coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

किस बार

काठमाडौँ मलाई मन पर्ने ठाउँ होइन। जाऔं, रमाइलो गराैँ भन्ने मनमा कहिल्यै आएन। तर पनि बारम्बार काठमाडाैँ पुग्नुपर्छ किनकि मेरो पुख्र्यौली थलो त्यही हो। हजुरबा त्यहीँ बसे। बा त्यहीँ जन्मे। त्यहीँ जन्मी ठूल्दी। आमा पहिलोपटक बेहुली भएर पुगेको ठाउँ पनि काठमाडौं नै हो। त्यति मात्रै हैन, तालिम, गोष्ठी र अन्य कार्यक्रममा होस् वा कागजपत्र मिलाउन पुग्नुपर्छ त्यहीँ। देशको राजधानी नपुगेर पनि भएन। मैले हजारौं पटक बेचेर अन्तै बसाइँसराई गर्न पनि कम्ता कदम चालेको होइन। तर, कोही मानेनन्। भन्छन्– पुख्र्यौली थलो हो बेचबिखन गर्न मिल्दैन। सबैको मनपर्ने सहरमा हो यो। तर, मलाई आधा बाटो नपुग्दै कहिले घर फर्काै जस्तो लाग्छ।

मनसँग मन जोड्न सकेन काठमाडौंले। कहिलेकाहीँ हतारमा पुग्छु र हतारमै फर्कन्छु। थाहा पाएँ भने साथीहरु रिसाउँछन्–कत्रो ठूली मान्छे भइस है ! एक जना मान्छे भेटेर एक ठाउँबाट अर्को ठाउँमा पुग्दा लगभग साँझ परिसक्छ। अर्कोलाई भेट्न अर्को दिनको प्रतीक्षा गर्नुपर्छ। धुलोधुवाँले सद्दे मान्छे बिरामी बनाउँछ। निश्चित समय लिएर तपाईँले काठमाडौँको यात्रा थाल्नुभयो भने भ्रममा बाँचे सरी हुन्छ। त्यसैले एकदिनको यात्राले काठमाडौँ घुम्न त के हेर्न पनि पर्याप्त हुँदैन।

साथी भेट्नु, रमाइलो गर्नु, चटपटे खानु, पानीपुरीमा रमाउनु, कफीको चुस्किमा मस्तले हाँस्नु, मस्त सडकमा एक्लै मज्जाले हिँड्नु, त्यसको रमाइलो कहाँ मिल्छ थाहा छैन। यतिबेला म काठमाडौँको एउटा रमाइलो यात्रा वर्णन गर्दैछु। मलाई काठमाडौँ पुग्नु थियो नाटक हेर्न। नाटक भनेपछि भुतुक्कै हुन्छु। मुस्किलले चाँजो मिलाएँ। घर, अफिस, परिवार भन्नेबित्तिकै कहाँ फुर्सद मिल्छ र हामी नारीलाई घरबाट निस्कन ! काठमाडौँ पुगेर नाटक हेरें। त्यसपछि साथीको चियागफमा केही समय बितिहाल्यो। झमक्क रात पर्‍यो, पुग्नु थियो बानेश्वर। साथमा थिइन बहिनी। जबरजस्ती नाटक हेर्न लगेको। निकै रमाइलो गर्नुपर्ने तर साहित्य, कला, नाटक यस्तोमा चाहिँ खासै रुचि नभएकी बहिनी। नाटक हेरेपछि ऊ पनि फ्यान भई नाटकको।

ओठ निचोर्दा दुध निस्कने केटीहरू ठूल–ठूला ज्यान भएका केटासँग टाँसिएका । त्यहाँ न माया थियो न प्रेम नै, थियो त मात्र शरीरको व्यापार ।

त्यो रात दिदी बहिनी रमाइलो गर्ने कुरा भयो। घरमा पुगेर त्यो सम्भव थिएन। त्यसैले लाग्यौं साथीको घरमा। साथी घरमा रहेनछ। आजको रात नआउने रे ! चाबी तल छाडेको रहेछ। हामीलाई के चाहियो र ! मेकअप गर्नेदेखि लिएर फोटा खिच्ने, कहिले भाँडाकुटी खेल्ने, कहिले पुतली। वाल्यकाल सबै त्यहीँ भित्रियो। जमाना फेसबुकको भए पनि फेसबुक हेरेनौं हामीले। बहिनी त १ बजेतिर भोलि बिहानको लफंगा यात्रा (जताजान मन लाग्यो उतै जाने, कसैलाई केही पनि नसोध्ने मात्र हिँडेको हिँड्यै गर्ने ) नामाकरण गरेर सुती। मलाई भने रातको समयमा पुस्तक पढ्न मन लाग्यो– रमेश सायनको पुस्तक ‘छुटेका अनुहारहरू’। रमेशका निबन्धको फ्यान म। रमेशले भोगेका दुःख, देखेको प्रेम र उसले देखाएको देशको चित्रले मनमा छोइरह्यो। निबन्ध पढेर आँसु खसालें। पढ्दापढ्दै बिहानको ५ बजे छ। अब त सुत्नु पर्‍यो भनेर सुतें, अहँ निन्दै्र परेन।  

