७ वैशाख २०८१ शुक्रबार
अन्य

मेकअपविना फेसन अधुरो

तस्बिर : कृष्पा श्रेष्ठ

फेसनको महत्वपूर्ण पाटो हो मेकअप। यही ग्ल्यामर क्षेत्रको महत्वपूर्ण पाटोमा रमाइरहेकी छिन्, मेकअप आर्टिष्ट सोफी सुनुवार। उनी नेपालका लागि पहिलो ट्रान्सजेन्डर मेकअप आर्टिष्ट पनि हुन्। बेल्जियममा मेकअप सिकेकी उनै सोफीसँग पुष्पा थपलियाले गरेको कुराकानी :

तपाईंको विचारमा फेसन भनेको के हो ?
मेरो विचारमा फेसन भनेको हरेक मानिसको चलेको स्ट्यान्डर्ड र लगाउन सजिलो कपडा नै फेसन हो। यसमा पनि कतिले जरुरीका लागि लगाउँछन् भने कतिले राम्रो देखिनका लागि लगाउँछन्। जब मानव सभ्यता सुरु भयो तब फेसनको पनि सुरुवात भयो। पहिले त झनै फेसनेबल कपडाहरु लगाइन्थ्यो जस्तो कि बाँसबाट तयार पारिएका कपडा, पातहरु झारहरुबाट तयार पारिएको कपडा, मेकअप पनि त्यस्तै खालका जडिबुटीबाट तयार पारिन्थ्यो। कतिलाई फेसन सेन्स हुँदैन त्यसैले उनीहरु फेसनलाई इज्जत धान्ने कुराको रुपमा लिन्छन्, कतिलाई सेन्स हुन्छ उनीहरु पर्सनालिटी डेभलपका लागि लगाउँछन्। 

फेसन भनेको मेकअप हो कि होइन नि ?
फेसन भनेको मेकअप पनि हो तर मेकअप मात्रै फेसन होइन। यी दुईमा गज्जबको रिलेसन हुन्छ। दुवै एकअर्काविना अपुरो लाग्छन्। यदि भयंकर फेसन डिजाइन गरिएको छ तर त्यसको थिमअनुसार मेकअप भएन भने नुनविनाको खल्लो तरकारीजस्तो लाग्छ। फेसनसँगै मेकअपले कति ठूलो भूमिका खेल्छ भन्ने मसँग थुप्रै उदाहरणहरु छन्।

रिसेन्ट्ली उदाहरण भनेको म नेपाल आइडलमा मेकअप गर्न जान्छु। त्यहाँ हप्ताको दुईपल्ट मेकअप गर्न जाँदा एक दिन बिहानै सोको सुटिङ हुन्छ म जुरुक्क उठ्नेबित्तिकै मर्निङ वाकको सुटमा त्यहाँ जान्छु कसैले वालै दिँदैनन्। अनिअर्को दिन भने दिउँसोमा सोको सुटिङ हुन्छ, म राम्री बनेर जान्छु सबैले ठूलै सेलिब्रेटी आएजसरी सम्मान गर्छन्। यहीँबाट थाहा हुन्छ कि हाम्रो पर्सनालिटी डेभलप गर्न फेसनसँगै मेकअपको आवश्यकता कति छ भनेर। मानिसहरुले भन्छन् नि मेकअप लगाउने भनेको नक्कल पार्ने हो भनेर तर हैन, यसले हाम्रो क्यारेक्टरै चेन्ज गरिदिन्छ, हाम्रो पर्सनालिटी डेभलप मात्रै हैन, हामीलाई रेस्पेक्ट गर्ने तरिका, मानिसहरुको हेराई सबै चेन्ज गरिदिन्छ।

तपाईं त मेकअप आर्टिष्ट नै हुनुभयो, के राम्रो हुन मात्रै हो मेकअप गर्ने ?
राम्रो हुनलाई मात्रै बिलकुलै हैन। जस्तो हामी राम्रो लुगा लगाउने राम्री हुनलाई मात्रै हैन, इज्जत जोगाउन, समाजमा घुलमिल गर्नलाई पनि हो नि, त्यस्तै मेकअप गर्ने पनि राम्रो हुनलाई मात्रै होइन। आफँैले आफूलाई माया गर्न पनि हो। हामी तातोबाट, चिसोबाट, धुलो धुवाँबाट जसरी अरु अंगलाई जोगाउँछौं, छालालाई पनि त्यसैगरी केयर चाहिन्छ। हाम्रो छालामा आँखाले नदेखिने धेरै छिद्रहरु छन्, त्यहाँबाट हानिकारक रसायनहरु हाम्रो शरीरभित्र छिर्छन् र पछि समस्या उत्पन्न गराउँछ। तपाईंले शरीरलाई लुगा लगाइदिए जस्तै अनुहारलाई मेकअप लगाउने हो। अनुहारलाई नाङ्गै छाड्दा विभिन्न पोतोहरु आउने, एलर्जीले सताउने हुन्छ। फेरि छालालाई सुट नगर्ने मेकअप लगाउँदा पनि यस्ता समस्या देखिन सक्छ, त्यसैले यसमा पनि विचार पुर्याउनुपर्छ।

