coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘भुतसँग गफ गर्छु...’

फाइल फाेटाे

मिस नेपाल २०११ कि विजेता मलिना जोशी एक कुशल अभिनेत्रीका रुपमा पनि परिचित छिन्। उनले आफूलाई प्रिय लाग्ने कुरा ‘नागरिक परिवार’लाई यसरी बताएकी छन्ः

अभिनेत्री नभएको भए ?
मलाई बिजनेस गर्न मन लाग्छ। सायद म यतिखेर बिजनेस गरिहेकी हुन्थेँ होला। मिस नेपाल २०११ बनेपछि नेपाली फिल्ममा अफर आयो। जस कारण मैले केही फिल्महरु गरेँ। फिल्ममा नआएकी भए तपाईंहरुले मलाई बिजनेश गरिरहेको पाउनुहुन्थ्यो।

हिरोइन भइसकेपछि के कुरा मिस गरेजस्तो लाग्छ ?
मलाई त्यस्तो केही मिस गरेको जस्तो लागेको छैन। जे गरेकी छु, ठीक छ।

तपाईं फेरि जिउन चाहनुहुने कुनै दिन ?
जब म मिस नेपाल २०११ भएँ, त्यतिबेला जस्तो खुसी पाएको छैन। फेरि त्यस्तै माया पाउन पाए हुन्थ्यो जस्तो लाग्छ। फेरि त्यही अवस्थामा फर्कन मन लाग्छ । अरु त नर्मल नै हो। त्यो चाहिँ स्मरणीय लाग्छ।

मनोरञ्जन क्षेत्रको के कुरा तपाईंलाई बढी मन पर्छ ?
म जुन क्षेत्रमा छु, यसमा पोजेटिभ प्रतिक्रियाहरु पाएकी छु। धेरैले माया गरिदिनुभएको छ। त्यसकारण यसैमा मलाई खुसी लागेको छ। धेरै कुराको अपेक्षा पनि छैन।

तपाईंलाई के कुरामा दुःख लाग्छ ?
काठमाडौँमा यतिबेला जताततै खाल्टै खाल्टो छ। धुलो धुँवा उस्तै छ। यस्तो कुरा देखेर सारै दुःख लाग्छ। कतै जानु पर्यो भने जाममा घण्टौँ समय बिताउनु पर्छ। यसरी समयमा ठाउँमा नपुग्दा र काम नहुँदा सारै दुःख लाग्छ।

तपाईंलाई के कुराले बढी चित्त दुख्छ ?
आफूले विश्वास गरेको मान्छेले अलिक फरक व्यवहार देखाउनुहुन्छ। कहिलेकाहीँ अपेक्षाविपरीत काम गर्नुभयो भने मलाई चित्त दुख्ने हो अनि कतिपय साथीभाइको खुट्टा तान्ने बानीले पनि मलाई चित्त दुखाउँछ।

एक्लै कोठामा सुतेको बेला अचानक भुत प्रकट भयो भने के गर्नुहुन्छ ?
म केही गर्दिनँ होला। सबै काम भुतले नै गर्छ होला। मलाई भुत भने पछि डर लाग्छ। भुतसँग गफ गरिरहकेको हुन्छु कि ! हाहाहाहा।

नेपालको प्रधानमन्त्री बन्नु भएपछि पहिला के गर्नुहुन्छ ?
म प्रधानमन्त्री भएँ भने पहिलो पटक भ्रष्टाचार रोक्ने प्रयास गर्छु। देश भ्रष्टाचारले चुर्लुम्म डुबिसकेको छ। यसले गर्दा म पहिलो पटक नै भ्रष्टाचारीमाथि एक्सन लिन्थेँ। भ्रष्टाचार निर्मूल भयो भने अनि अरु काम गर्थें। बाटोघाटो तपाईंले देख्नुभएकै होला। आज पिच गर्यो, तीन–चार दिनमा भत्किरहेको हुन्छ। हरेक मानिसले सास्ती भोगेका छन्। यसकारण म प्रधानमन्त्री भएको दिन नै भ्रष्टहरुको खोजी गर्थें र कार्बाही गर्थें होला।

कस्तो कुराले तपाईंलाई खुसी बनाउँछ ?
म ससाना कुराले खुशी हुन्छु। हिमाल देख्दा, खोलानाला बगेको ठाउँमा जाँदा बडो आनन्द लाग्छ। मन पर्ने खानेकुराले खुसी बनाउँछ। परिवारसँग बस्दा खुसी हुन्छु। म हरेक कुरामा खुसी भइरहकी हुन्छु। यो त्यो भन्ने नै छैन। खुसी आफैँले बनाउने हो।

केटाहरुले प्रेम प्रस्ताव गर्दा कस्तो लाग्छ ?
अभिअस्ली केटाहरुको प्रेम प्रस्ताव आउँदा खुसी लागिहाल्छ नि ! रमाइलो लाग्छ। ओहो मलाई पनि प्रेम प्रस्ताव आए भन्ने हुन्छ। फेरि केटीहरुलाई प्रेम प्रस्ताव आउँनु कुनै नौलो कुरा भएन नि ! हैन ?

प्रेम प्रस्ताव कतिका आए त ?
मलाई मिस नेपाल हुनुभन्दा अगाडि त धेरै आएका थिए। यति नै भन्ने त छैन। व्यापक रुपमा नै मलाई प्रेम प्रस्ताव आएका थिए तर म मिस नेपाल भएपछि मलाई प्रेम प्रस्ताव नै आएका छैनन्। खै, किन हो ? सायद ठूली भई भन्ने सोचे कि ?

दर्शकले थाहा नपाएका तपाईंका गोप्य कुरा ?
मैले सबै कुरा मिडिया भनिसकेकी छु। मैले के कुरा भन्न बाँकी राखेको छु  होला र ? सबै कुरा मिडियामा भनेको नै छु जस्तो लाग्छ।

तपाईंले चाहेर पनि गर्न नसकेको काम ?
मलाई काठमाडौँको बाटोमा स्कुटर कुदाउन ठूलो रहर छ तर मलाई स्कुटर कुदाउन डर लाग्छ। अहिलेसम्म मैले स्कुटर चलाएकी छैन। सायद मैले चाहेर पनि गर्न नसकेको काम यही होला। 

तपाईंको कमजोरी के हो जस्तो लाग्छ ?
मलाई मेरो कमजोरी थाहा छैन। सायद सबैसँग घुममिल हुन नसकेको हो कि !

केलाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
जुनसुकै काम गर्नका लागि हिम्मत छ। सायद यही नै होला मेरो शक्ति।

आफ्नो मन पर्ने बानी ?
मलाई मेरा सबै बानी मन पर्छन्।

मन नपर्ने बानी ?
म अलिक छुच्ची छु भन्छन्। अलिक छिटो रिसाउँछु भन्छन्। यही कुरा सुधार्नु पर्ने जस्तो लाग्छ। म सुधार्ने प्रयास गरिरहेकी छु। म आफूलाई त्यस्तो छुच्ची छु जस्तो लाग्दैन।
                                          प्रस्तुति : भोला अधिकारी

प्रकाशित: ६ माघ २०७५ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App