७ वैशाख २०८१ शुक्रबार
अन्य

कृष्टि केसीको फ्यान म

नेपाली चलचित्रकी लोकप्रिय नायिका नीता ढुङ्गानाले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई यसरी बताएकी छन्ः

झोला
मलाई ठूलो खाल्को झोला मन पर्छ किनभने हामी छोरी मान्छेको सामान धेरै हुनाले ठूलो झोलामा धेरै सामान अटाउने गर्छ। त्यसैले प्रायः म बाहिरतिर कतै जानु पर्यो भने ठूलो झोला नै बोक्छु। मोबाइल र पर्स बोक्न सजिलोका लागि ठूलो झोला बोक्ने गरेकी हुँ।

साहित्यकार
मलाई लक्ष्मीप्रसाद देवकोटा मन पर्ने साहित्यकार हुन्। उनले लेखेका हरेक लेख मिठासपूर्ण हुन्छ। अर्को कुरा, स्कुलदेखि नै उहाँको कविता पढियो, उपन्यास पढियो। अझ भनौँ, मुना मदनको जुन लय र कथा छ, त्यो स्कुलमा वाचन गर्दा खुब आनन्द लाथ्यो। त्यसैले पनि मलाई मन पर्ने साहित्यकारमा उनैको नाम लिन्छु। पछिल्लो समयमा चर्चामा आएका सविन भट्टराई पनि मलाई मन पर्छन्।

पुस्तक
म धेरैजसो धार्मिक पुस्तक पढ्न रुचाउँछु, पढिरहेकी हुन्छु। वेदका कथा, रामायण, बाइबल, कुरानजस्ता धार्मिक पुस्तकमा चाख लाग्छ मलाई। खाली समयमा म पढिरहेकै हुन्छु। विशेष प्राथमिकतामा धार्मिक किताब नै पर्छन्।

भेट्न मन लागेको व्यक्ति
हाम्रो एउटा ग्रुप छ। त्यो ग्रुपमा छुल्ठिम गुरुङ, भावना गुरुङ, उत्तम श्रेष्ठ, प्रमोद भारद्वाज लगायत छौँ। यो ग्रुपका साथीहरुसँग भेट भएन भने, बोलेन भने के के भयो होला भन्ने खुल्दुली चलिरहन्छ। त्यसैले उहाँहरुलाई भेटिरहन मन लाग्छ।

भेट्न मन लागेको तर नभेटेको व्यक्ति
मलाई पुरानी नायिका कृष्टि केसी (मैनाली)लाई भेट्न मन लागेको छ। उहाँ नेपालमा हुनुहुन्न। भएको भए सायद भेटिसक्थेँ होला। टाढा भएकोले पनि भेट्न मन लागेको हुनसक्छ। म उहाँको अभिनयको सानैदेखि फ्यान थिएँ। आकर्षक अभिनय गर्नु हुन्थ्यो उहाँ। उहाँकै फिल्म हेरेर हामी ठूला भयौँ। त्यसैले मलाई मन पर्ने नायिका भएकाले भेट्न मन लागेको छ।

नेता
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली मन पर्ने नेता हुनुहुन्छ। उहाँले देशका लागि केही गर्नुपर्छ भन्ने भिजन लिएर आउनु भएको छ। कतिपय सक्सेस पनि भएका छन्। कतिपय बिस्तारै होेलान्। उहाँको जुन भिजन छ, नेपालका लागि राम्रो होला भन्ने लागेको छ।

ठाउँ
मलाई विशेष त पोखरा नै मन पर्छ। पोखरामा मान्छे गयो भने बोर नै लाग्दैन। बोर लाग्ने ठाउँ नै छैन। जति लेकतिर गयो, उति रमाइलो। वातावरण हराभरा छ। अर्को कुरा, पोखराको रोडमै बस्यो भने पनि मजा लाग्छ। भविष्यमा घर किनेँ भने या बनाएँ भने पोखरामा नै बनाउने सोचमा छु।

देश
मलाई आफ्नो जन्मभूमि नेपाल नै मन पर्छ। विदेश त केवल हिँडडुलका लागि मात्र हो। आफ्नो देश आफ्नै हुन्छ। सुन्दरताको खानी भएको देशमा जन्मिएकी छु। यसैमा गर्व छ।

राजा
स्वर्गीय राजा वीरेन्द्र नै मन पर्छ। हामीले उहाँको बारेमा जति पढ्यौँ, बुझ्यौँ, त्यसबाट उहाँ जनताप्रेमी हुनुहुन्थ्यो भन्ने बुझेँ। एक दिन वसन्तपुरमा जात्रा भइरहको थियो। त्यहाँ म पनि थिएँ। कसोकसो राजाको छेउमा पुगेँ। अनि राजाले मेरो टाउकोमा हात राखेर पैैसा दिनुभएको थियो। त्यसअघि मैले राजालाई यति नजिकबाट देखेकी थिइनँ। हामी राजालाई भगवान् भन्छौँ, मान्छौँ। त्यसैले मलाई राजा भनेको भगवान्जस्तै लाग्छ।