नेपालीहरुमा मेकअप सेन्स कत्तिको पाउनुभएको छ ?
केहीमा होला तर धेरैमा छैन। हामी धेरै हिन्दू छौं। हामी रातो रंगलाई राम्रो मान्छौं। यही वर्षको साउन महिनामा हो क्यारे, म थापाथलीको जाममा लामो समयसम्म फसेँ। त्यहाँ एकजना ट्राफिक दिदीले लगाएको ड्रेस र मेकअप देखेर खप्नै सकिनँ। उहाँले ट्राफिक प्रहरीको युनिफर्म लगाउनुभएको थियो। साथमा रातो लिपस्टिक, आँखा कालै देखिने गाजल हातभरि हरियो चुरा, मेहन्दी, पोते अनि निधारमा ठूलो टीका लगाउनुभएको थियो। त्यो हाम्रो परम्परा हो। म मान्छु तर आफू कार्यालय समयमा हुँदा अनि बाहिर मानिसले देख्दा त्यो निकै असुहाउँदो र भद्दा देखिन्थ्यो। मैले सहनै नसकेर गएर पनि भनेँ। पछि उहाँहरुलाई कस्तो ठाउँमा के मेकअप गर्ने भन्नेबारे तालिम पनि दिएँ। यस्तो समस्या सबै क्षेत्रका मानिसहरुमा छ।

त्यति मात्रै होइन, हामी मेकअपकै आधारमा मानिसको जज पनि गछौं। जस्तो कि, रत्नपार्कमा यदि रातो लिपिस्टिक लगाएर, चुइगम चपाएर खुट्टा हल्लाएर बस्नुस् सबैले हाउमच भनि हाल्छन्। हामी रत्नपार्कमा उभिनेबित्तिकै यस्तो भन्यो, उस्तो भन्यो भन्छौं नि, कतै कमजोरी आफैँसँग पो छ कि, विचार पु¥याउनुपर्छ। अझै स्कुलबाट छुटेका नानीहरु लिन गएका गृहणी आमाहरु रातो लिपिस्टिक लगाएर रत्नपार्कमा उभिन्छन्। यो अन्तर्राष्ट्रिय मापदन्ड नै हो, हाउमचको। हामी जेमा पनि रातो लगाए राम्रो देखियो ठान्छौं। रातो राम्रो मात्रै हैन खतराको चिह्न पनि हो भन्ने बुझ्नुपर्छ।

के त्यसो भए रातो कुरा मेकअपमा प्रयोग गर्नै हुँदैन ?
मैले त्यसो भन्न खोजेको हैन। रातो लिपिस्टिकले अलिक एज ठूलो देखाइदिने, उत्ताउलो खालको देखाइदिने हुन्छ। तर हामी कुनै पार्टीमा जान लागेका छौं, ड्रेसअप राम्रो छ भने त्यहाँ रातो नै खुल्छ। रातो साडी लगाएर, दुईचुल्ठी बनाएर अनि रातो टीका निधारमा लगाएर रातो लिपिस्टिक लगाउनुस् न कत्ति सुहाउँछ। मैले एउटा फिल्म हेरेकी थिएँ। नायिकाको नाम त नभनौं, उहाँलाई सहरिया देखाउन पँधेरोबाट पानी ओसारेको बेला पूरै लेहेङ्गा लगाएर हिलजुत्ता लगाएको देखाएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जस्तो भएन त त्यो। यस्तै ‘काशीजानु कुतिको बाटो’ जस्तो गरी जहाँ पनि, जस्तो ड्रेसमा पनि रातो लगाउनु भएन भनेको। कसैको बिहे पार्टीमा जानुछ, पूरै सेतो लगाउनुस् त कस्तो देखिन्छ ? हामी मान्छे मरेको घरमा जाँदा पनि रातो लिपिस्टिक धसेर जान्छौं, बिहेमा सेतो लगाउनु र मानिस मरेको घरमा रातो लगाउनु उत्तिकै अस्वाभाविक भएन र ? तर हामी बिहेमा सेतो लगाएको भने अपसगुन ठान्छौं अनि मान्छे मरेको घरमा रातो लगाउँदा भने स्वीकार्छौं यस्तो गर्न हुँदैन मात्रै भनेको।

अब तपाईंको फेसनको पनि कुरा गरौं न। कस्तो फेसन मनपर्छ ?
मलाई त क्याजुअल फेसन नै हो मनपर्ने। सरसफाइ भने निकै महत्वपूर्ण लाग्छ। यदि हामी फोहोरी भयौं भने त जे जस्तो फेसन गरे पनि मतलबै भएन नि। म कामकाजी महिला भएकाले पनि हिँड्न सजिलो हुने जुत्ताहरु, जिन्स पाइन्ट लगाउँछु। तर कुनै पार्टीमै जाँदा भने पार्टीकै थिमअनुसारको फेसन हुन्छ। बिहेहरुमा जान प¥यो भने मेरो पहिलो रोजाइ साडी नै हुन्छ। अलि फेमिनेन खालका फेसन गर्न रुचि लाग्छ।

