७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाल भारतको सम्वन्ध विचौलियामा निर्भर हुनुहुँदैन : पाण्डे

काठमाडौं- नयाँ शक्ति पार्टी, नेपालका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भारतका राजनीतिक दलका नेताहरुले नेपालसँग राजनीतिक तहमै सम्बन्ध बिस्तार गर्न चाहेको बताएका छन्।

'नाकाबन्दी लगायतका समस्याहरुमा कर्मचारीतन्त्रको भूमिका प्रमुख रहेको अनुभव अधिकांश नेताहरुले भेटघाटको क्रममा व्यक्त गर्नुभयो', प्रचार विभागको टिम सहित साताव्यापी भारत भ्रमणमा रहेका  पाण्डेले भने, 'अब राजनीतिक नेतृत्व तहमै प्रत्यक्ष भेटघाटलाई बाक्लो बनाउनुपर्छ भन्ने मनोभावना उहाँहरुको पाएँ।'

कृष्णप्रसाद भट्टराई र जवाहरलाल नेहरुको व्यक्तिगत सम्बन्धका प्रसंग कोट्याउँदै पछिल्लो समय दुई देशको सम्बन्ध केही विचौलियाहरुमा निर्भर रहनु दुःखद् रहेको अनुभव आदानप्रदान भएको उनले बताए।

नयाँ शक्तिको प्रचार विभागको टोली विभागका प्रमुख पाण्डेको नेतृत्वमा माघ १ गते भारतका विभिन्न पार्टीहरुको सञ्चार अभ्यास र सफल क्रियाकलापहरुको अध्ययन गर्न दिल्ली आइपुगेको थियो। टोलीले भारतीय जनता पार्टीका प्रचार विभाग प्रमुख अनिल बुलानी, उपप्रमुख डा. सञ्जय मयुख, प्रवक्ता सञ्जय पात्रसँग भाजपाको केन्द्रीय कार्यालयमा प्रचार अभ्यासबारे अनुभव आदानप्रदान गरेको थियो।

त्यसैगरी भारतीय राष्ट्रिय कांग्रेस पार्टीका राष्ट्रिय प्रवक्ता राजिव त्यागी, सञ्चार संयोजक तथा प्रवक्ता प्रियंका चतुर्वेदी, सञ्चार विभागका सचिव प्रणव झा, भारतीय युवा कांग्रेसका राष्ट्रिय प्रवक्ता तथा मिडिया इञ्चार्ज अमरिश रञ्जन पाण्डेसँग भारतीय युवा कांग्रेसको कार्यालयमा प्रचार अनुभव आदानप्रदान गरिएको थियो।

त्यसैगरी आम आदमी पार्टीको सूचना प्रविधि तथा सामाजिक सञ्जाल प्रमुख अंकित लालसँग पनि भ्रमण टोलीले अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरेको छ। 

टोलीले भाजपाका राष्ट्रिय उपाध्यक्ष श्याम जाजु, भगतसिंह कोसियारी, अजितकुमार, वामपन्थी पत्रकार तथा बुद्धिजिवी आनन्दस्वरुप बर्मा, चुनावी अभियान रणनीतिकार प्रशान्त किशोरलगायतसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ। त्यस्तै भाकपा (मार्क्सवादी)का महासचिव सिताराम यचुरीसँग पनि टोलीले भेटेको थियो।

 

प्रकाशित: ६ माघ २०७५ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App