coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भासिएका भागको अझै भएन मर्मत

नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा भासिएको भाग। भासिएको स्थानमा एकतर्फी मात्र यातायात सञ्चालन हुन्छ। तस्बिर : सविता/नागरिक

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको यात्रा सहज भएको छ। चालीस मिनेटदेखि एक घन्टासम्ममा सजिलै पार गर्न सकिन्छ। तर सत्रकिलो र छब्बीसकिलोनजिक भालुढुंगामा भासिएको सडक मर्मत हुन नसक्दा अलि असहज भइरहेको छ। त्यहाँ एकतर्फी मात्र यातायात सञ्चालन हुने गरेको छ।

एसियन हाइवे ए एच–४२ अन्तर्गतको नारायणगढ–मुग्लिन सडकखण्ड(३३ किलोमिटर)लाई हालै एसियाली मापदण्डअनुसार विस्तार गरी दुई लेनको बनाइएको हो। तीन खण्डमा विभाजन गरी तीन निर्माण कम्पनीले उक्त सडक विस्तार एवं स्तरोन्नति गरेका थिए। तर निर्माण पूरा नहुँदै सडकका तीनवटै खण्डमा त्रिशूली नदीतर्फको भाग भासिएका हुन्। जसमध्ये जुगेडीनजिक भतेरीमा सडक किनारमा बनाइएका पर्खाल सरेका कारण भासिएको भाग सम्बन्धित निर्माण कम्पनीले मर्मत गरिरहेको छ। मर्मत सकिनै लागेको छ। तर सत्रकिलो र छब्बीसकिलोनजिक भालुढुंगामा भासिएको सडक भने अझै मर्मत सुरु हुन सकेको छैन।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार सडक विस्तारका क्रममा भएको कमजोरीका कारण भतेरीमा भासिएको सडक सम्बन्धित निर्माण कम्पनीले बनाउनुपर्ने प्रावधानअनुसार मर्मत भइरहेको हो। तर भालुढुंगामा सुरुमा सडक निर्माणकै क्रममा बनाइएको साविक एङ्कर वाल नै भासिएकाले यसको मर्मत सडक विभागले नै गर्नुपर्ने उनले बताए।

भासिएका दुई ठाउँ र पहिरोको जोखिम देखिएका सात स्थानमा रोकथामका उपाय समयमै काम सुरु गर्न सकिएन भने अघिल्लो वर्षामा जस्तै यात्रुले दुःख पाउनेछन्। तर यसका लागि सडक विभागबाट अहिलेसम्म कुनै निर्देशन नआएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।

इन्जिनियर खनालका अनुसार डिजाइन तयार गर्ने, टेन्डर आह्वान गर्ने सबै काम विभागबाटै हुन्छ। विभागबाट निर्देशन आएपछि मात्र आयोजनाले काम सुरु गर्ने उनले बताए। ‘भासिएको ठाउँमा मर्मत सुरु हुन सकेको छैन,’ उनले भने, ‘सडक विभागबाट डिटेल डिजाइन पनि आएको छैन, केही गर्न पाएकै छैन।’ भासिएको स्थानको अध्ययन दसैंअगाडि नै सकिएको थियो। तर त्यसपछि थप जानकारी आयोजनालाई नआएको उनले बताए।

सत्रकिलोमा गएको असार तेस्रो सातादेखि नै सडक चिरा पर्न थालेको थियो। अहिले सडकको बीच भागबाटै साढे दुई मिटरजति दबिएको छ। भदौदेखि भासिन थालेको भालुढुंगामा करिब आधा मिटर सडक दबेको छ। सत्रकिलोमा ६० मिटर र भालुढुंगामा १२० मिटर लम्बाइमा सडक भासिएको इन्जिनियर खनालले जानकारी दिए। दुवै ठाउँमा उही किसिमले सडक भासिएको उनले बताए। रक एङकरिङ गरेर बनाएको ठाउँमा एङ्कर फेल भएर भएर सडक भासिने समस्या आएको उनले बताए।

उनका अनुसार भासिएको भाग मर्मतका लागि क्षति मूल्यांकन, निर्माण सामग्री खरिदलगायतका प्रक्रिया पूरा गर्न समय लाग्छ। खरिद प्रक्रिया नै सुरु गर्न ढिलाइ हुँदा समयमै मर्मत सक्न चुनौती थपिएको इन्जिनियर खनालले बताए।

भासिएका भाग मर्मतसँगै पहिरोको जोखिम रहेका स्थानमा रोकथामका लागि काम गर्नुपर्नेछ। उक्त सडकखण्डअन्तर्गत गाईघाट, भालुढुंगा र जलवीरेदेखि कालीखोलासम्म चार स्थानमा रक नेटिङ, रक बोल्टिङ गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए। गत आर्थिक वर्ष पहिरो रोकथामका लागि ११ ठाउँमा रक नेटिङ (फलामे रड राखेर स–साना ढुंगा तथा गेग्रनलाई छोप्ने) गरिएको थियो। अरू धेरै स्थानमा बायो–इन्जिनियरिङ प्रक्रियामार्फत पहिरो रोकथामका उपाय अवलम्बन गरिएको थियो। भासिएको ठाउँमा वर्षा सकिएलगत्तै अध्ययन गरेर काम सुरु गर्ने भनिए पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन। गत आर्थिक वर्षमा पनि वैशाखमा काम सुरु गरेर हतारमा सकिएको थियो। यसपटक काम सुरु गर्न ढिलो भइसकेको इन्जिनियर खनालले बताए।

‘भासिएका दुई ठाउँ र पहिरोको जोखिम देखिएका सात नयाँ स्थानमा रोकथामका लागि एउटै डिजाइनअन्तर्गत काम सुरु गर्ने हो,’ उनले भने, ‘अहिले समयमै काम सुरु गर्न सकिएन भने, यसअघिको वर्षामा जस्तै यात्रुले दुःख पाउँछन्।’ आयोजनाले विभागमा ताकेता गरिरहेको भए पनि अहिलेसम्म सडक मर्मत सुरु गर्नका लागि कुनै निर्देशन नआउको उनको भनाइ छ।

प्रकाशित: ६ माघ २०७५ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App