घुमिरह्यो मनमा, दिमागमा अझै भनौ जिन्दगीमा सल्लीपिर।  बिहानको ८ बजे फ्रेस भएर दिदीबहिनी निस्क्यौ ‘लफंगा यात्रा’मा। कहाँ जाने, थाहा छैन ? कुन बाटो, कहाँ पुगिन्छ, थाहा छैन। कसरी जाने, त्यो पनि थाहा छैन। झोला बोकेर हामीले  काठमाडौँको फन्को लगाउँदा मध्यान्हको १२ बज्यो।  चिया खान मन लाग्यो। सबै छोड्न सकिन्छ तर चियासँगको मितत्रा छुट्यो भने कसरी बाँच्ने ? मध्यान्हको १२ बजे, घाम टल्किएको छ। ‘हेर नानी चिया नखाने !’ यति सुनसान ठाउँमा कहाँ पाउने चिया। हुन पनि सिस्नु घारीमा पुगेका थियौं हामी। कोही कोही नेवारीमा कुरा गरिरहेका थिए। भक्तपुर पुगियो कि भनेको ४ घन्टा हिँडाइमा कहाँ पुगियो पत्तो पाउनै सकिएन।

भोकले उचाइ बढायो। हिँड्ने सामथ्र्य पनि हरायो। त्यतिबेलासम्म हामी सानो बजार जस्तोमा आइसकेका थियौ। बहिनीले भनी,  ‘दिदी ! भातै खाने के।’ हामी होटल खोज्न थाल्यौं। बल्ल एउटा भेटियो–होटल सगरमाथा। ‘दाइ यहाँ खाना पाइन्छ ?’ रिसेप्सनमा बसेको मान्छेले टाउको हल्लायो। अर्को फुच्चेले ‘आउनोस् म लगिदिन्छु’ भन्यो। भोकले तिरमिराएका हामी उसको पछि लाग्यौं। उसले लिफ्ट चढायो। बहिनीले भनी, ‘भात खान पनि लिफ्ट चढ्न पाइयो है।’

लिफ्ट मात्रै हो र सगरमाथा होटल। आजसम्म सगरमाथा देखेका छैनौ, तर होटलमा भने भात खान पाइयो। कस्तो राम्रो होटल ! काठमाडौँमा कति ठाउँमा खाना खाइयो तर यति टाढा आएर पनि लिफ्ट चढेर खाना खान पाइने भइयो है। हामी सातौं तलामा थियौं। बाहिर कुर्सी नै कुर्सी। धेरैपर काठमाडौँ देखिन्थ्यो। ‘आबुई धेरै टाढा आएका रहेछौँ हेर नानी’, मैले उसलाई काठमाडौँ देखाइ दिएँ। उसले भनि, ‘धेरैै टाढा पो आइपुगेछौं।’

हामीले भुइँमा हेर्दा त जताततै चुरोटका ठुटा, रक्सीका बोत्तलहरु देख्यौं। बाहिर बस्न सक्ने अवस्था थिएन। बहिनीले विस्तारै कानमा भनि, ‘दिदी यो त भट्टी पो रहेछ !’ मैले चुप बस्न भने। भित्र पस्यौ। त्यो त डान्सबार रहेछ, राति मात्रै खुल्ने। बिहानचाहिँ अर्डरको खाना मात्रै खुवाउने। अब मनमा ढ्याङ्ग्रो ठोक्यो। बहिनी राती भई। उसको शरीर पसिनाले लफक्कै भिज्यो।  

ममा पनि डरको ढ्यांग्रो नठोकेको त कहाँ हो र तर दिदी भएका नाताले उसलाई झन् आडभरोसा दिनु मेरो कर्तव्य थियो। रक्सी र चुरोटका ठुटाको गन्धले हामीलाई वाक्क बनाइसकेको थियो। भोक कता भाग्यो, भाग्यो। त्यही फुच्चेले पानी ल्याइदियो। पानीको घुट्को पनि राम्रोसँग निल्न नसक्ने अवस्थामा पुग्यौं। फुच्चेले भन्यो– खाना पाक्न १० मिनेट लाग्छ, अरु केही लिनुहुन्छ कि ?

