रंगकर्मी

थिएटरमा राजा वीरेन्द्र !

शनिबार, ०५ माघ २०७५, १२ : ३३ अमृत भादगाउँले

482


गृहभूमि झोराहाटमा ९ दिनसम्म ‘बर्बरिक’ नाटक देखाएर झोराहाट नाट्य समूह, मोरङका कलाकार काठमाडौं आइपुगेका छन्। उनीहरुले माघ २ गतेदेखि थापा गाउँस्थित कुञ्ज थिएटरमा बर्बरिक देखाइरहेका छन्। समूहका अध्यक्ष भरत गुरागाइँले नाट्य रूपान्तर गरेको नाटकका निर्देशक जीवन बराल हुन्।

प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’मा आधारित नाटकले ०४६ सालको जनआन्दोलनदेखि जननेता भण्डारीसँगै अर्का नेता जिवराज आश्रितको दासढुंगा दुर्घटना (०५० जेठ ३ गते)मा निधन भएसम्मका घटनाक्रम समेटेको छ। बर्बरिक अर्थात् मदन भण्डारीको भूमिकामा नाट्यकर्मी गुरागाइँ, राजा वीरेन्द्रको भूमिकामा प्रयाग न्यौपाने, विद्यादेवी भण्डारीको भूमिकामा दीपा पोखरेल, लेखक प्रदीप नेपालको भूमिकामा सुदीप कार्की, काकाको भूमिकामा नमस्ते दिवाकर घिमिरे, काकीका रुपमा अनु श्रेष्ठ, दरबारको सिआइडीका रूपमा निराशा ढुंगेल लगायतले अभिनय गरेका छन्। उनीहरु आ–आफ्नो भूमिकामा सफल देखिन्छन्।

तिनै सशक्त कलाकार मध्ये एक हुन् न्यौपाने। बर्बरिकमा उनको भूमिका छोटो छ। तर, दर्शकले उनलाई राम्रै ‘नोटिस’ गर्छन्। ‘मैले युट्युबमा राजा वीरेन्द्रको गेट अप र बोल्ने शैली हेरेको थिएँ’, न्यौपानेले बिहीबार मध्यान्ह सुनाए, ‘दर्शकबाट राजाजस्तै देखियो भन्ने प्रतिक्रिया पाइरहेको छु।’ अबका केही दिन उनी र उनको समूह काठमाडौंमै हुनेछ। आठ वर्षको उमेरदेखि नै रंगमञ्चमा उत्रिएका न्यौपानेले दर्जनौं नाटकमा अभिनय कला देखाइसकेका छन् भने निर्देशनमा पनि उत्तिकै सफल मानिएका छन्। उनको सिंगो जीवन रंगमञ्चमै समर्पित छ।  

काठमाडौंको कुञ्ज थिएटरमा माघ २ गतेदेखि जननेता मदन भण्डारीको जीवनीमा आधारित नाटक ‘बर्बरिक’ मञ्चन भइरहेको छ । त्यसमा राजा वीरेन्द्रको भेषमा देखिने प्रयाग न्यौपानेले आफ्नो भूमिकामा न्याय गरेका छन् । त्यसो त चार दशकदेखि रंगमञ्चमा सक्रिय न्यौपाने स्थापित नाट्य निर्देशक पनि हुन् ।

उनको रंगमञ्च यात्राको चर्चा गर्नुअघि अलिकति झोराहाटको चर्चा गर्नु बेस हुन्छ। झोराहाटमा २०१६ सालदेखि नाटक देखाइएको इतिहास छ। तिनताका बर्माबाट आएका भवानीशंकर पोखरेलले गाउँलेलाई सिकाएर लेखनाथ पौड्यालको ‘लक्ष्मीपूजा’ नाटक देखाएका थिए। त्यसयता पनि बर्सेनी विजयादशमीका बेला नाटक देखाउने चलन बस्यो। विराटनगरको पुष्पलाल चोकबाट ५ किमि उत्तरपूर्वमा अबस्थित झोराहाट गाउँमा जन्मे÷हुर्केका न्यौपानेलाई पनि त्यही माहौलले कलाकार बनायो। उनी ८ वर्षको हुँदा दसंैमा ‘राजा हरिशचन्द्र’ नाटकमा हरिशचन्द्रका छोरा रोहितको भूमिकामा देखिएका थिए।

त्यतिबेला गाउँघरतिर देखाइने नाटकमा महिलाको भेषमा पुरुष कलाकार नै उत्रिन्थे। न्यौपाने पनि बेलाबेलामा महिला बनेर नाटकमा देखिन्थे। पछि महिलाको भूमिकामा महिलालाई नै खेल्ने प्रेरित गरियो। उनको नाट्य यात्रा अविराम चलिरह्यो। कहिले सडक नाटक त कहिले मञ्च नाटकमा सक्रिय बनिरहे। उनले पहिलो पटक निर्देशन गरेको नाटक थियो– बाँच्न चाहनेहरू। झोराहाटमा ०४५ सालतिर मञ्चन गरिएको नाटकमा उनी शिक्षक बनेका थिए। सहकर्मी गुरागाइँले लेखेको नाटक झोराहाटको नेटो काटेर सेरोफेरोका धेरै गाउँटोलसम्म पुग्यो।
प्रायः नाटकमा उनीहरू सामाजिक विषय वस्तु पस्कन्थे। तर, ०४६ सालको आन्दोलनलगत्तै कवि गण्डकी पुत्रले लेखेको नाटक ‘नआएको प्रजातन्त्र’ र ‘नथाकेका आस्थाहरू’ निर्देशन गरेपछि उनले झनै चर्चा कमाए। दुवै नाटक मोरङ जिल्लाका विभिन्न स्थानमा देखाइएका क्षण सम्झँदा उनको अनुहारमा खुसी छाउँछ।

