१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खोपकेको रिपोर्टमा चौधरी र महतोको आपत्ति

काठमाडौं – खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आइसिआइजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा नाम जोडिएपछि मुलुकका दुईजना प्रतिष्ठित व्यवसायीले आपत्ति जनाएका छन्।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र अरुणकुमार चौधरीले विज्ञप्ति प्रकाशित गरेर आफूहरुले सञ्चालन गरेका कुनै पनि परियोजनामा विदेशी लगानी नल्याएको प्रस्ट पारेका छन्। उद्योगपति चौधरीले ब्रिटिस भर्जिन आइल्यान्डमा आफ्नो नाममा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएकोमा त्यस्तो नभएको दाबी गरेका छन्। ‘म र मेरो परिवारको सो कम्पनीमा कुनै पनि आबद्धता र सरोकार नभएको जानकारी गराउँदछु। जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दा समेत प्रस्ट हुन्छ,’ चौधरीले विज्ञप्तिमा भनेका छन्, ‘सो कम्पनीको सेयरहोल्डर भनी छोराहरुको नाम जोडिएको छ त्यो कम्पनी स्थापना हुँदा उनीहरुको उमेर १० र ५ वर्ष मात्र थियो।’

जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्। - अरुण चौधरी

केटाकेटी सानो हुँदा बेलायतका साथीहरुले छोराहरुलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भन्दा पनि नखोलेको उनले जनाएका छन्। ‘ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने सो बेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले हाम्रो नाम दुरुपयोग गरेको भए, त्यो छानबिनको विषय बन्न सक्ला,’ चौधरीको विज्ञप्तिमा भनिएको छ। त्यसैगरी, ट्याक्स हेवनमा दर्ता रहेका भनिएका दुई विदेशी कम्पनीमा आफूहरुको साझेदारी नरहेको चौधरीले बताएका छन्। ‘मेरो कुनै पनि स्विस बैंकमा खाता छैन, कुनै पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैन र सिजी होल्डिङ्स समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन,’ विज्ञप्तिमा भनिएको।

अहिलेसम्म आफ्नो नेतृत्वमा सञ्चालित कुनै पनि कम्पनीको नाममा वैदेशिक लगानी (एफडिआई) नआएको चौधरीले जनाएका छन। ‘मेरो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीमा म र मेरो श्रीमती बाहेक अरु कसैको लगानी छैन। मेरा कुनै पनि कम्पनीमा एफडिआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस्,’ चौधरीको चुनौती छ। विदेशमा लगानी सम्बन्धी ऐनको व्यवस्थालाई आफू र परिवारका सदस्यले पूर्ण रुपमा पालना गर्दै आएको र आगामी दिनमा पनि अक्षरशः पालना गर्ने चौधरीको प्रतिबद्धता छ।

गैरआवासीय नेपाल संघका पूर्वअध्यक्ष महतोले पनि ती समाचारहरुमा गैरकानुनी काम गरेको ढंगले आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्। यसबाट सर्वसाधारणमा उत्पन्न हुन सक्ने नकारात्मक प्रतिक्रिया र भ्रम चिर्न विज्ञप्ति जारी गरेको महतोको भनाइ छ। विज्ञप्तिमा महतोले आफू चार दशकदेखि अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बस्दै आएको र सोही क्रममा विदेशमा छरिएर रहेका नेपालीलाई संगठित गर्दै मातृभूमिसँग जोड्ने र यसको समृद्धिमा क्षमता अनुरुपको योगदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले सञ्चालित गैरआवासीय नेपाली अभियानको नेतृत्व गरेको बताएका छन्।

मैले आजसम्म विदेशबाट जति लगानी ल्याए पनि नेपालबाट न विदेशमा लगानी गर्न, न त रेमिट्यान्सको रुपमा जम्मा गर्न एक डलर पनि लगेको छैन। - उपेन्द्र महतो

आफू विदेशमा पनि व्यापार–व्यवसायमै संलग्न रहेको, नेपालबाहेक विभिन्न देशमा आफ्ना व्यावसायिक प्रतिष्ठान र तदनुरुपका लगानी रहेको तथा नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको उनले प्रस्ट पारेका छन्। अझै पनि मातृभूमिमा लगानी ल्याउने दृढ संकल्प र समर्पणका साथ काम गरिरहेको भन्दै उनले नेपालमा कुनै पनि परियोजनामा विदेशीको नाताले लगानी नगरेको प्रस्ट पारेका छन्। ‘मैले आजसम्म विदेशबाट जति लगानी ल्याए पनि नेपालबाट चाहिँ (न विदेशमा लगानी गर्नको लागि, न त रेमिट्यान्सको रुपमा) जम्मा गर्न, लागि एक डलर पनि लिएर गएको छैन,’ महतोले विज्ञप्तिमा भनेका छन्।

उनले समाचारमा परिवारका सदस्य (भाइ विरेन्द्रप्रसाद महतो र बहिनी जुलीकुमारी महतो) को नाम अनावश्यक रुपमा जोडिदिँदा दुःख लागेको बताएका छन्। ‘विगत धेरै वर्षदेखि मैले अन्य विदेशी लगानीकर्ता साथीलाई समेत आमन्त्रित गरेर मुलुकका विभिन्न स्थानमा आफ्नो व्यवसायलाई विस्तार गरिरहेको व्यहोरा अवगत गराउन चाहन्छु,’ महतोले विज्ञप्तिमा भनेका छन्। खोज पत्रकारिता केन्द्रको रिपोर्टमा आपत्ति जनाउँदै यसअघि आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले पत्रकार सम्मेलन नै गरेर आफ्नो कुरा राखेका थिए।

प्रकाशित: ६ माघ २०७५ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App