‘पर्दैन भाइ’, मैले भए भरको बल लगाएर त्यति बोलें। अरुका लागि सुन्दर लाग्ने ठाउँ हाम्रो लागि जेल समान भयो। मनमा अनेक कुरा खेले। कति कुरा दिमागमा घुसे कति आफैं हराए। १० मिनेट काट्न हामीलाई १० जुनी काटे बराबर भयो। खानाको थाली आयो। लागेको भोक हराएपछि चौरासी व्यञ्जनै भए पनि मिठो कहाँ लाग्दो रहेछ र ! बहिनीले आँसु झार्दै दुई गाँस खाई। मैले त त्यति पनि खान सकिनँ। जस्ताकोे तस्तै खाना छाडेर बिल मगायौ। ६ सय रूपैयाँको बिल आयो। बिल तिरेर पहिलो तला उत्रन लाग्दै थियौं। एक जोडी कुनामा बसेर किस खाइरहेका थिए। प्रत्येक तलामा कति हो कति त्यस्ता जोडीहरू। अनैतिक सम्बन्धमा बाँधिएका। सबै पुगेर आएका जस्ता थिए कोही केही नभएर यो पेशा अपनाउन बाध्य भएका जस्ता थिए। ओठ निचोर्दा दुध निस्कने केटीहरू ठूल–ठूला ज्यान भएका केटासँग टाँसिएका। त्यहाँ न माया थियो न प्रेम नै, थियो त मात्र शरीरको व्यापार। कति बाध्यताले छिरेका थिए होलान्, कति रहरले त्यसको लेखाजोखा गर्न सकिनँ।  

छोटा लुगामा बाउ भन्न लायक केटासँग केटीको अवस्था देखेर धेरै ठाउँमा माया पनि पलायो। के नै गर्न सकिँदो रहेछ र, यो त एउटा घरमा देखिएको दृश्य थियो। यस्ता अदृश्य ठाउँ कति होलान् जसमा न प्रहरी प्रशासन, न राज्य लागि परेको छ ! त्यो त भर्‍याङको खुड्किलामा देखिएको दृश्य थियो। प्रत्येक कोठामा कति थिए होलान्, त्यस्ता जोडी, अनुमान सहजै गर्न सकिन्छ।   सातौं तलाबाट रोडमा आइपुग्दा बल्ल सास आयो। आँखा लपक्कै भिजेको थियो भने शरीरको बीच भाग भएर पसिनाको धारा छुटेको थियो। हामी दुवै चुप बस्यौ। निकैबेर चुपचाप हिँडेपछि ट्याक्सी आइपुग्यो। चढ्यौ। बहिनीले आँसु झार्दै भनी, ‘दिदी अब यो लफंगा यात्रा कहिले नगर्ने ल।’
मैले उसको शिरलाई काँधमा राखेर भनें, ‘ल नानी ल।’

देशभरि मिटुको आवाज उठिरहेको थियो। ‘बोल्नुपर्छ हामीले नबोले कसले बोल्ने’ भन्ने बहस भइरहेको थियो। मिटु अभियानले धेरैको जागिर चट बनाइसकेको थियो भने धेरैले सोसल मिडियामा वर्चस्व गुमाइसकेका थिए। सरकार संवेदनाका नाममा फूल अबिर चढाउन मस्त थियो। देशका युवा खाडीमा पसिना बगाउन जान ठूलो लाइन लागेको थियो। म सोचिरहेको थिएँ कि कुनै मिटु अभियानले उनीहरूलाई छोला कि नछोला ! अथवा कसरी छोला ?

सायद हामीले समाज बुझेका थिएनौँ। समाजमा यस्ता क्रियाकलापले ल्याएका विकृति देखेका पनि थिएनौँ। रहर वा बाध्यताले मान्छेलाई कहाँ पुर्‍याउँछ भन्ने सोचेका पनि थिएनौ। त्यसैले हामी निकै डराएका थियौ। शरीरभरि पसिना, आँखाभरि आँसु, मनभरि द्वन्द्व अनेकौं कुरा एकैपटक भित्रियो।  
हामी घर गयौं। ‘तिमीहरु त भेट्नै नहुने है रमाइलो चलिहाल्छ’, सानीआमा कराउनुभयो, ‘हिजोदेखि हराएकाहरु बल्ल घर पस्दैछन्। खाना खायौ कि नाइ ?’ हामी दुवैले मात्र टाउको हल्लायौं। हामीसँग बोल्ने शब्दै थिएन।

प्रकाशित: ५ माघ २०७५ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App