coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नुवाकोट बन्दको प्रभाव सडकदेखि विद्यालयसम्म

बन्दकर्ताहरू विदुरको सचेतन चोकमा बसेर सडक बन्द गराउँदै । तस्बिर : नागरिक

नुवाकोट – राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक अन्तर्गत पर्ने पिपलटार–ढुङ्गे सडक खण्डका प्रभावितहरूले आइतबार नुवाकोट बन्द गराएका छन्। बन्दको  प्रभाव यातायातदेखि विद्यालयसम्म परेको छ। 

बन्दका कारण छोटो तथा लामा यातायातका साधनहरू चल्न सकेको छैनन्। बन्द कर्ताहरूले खुलेका पसलका सञ्चालकलाई बन्द गर्न आग्रह गर्दै हिँडिरहेका छन्। बट्टार, विदुर र ढुङ्गेका  मुख्यमुख्य चोकमा बन्द कर्ताहरू बसेर साना सवारी साधानमा आवातजावत गरिरहेकालाई रोकेर फर्काइरहेका छन्।

मोटरसाइकल तथा स्कुटीमा सवार अध्यापन गराउने शिक्षक शिक्षिकालाई समेत विद्यालय जानबाट रोकेर घर फर्काएका थिए। आयोजनाले सडक निर्माण तथा स्तरउन्नति गर्ने क्रममा प्रभावितको जग्गा सडकमा पर्ने भएपनि आयोजना पक्षले मुआब्जा दिन कुनै प्रक्रिया अघि नबढाएको भन्दै सरोकार समितिले आयोजनालाई दवाव दिन नुवाकोट बन्द गरेको समितिका संयोजक गीता अमात्यले बताइन्।

“आयोजनासँग  संवाद, शान्तिपूर्ण  सडकमा र्याली निकालेर दवावसँगै चक्काजाम गर्दा समेत हाम्रो माग पूरा हुन सकेको छैन। त्यसैले आज हामीले जिल्ला बन्द गर्न बाध्य भयौँ,” अमात्यले भनिन्, “साना तथा ठूला सवारीसाधनलाई चल्न दिएका छैनौँ। एम्बुलेन्सलाई मात्र हामी चल्न दिएका छौँ।” बिहान ६ बजेदेखि सुरु भएको बन्द अपरान्ह ४ बजेसम्म जारी रहने अमात्यले बताइन्।

पासाङ ल्हामु राजमार्ग सञ्चान गर्ने क्रममा विस. २०३४ साल तिर नै यस क्षेत्रका नागरिकको सडक वरिपरीको जग्गा राजपत्रमा उल्लेख गरिएकोले मुआब्जा दिन मिल्ने नमिल्ने एकिन भएको छैन्। सरोकार समितिले मुआब्जाको माग गर्दै आएको लामो समय भइसक्दा पनि मागले पूर्ण रुप लिन सकेको छैन। छिट्टै नै आयोजनाले प्रभावितको लागि निर्णय दिन नसक्ने नगर तथा बजारवासी आन्दोलनमा उत्रन बाध्य भएको सरोकार समितिले बताएको छ।

जिल्ला बन्दको समयमा अप्रिय घटना नघटुन् भनेर प्रहरीहरूले सतर्कता अपनाएर सुरक्षा दिइरहेको प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए।

प्रकाशित: ६ माघ २०७५ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App