४ वैशाख २०८१ मंगलबार
अर्थ

कागजमा ‘सम्पन्न’ पुलको छानबिन गर्दैै अख्तियार

पुल बन्ने स्थानकाे निरीक्षण गरेर मुचुल्का उठाउँदै अख्तियारको टोली। तस्बिर/नागरिक

रौतहट - गरुडा नगरपालिकाकोले गत वर्ष कामै नभई तीनवटा पुलको रकम निकासा गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। गत वर्ष संघीय सरकारले उक्त नगरपालिकाको वडा नम्बर १ र ६ मा तीनवटा पुल बनाउन ९० लाख रुपैयाँ बजेट पठाएको थियो। नगरपालिकाका मेयर इन्दुप्रसाद यादवको निर्देशनमा पुलको कामै नभई रकम निकासा भएको तथ्य उपमेयर रंगिलादेवी जयसवालले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी थिइन्।

नगरपालिकाले उपभोक्ता समिति बनाएर पुल नै नबनाई रकम निकासा गरेको समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोली अनुसन्धान सुरु गर्न गरुडा पुगेको हो।अख्तियारको प्राविधिक टोलीले पुल बन्नुपर्ने ठाउँ अवलोकन गरी नगरपालिकाको कागजात नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

उक्त नगरपालिकाको वडा नम्बर १, जयनगर टोल, वडा नम्बर ६ लमहा नहरमा अमरपट्टी जाने बाटो र पोठीयाहीस्थित वडा कार्यालयपछाडि पुल बनाउन संघीय सरकारबाट गत असार २७ गते ९० लाख रुपैयाँ गरुडा नगरपालिकामा आएको थियो। नगरपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखले आफ्नै नातागोताका मान्छेको उपभोक्ता समिति बनाएर असार २९ गते रकम निकासा गरी अनियमितता गरेको उपमेयर जयसवाल पत्रकार सम्मेलनमार्फत खुलासा गरेकी थिइन्।

उपमेयरले कागजमा तीनवटा पुल बनेको उल्लेख गरेर ९० लाख निकासा गरेको, अनधिकृत रुपमा भारतीय सवारी साधनको नाममा रकम हिनामिना गरी मेयर यादवले आफ्नो नातागोताका मान्छेलाई कर्मचारी भर्ना गरी आर्थिक हिनामिना गरेको दाबी गरेपछि अख्तियारका टोलीले पुल सहित विभिन्न योजनाको कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। पुल निर्माण भएको भनिएको तीनै स्थानमा अख्तियारको प्राविधिक टोलीले अवलोकन गरी स्थानीयको प्रतिक्रिया लिएको छ। ती ठाउँमा पुल निर्माण सम्बन्धमा कुनै प्रगति नदेखिएपछि स्थानीयको रोहबरमा मुचुल्का खडा गरेर कागजात लगेको नगरपालिका स्रोतले जनाएको छ। टोलीलाई स्थानीयले गत असारमा बनेको  उपभोक्ता समिति समेत अपारदर्शी रहेको प्रतिक्रिया दिए।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आफू आउनुअघि नै उक्त काम भएको भन्दै उपभोक्ता समितिलाई दिएको निकासा रकम असुलउपर गर्नुपर्ने अथवा पुरानै उपभोक्ता समितिलाई डिजाइन इस्टिमेट उपलब्ध गराएर पुल निर्माण कार्य सुरु गराउनुपर्ने बताए। कार्यालयको लापरबाहीले गर्दा उपभोक्ता समितिले पुल निर्माण गर्न नसकेको र पहिल्यै रकम निकासा दिएर ठूलो त्रुटि भएको अधिकृत पन्थीले बताए। पुल डिजाइनको लागि लोकल रोड ब्रिज सपोर्ट युनिट बर्दिबासबाट प्राविधिक ल्याएर यथाशीघ्र पुल निर्माण गराउने जानकारी दिँदै पन्थीले तीनवटा उपभोक्ता समितिमध्ये दुइटाको खाता मा ३०–३० लाख यथावतै रहेको तथा अर्को उपभोक्ता समितिको खाताबाट रकम झिकिसकेको जानकारी दिए। ती सबै खाता रोक्का गर्न बैंकलाई नगरपालिकाले आग्रह गरिसकेको पनि उनले बताए।

प्रकाशित: ६ माघ २०७५ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App