अन्यत्र रेफर गर्नुको विकल्प नभएको बताए। ‘जिल्ला अस्पतालमा जटिलखाले बिरामको उपचार हुँदैन,’ उनले भने, ‘चिकित्सकको दरबन्दी पनि एउटा मात्रै भएकाले जनशक्तिले भ्याउँदैन।’ उनले अस्पतालमा औषधि अभाव रहेको बताए। ‘पोहोरकै औषधिले चलिरहेको छ, यो साल औषधि खरिद हुन पाएको छैन।’

पाँचथर सदरमुकाम फिदिममा ५० शड्ढयाको अस्पताल बनाउन जिल्लास्तरबाट स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरिएको छ। नौ विशेषज्ञको दरबन्दीसहित गरिएको प्रस्तावअनुसार अस्पतालले स्वीकृति पाए भौतिक पूर्वाधार समस्या नहुने उनले जनाए। ‘अस्पताललाई नयाँ भवन बन्दैछ, ५० शड्ढयाको स्वीकृत भएर दरबन्दी तथा उपकरण आए यहाँका सर्वसाधारणले घरनजिकै उपचार सुविधा पाउनेछन्,’ उनले भने। १५ शड्ढयाको ताप्लेजुङ जिल्ला अस्पताल र झापाको दमकस्थित १५ शड्ढयाकै सरकारी अस्पतालको पनि अवस्था उस्तै छ। ‘कतै चिकित्सक छन्, उपकरण र पूर्वाधार छैन, कतै पूर्वाधार छ चिकित्सक र औषधि छैन,’ मेची अस्पतालका ठाकुर भन्छन्, ‘दरबन्दी पदपूर्ति, उपकरण र भौतिक पूर्वाधार भए पूर्वका धेरै सर्वसाधारणले उपचारका लागि टाढा धाउनुपर्ने थिएन।’

प्रकाशित: ७ माघ २०७५ ०१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App