७ वैशाख २०८१ शुक्रबार
समाज

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ‘लोकवार्ता’

सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमै पहिलो पटक लोकवार्ता विषयको अध्यनपन सुरु गरेको छ। मानवीकी तथा समाजशास्त्र संकायले स्नाकोत्तर तहमा लोकवार्ता विषयको अध्यापन सुरु गरेको हो।

‘नेपाली सभ्यता, संस्कृति, कला, साहित्य, लेखन कला, जडिवुटी, तन्त्रमन्त्र, पर्यटन, पुरातात्कि लगायतका विषयहरु यसमा समेटिएको छ’ डीन खोपीराम लम्सालले भने, ‘नेपालको परम्परागत संस्कृति र संस्कारको संरक्षण गदै पुस्तान्तरण गर्ने उद्देश्यले नयाँ कार्यक्रमको सुरुवात गरेका हौं।’ विश्वविद्यालयले लोकवार्ता अध्ययनका लागि भर्ना खुल्ला गरेको छ। फागुनबाट पढाई सुरु गरिने डीन लम्सालले जानकारी दिए।

विश्वविद्यालयले पहिलो र दोस्रो सेमेष्टरको पाठ्यक्रम पनि तयार गरेको छ। ‘पाठ्यक्रममा नेपाली समाजको भाषा, भेषभूषा, कला, संस्कृति, रहनसहन, साहित्यजस्ता कुराहरु समेटिएका छन्’ शनिबार पत्रकारहरुसँग कुरा गर्दै डीन लम्सालले भने, ‘विषय रोचक भएकाले सबैको आकर्षणको केन्द्र बन्नेमा हामी विश्वस्त छौं।’

विश्वविद्यालयले परम्परागत संस्कृति, भाषा, धर्मलगायतका नेपाली जनजीवीकासँग सम्वन्धीत बस्तुहरु संलग्न गरेर संग्रहालय स्थापना गर्ने जनाएको छ। ‘पाठ्यपुस्तकसँग सम्वन्धीत कला, संस्कृति, भाषा, धर्मलगायतका विषयहरु समेटेर संग्रहालय स्थापना गर्ने तयारी पनि गरिरहेका छौं’ उनले भने, ‘विद्यार्थीहरुलाई पाठ्यसामाग्री मात्रै होइन्, व्यवहारिक ज्ञान दिने उद्देश्य हामीले लिएका छौं।’

पाठ्यक्रममा ढिकी, जाँतो, कोल जस्ता नेपालीले परम्परागत रुपमा प्रयोग गदै आएका बस्तुहरुलाई पनि अध्ययनको विषय बनाइएको छ। ‘यसको अध्ययनले मेटिदै जान थालेको नेपाली समाजको पहिचान जोगिने अपेक्षा विश्वविद्यालयले लिएको छ’ उनले भने, ‘नेपालको संस्कृतिलाई बुझ्न र त्यसको संरक्षण गर्न सहयोग पुग्ने भएकाले पनि यो विषय महत्वपूर्ण छ।’ लोकवार्ता अध्ययनका लागि जुनसुकै विषयमा स्नातक गरेको हुनुपर्ने छ।

प्रकाशित: ५ माघ २०७५ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App