coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वित्त आयोगमा पौडेल सिफारिस

काठमाडौं– संवैधानिक परिषद्को बैठकले पाँचवटा नयाँ आयोगमा अध्यक्ष नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको परिषद्को बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी, मधेसी, थारू, मुस्लिम आयोगमा अध्यक्ष सिफारिस गरेको हो।

आयोगका लागि चाहिने सदस्य अर्को बैठकले सिफारिस गर्ने जानकारी परिषद् सदस्य एवम् उपसभामुख शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल सिफारिस भएका छन्। पूर्वसचिव पौडेलले स्थानीय पुनर्संरचना आयोग अध्यक्ष भएर काम गरिसकेका छन्।संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोग अध्यक्षमा शान्तराज सुवेदीलाई सिफारिस गरेको छ। सुवेदी पूर्वअर्थसचिव हुन्।

मधेशी आयोगको अध्यक्षमा धनुषाका विजयकुमार दत्त सिफारिस गरिएको छ। दत्त जनकहजारी विद्यापीठ जनकपुरका सहप्राध्यापक हुन्। उनी भूमिजा मानवअधिकार संघका अध्यक्ष पनि हुन्। थारू आयोगका अध्यक्षमा विष्णुप्रसाद चौधरी सिफारिस भएका छन्। बर्दियाका चौधरी नेकपाका केन्द्रीय सदस्य हुन्। मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीलाई सिफारिस गरिएको छ। दुई वर्षअघि तत्कालीन तराईमधेस लोकतान्त्रिक पार्टीका सचिव भएर काम गरेका थिए। अन्सारी नेकपाका केन्द्रीय सदस्य हुन्।

परिषद् बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित थिएनन्। उनले प्रधानमन्त्री ओलीसँग आफू नआउने जानकारी गराएको परिषद् सदस्य एवम् उपसभामुख तुम्बाहाम्फेले जानकारी दिइन्। ‘बैठकमा विपक्षी दलका नेता आउनुभएन। बाहिर काममा रहेका कारण बैठकमा नआउने जानकारी प्रधानमन्त्रीज्यूसँग समन्वय गरी जानकारी गराउनुभएको थियो’, उनले भनिन्। संवैधानिक परिषद्को सिफारिसमा आयोगहरुको अध्यक्ष र सदस्यको राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। पदाधिकारीको कार्यकाल ६ वर्षको हुने व्यवस्था छ।

उपसभामुख असन्तुष्ट
ती आयोगमा अध्यक्ष सिफारिस गर्दा महिला समावेश नगरिएको विषयमा परिषद्का सदस्य तथा उपसभामुख तुम्बाहाम्फेले असन्तुष्टि जनाएकी छन्। ‘आयोगका सबै अध्यक्षमा पुरुष मात्रै सिफारिस भएका छन्,’ उपसभामुख तुम्बाहाम्फेले भनिन्। सदस्य तुम्बाहाम्फेले प्रत्येक आयोगमा दुईजना सदस्य महिला हुनुपर्ने माग राखेकी छन्।

‘महिलालाई महिलाको आँखाले मात्रै हेर्ने होइन, नेतृत्वमा पनि अघि बढाउनुपर्छ’, उनले भनिन्। आयोगका लागि सरकारले आवेदन आह्वान गरेको थियो। निवेदन नदिए पनि विज्ञताका आधारमा अध्यक्षमा नियुक्तिका लागि बैठकले सिफारिस गरिएको सदस्य तुम्बाहाम्फेले बताइन्।

प्रकाशित: ६ माघ २०७५ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App