coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कारबाही गर्ने ट्राफिकले रक्तचाप चेक गर्दा चालकहरू दंग

मोटरसाइकलचालक सलेमपुरका सरोजकुमार यादवको रक्तचाप चेक गर्दै स्वास्थ्यकर्मी । तस्बिर : टंक/नागरिक)

सर्लाही – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोकमा ट्राफिक प्रहरीले मोटरसाइकल रोकेर कागजात मागेपछि सलेमपुरका सरोजकुमार यादवले लाइसेन्स, ब्लुबुक देखाए। लगत्तै ट्राफिकले तपाँई ओर्लनुस् त भन्दै च्याप्प समातेर छेउमै रहेको कुर्सीमा बस्न भनेपछि यादवले डराउँदै भने, ‘हैन यो के गरेको, सबै कागजपत्र त देखाई सके त।’

ट्राफिक प्रहरीले यहाँ बस्नुस् न बस्नुस् भन्दै यादवलाई छेउमै रहेका स्वास्थ्यकर्मीबाट रक्तचाप जाँच गराउन लगाए। २०६२ सालदेखि मोटरसाइकल चलाउँदै आएका यादवले तत्कालै प्रतिक्रिया जनाए, ‘हैन ट्राफिक प्रहरीले यस्तो काम गरेको त पहिलो चोटी देख्दैछु।’ उनले थपे, ‘कागजपत्र हेर्ने र नभए जरिवाना तिराउने ट्राफिकले चालकको स्वास्थ्यजाँच समेत गर्न थालेछ, यो राम्रो काम हो ।’ रक्तचाप चेक गराउने वितिकै ३३ वर्षीय यादवलाई छेउमा रहेका साना अक्षरहरु समेत ट्राफिकले पढन लगाए र पढिसकेपछि मात्र उनलाई छोडियो।

यादवमात्र हैन पश्चिमबाट मिर्चैया, टाटा, पिकअप चलाएर हिँडेका बागमती नगरपालिका निवासी रामप्रमोद महतो पनि ट्राफिकको व्यवहार देखेर छक्क परे। ‘हैन कारबाही मात्र गर्ने ट्राफिकले हाम्रो स्वास्थ्यजाँच समेत गर्न थालेछ ।’, उनले भने, ‘जे होस् यो राम्रो कामहो।’

हो अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयले समुदायप्रहरी साझेदारीमा सडक सभ्यताअभिवृद्धि तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सडक सुरक्षा कार्यक्रम गरिरहेको छ । ट्राफिकको अभियानबाट चालकहरु भने आश्चर्यचकित अनि दंग पर्ने गरेका छन् । कार्यक्रम अन्तर्गत सवारीको यान्त्रिक अनि चालकको स्वास्थ्य अवस्था समेत परिक्षण गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुखप्रहरी निरीक्षक राजकुमार शाहीले बताए। 

‘जिल्लाका विभिन्न स्थानमा आइतबार र बिहीबार क्याम्प खडा गरेर कार्यक्रम गर्ने गरेका छौं’, ट्राफिक प्रहरी निरीक्षक शाहीले भने, ‘स्थानीय स्वास्थ्य संस्था एवं सवारी साधनमर्मत गर्ने वर्कशप संचालकसँग समन्वय गरेर चालकको स्वास्थ्यएवं सवारी साधनको अवस्था चेकजाँच गरिरहेका छौं।’

उच्च रक्तचाप, आँखामा समस्या देखिए सम्बन्धित चालकलाई उपचार व्यवस्था मिलाउन आग्रह एवं उचित सल्लाह सहित सचेत गराउने गरिएको ट्राफिक प्रहरी निरीक्षक शाहीले जानकारी दिए । ट्राफिकले सवारी साधनको समेत चक्का, साईड लाईट, स्टेरिङ्ग, हर्न लगायत पार्ट पूर्जाहरु ठिक छ कि छैनभनेर समेत प्राविधिकबाटै परिक्षण गराउने गरेको छ।

प्रकाशित: ५ माघ २०७५ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App