कुन रंग मनपर्छ ?
मलाई अलि कलरफूल फेसनहरु खुल्दैन त्यसैले डार्क कलरहरु बढी युज गर्छु। धेरै उज्यालो कलरहरु मन पर्दैन। अलि अफकलरहरु खुल्छ। कहिलेकाहीँ एक्सपेरिमेन्ट पनि गर्नुपर्छ। मेकअप उत्ताउलो खालको भएको बेला कलरफूल पनि खुल्छ। फेरि समयअनुसार पनि हुन्छ, अलि जाडोयाममा वाककलर खुल्छ। आफू अगाडि बस्ने मानिसलाई कम्फर्टेबल बनाउन पनि हामीले कलरमा ध्यान दिनुपर्छ। यस्ता कुरा थाहा पाउने भनेको  सामाजिक सञ्जालबाटै हो। तपार्इं एकपल्ट गुगलमा गएर खोज्नुस् संसारभरको ट्रेन्डदेखि तपाईंलाई कस्तो कलर सुट गर्छ सम्मको जानकारी तपाईंकै हातमा छ। हामीले थाहा पाउने पनि त्यहीँबाट हो।

फेसनकै लागि भनेर कत्तिको खर्च हुन्छ ?
अब यति नै हुन्छ भनेर त भन्नै सकिन्न नि। हिसाबकिताबै राखिँदैन। कहीँ केही मन पर्यो किन्न परिहाल्यो। एउटा कुरा किन्नगयो, अरु कुरा देखिन्छ। बरु किन्न गएको कुरा छाडेर अरु कुरा पो किनेर आउँछु म त। एकपटक किन्न भनेर निस्क्यो भने कमसेमक दसहजार त कतै जाँदैन। त्यो पनि निकै सानो हात गरेर, बार्गेनिङ गर्दागर्दा यति खर्च हुने हो। कमाउन मात्रै पर्छ, खर्च त कतिकति।

एउटा लेभलसम्म नाम कमाइ सक्नुभएको छ। यसरी नाम कमाउनेहरुलाई त वार्गेनिङ गर्न पनि गाह्रो हुन्छ होला है ?
कताहुनु नि, झनै सबैभन्दा बार्गेनिङ गर्नेहरु नै यस्तै नाम चलेका हुन्छन्। मेरै स्टुडियोको कुरा गरौं न, सामान्य मानिसको बिहेको मेकअप गरिदिनुपर्यो, मैले त्यसको फि दस हजार मागेँछु भने उनीहरु चुपचाप मुन्टो हल्लाउँछन्, उल्टै राम्रो बनाइदिनुभयो भनेर टिप्ससमेत दिएर जान्छन्। तर नामचलेकाहरुलाई त डिस्काउन्ट दिनुप¥यो, कतिलाई त फ्रि पनि चाहियो अनि कति त पैसा दिउँलादिउँलाभनेर नदिनेहरु पनि छन्। त्यही भएर अन्ततिर पनि बार्गेनिङ गर्नेमा नाम चलेकै हुन्छन् होला। म आफू त पाएको ठाउँमा बाँकी राख्दिनँ। अब फिक्स प्राइज नै छ भने त कुरा गर्न पनि भएन हैन त।

सपिङ गर्न चाहिँँ कत्तिको मनपर्छ नि ?
कुन केटी होला के सपिङ गर्न मन नपराउने ? मेरो खल्तीमा पैसा हुनुपर्यो अनि समय हुनुप¥यो। मलाई त दसैं आउँछ।

नेपालमा आयोजना हुने फेसन सोको बारेमा के भन्नुहुन्छ ?
एकदमै आशालाग्दो छ। राम्रो भइरहेको छ। पहिले पहिले म सानो हुँदा त्यस्तो फेसनेबल मान्छे देख्दैनथेँ। मैले थाहा नपाएर, या चासो नभएर पनि हुनसक्छ। तर अहिले निकै राम्रो छ। केटाहरुका लागि त झनै डिजाइनर लुगै हुँदैनथ्यो।

फेसन सेन्स कत्तिको छ नेपालीको ?
कुरै नगरौं। अझै बिहेका लागि त झनै बढी छ। घरमा बरु खाना नहोस्, तर उनीहरुमा लुगा र मेकअप हुनै पर्ने कम्पल्सरी निड भइसक्यो। फोटो राम्रो खिच्नुपर्यो नि त। अझै भारतको फेसन त नेपालमा सिधै आइहाल्छ। त्यहाँका सेलिब्रेटीहरुले लगाउने फेसनहरु इहाँ खोज्छन्। अहिले पनि दीपिकाको बिहेको जस्तै लुगा चाहियो भनेर खोजिरहेका हुन्छन्। यसैबाट पनि थाहा हुन्छ उनीहरु फेसनमा कति धेरै कन्सियस छन् भनेर। झनै योङ जेनेरेसनले त हरेक फेसन ट्रेन्डहरु फलो गरिरहेको देख्छु।

प्रकाशित: ५ माघ २०७५ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App