ब्याग
मलाई लेदरको ब्याग मन पर्छ। अझ त्यो ब्याग लेदरको हुनुपर्छ।

फूल
जो कसैलाई पनि मन पर्ने फूल गुलाब नै हो। मलाई रोज नै मन पर्छ। हेर्दा पनि छोउँछोउँ लाग्ने।

घडी
केटाहरुले लगाउने ठूलो घडी हातमा लगाउन मन लाग्छ। मैले प्रायः यस्तै घडी लगाउने गरेकी छु। हातमा लगाउँदा पनि हेब्भी खालको होस्। 

चस्मा
मलाई रेवनको चस्मा मन पर्छ। अहिले चलेको पनि यसैको छ। विशेष गरी आँखाको सुरक्षाका लागि लगाउने गर्छु।

सपिङ स्टोर
मलाई सपिङ गर्नको लागि यहीँ जाउँ भन्ने लाग्दैन। क्याजुअल ड्रेसका लागि जुनसुकै ठाउँमा किन्छु तर आफूलाई सुटिङका लागि चाहिने सामग्री भने उत्तम क्रिएसनमा किन्ने गरेकी छु।

हेर्न मन लागिरहने फिल्म
हिन्दी फिल्म थ्री इडिएट। यो फिल्मले मान्छेले जे इच्छा गर्छ, जेमा रुचि राख्छ, त्यही गर्न दिनु भन्ने शिक्षा दिएको छ। त्यसैले यो फिल्म जतिचोटी टिभीमा आउँछ, नछुटाइ हेर्छु।

चरित्र अभिनेता
नेपाली चलचित्रका नायक सरोज खनाल, विशाल लगायतको चरित्र भूमिका मन पर्छ। उहाँहरुको अभिनय दमदार लाग्छ। 

चरित्र अभिनेत्री
मिथिला शर्मा, वसुन्धरा भुषाल, रुपा राना लगायत मन पर्नु हुन्छ। उहाँहरुले आफ्नो भूमिका सही तरिकाले निभाउनु भएको हुन्छ।

अभिनेता
नेपाली चलचित्रका नायक राजेश हमाल, भुवन केसी नै हो। उहाँहरु सदाबहार नायकमा पर्नुहुन्छ। जुनसुकै रोलमा पनि फिट भएको लाग्छ।

अभिनेत्री
पहिलाकी व्यस्त नायिका जल शाह, गौरी मल्ल, निरुता सिंह नै हो। उहाँहरु अहिले अभिनय क्षेत्रमा नभए पनि उहाँहरुको फिल्म एकदमै मन पर्छ। अभिनय पनि उत्तिकै राम्रो  लाग्छ।

गायक
सुगम पोखरेल, प्रमोद खरेल नै हो। पछिल्लो समयमा निकै दर्शक स्रोताहरुले पनि मन पराइदिनुभएको छ। उहाँहरुको गायिकी मलाई मन पर्छ।

गायिका
पछिल्लो समयकी चर्चित गायिका मेलिना राई, अञ्जु पन्त त मन पर्ने भइहाल्यो। त्यसपछि रजिना रिमाल पनि मलाई मन पर्ने गायिका हुन्।

गुनगुनाइरहने गीत
अहिले निकै चर्चामा रहेको सालको पात टपरी हुने नहुने सल्लैको। जतिखेर पनि गाइरहेकी हुन्छु। मलाई एकदमै मन पर्छ। अर्को गीत तिमी रोएको पल तिमीलाई हँसाउन नसकुँला। यी गीत प्रायः म गुन्गुनाइरहेकी हुन्छु।

कलर
मलाई ब्ल्याक, ब्लु र ह्वाइट मन पर्छ। मेरो रोजाइका कलर हुन् यी। यो कलरका कपडा लाउँदा मलाइ म्याच गर्छ।

सवारी साधन
काठमाडौँमा धुलो धुँवाबाट जोगिन, गाडी नै ठीक लाग्छ तर खुला र रमाइलो छ भने साइकल नै हो। जस्तो पोखरामा मलाई साइक्लिङ गर्न मन लाग्छ।

घर
काठको घर मन पर्छ। गर्मीमा शितल हुने, जाडोको बेला न्यानो हुने। मलाई काठमाडौँ बाहिर हुने काठ घर मन पर्छ।

पर्व
मलाई सबै चाडपर्वहरु मन पर्छन्। हरेक चाडपर्वमा रमाइरहेकी हुन्छु तर विशेष रुपमा तिहार नै मन पर्छ। झलमल बत्ती, जताजतै रंगीचंगी, देउसी भैलो हुनाले यो मलाई रमाइलो लागेको हो।

                                                                            प्रस्तुति : भोला अधिकारी

प्रकाशित: ६ माघ २०७५ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App