उनले राम्रा धेरै नाटक निर्देशन गरेका छन्। जागृति, बहुलाकाजीको सपना, पर्खाल, लुटिएको आँगन लगायत नाटकमा निर्देशनसँगै अभिनय पनि गरेका थिए। बहुलाकाजीको सपनाको प्रमुख पात्र बहुलाकाजी पनि आफैं बनेका थिए। नाटक देखाउँदा उनीहरूले धेरै किसिमका अनुभव सँगालेका छन्। एक पटक इनरूवामा एचआइभी एड्स विरुद्धको सडक नाटक ‘होसियार’ देखाइरहेका थिए। त्यसमा रामप्रसाद न्यौपाने चटपटे बेच्दै थिए। दशर्कको घेरामा नाटक जमिरहेको थियो। त्यही बेला एक जना प्रहरी हबल्दार आएर ‘तँ यहाँ चटपटे बेचेर बाटो जाम गर्ने ? तुरुन्तै हटा’ भनेर रामप्रसादलाई भर्कुन पो थाल्यो। उसले सडक नाटक भइरहेको छ भन्ने बुझेनछ। नाटक अवरुद्ध भयो। पछि हबल्दारले माफी माग्यो।

झोराहाटले न्यौपाने जस्ता धेरै कलाकार जन्माइसकेको छ। अग्रज पुस्ताका मित्रप्रसाद भट्टराई, महानन्द भट्टराई, छत्रपति लुइँटेल, लक्ष्मण लुइँटेल, हरि लुइँटेल, रामप्रसाद न्यौपाने, डिल्ली लुइँटेल, चुडामणि बाँस्तोला, गण्डकी पुत्र, पशुपति लुइँटेल, दुर्गा घिमिरे, भरत गुरागाइँ, मनोज निरौलासम्म र नयाँ पुस्ताका ओम निरौला, सुदिप कार्की, अनु श्रेष्ठ, निराशा ढुंगेल, सुनिता कट्टेल, सूरज माझी, प्रदिप सरदार लगायत स्थापित भइसकेका नाम हुन्। लामो समयदेखि नाटककै कारण झोराहाट धेरैतिर चिनिएको छ। पछिल्लो समय व्यवस्थित नाटक घर बनेसँगै अन्य वाङमयिक क्रियाकलापले झोराहाटको चिनारीलाई फैलाउन मद्दत गरेको छ।   

नाट्यकर्मी घिमिरे युवराजको सक्रियता एवं अमेरिकी नागरिक ब्रस पार्डोलको सहयोगमा ०७२ मा नाटक घर बनेसँगै पुरानो परम्परालाई व्यापक र दिगो बनाउने अभ्यास भइरहेको छ। नाटकघरमा एकै पटक डेढ सय जना दर्शक बस्न सक्छन्। अचेल त्यही हलमा न्यौपानेहरू नाटक देखाइरहेका हुन्छन्। नाटकबाटै गुजारा चलाउने अबस्था आइसकेको छैन तैपनि नाटकमै झुमिरहेका छन्, किन त ? ‘गाउँमै बसेर केही सार्थक सन्देश दिन सकिन्छ भनेर,’ ५२ वर्षीय न्यौपानेको जवाफ, ‘नाटकबाट जन्मथलो चिनाउने अभियानमा लाग्दा सन्तुष्टि मिलेकै छ।’
रंगमञ्च फुर्सदको समयलाई सृजनशील बनाउने माध्यम बनेको छ। पेशा बनाएर जाने सम्भावना देखेका छैनन् उनले। विद्युतिय माध्यमको विकासले रंगमञ्च ओझेल पर्दै गएको छ। तर, पछिल्लो समय नाटकको स्वाद चाख्नेहरू बढ्दै गएकाले आशाको किरण पनि देखिँदै छ। गाउँलेमा नाटक हेर्ने बानी विकास गर्नु चानचुने काम होइन, न्यौपानेहरूको समूहले त्यो काम गरिरहेको छ। उनीहरूको होस्टेमा स्थानीय ग्रामथान गाउँपालिका र १ नं प्रदेश सरकारले हैसे गर्नुपर्ने देखिन्छ।  

दर्शकका नजरमा प्रयाग न्यौपाने सफल कलाकार बनिसके। उनी आफूचाहिँ ‘जिन्दगीको लक्ष्य नै सफल कलाकार बन्नु हो’ भन्छन्। उनको कलाकारिता परख गर्न अपरान्ह साढे ४ बजे कुञ्ज थिएटर पुग्ने कि ! त्यहाँ राजा वीरेन्द्रको भेषमा भेटिन्छन् उनी। उनलाई धेरै धेरै शुभकामना ! 

गाउँमा कविता
प्रयाग न्यौपाने राम्रा कवि पनि हुन्। कलेज जीवनदेखि नै कविता कर्ममा लागेका न्यौपाने कविता र गजल लेख्छन्। अचेल कविहरूलाई हौस्याउने काममा सक्रिय छन्। झोराहाट नाट्य समूहले आफ्नै नाटकघरमा हरेक महिनाको दोस्रो शनिबार ‘गाउँमा कविता’ कार्यक्रम गर्छ।
कार्यक्रमका परिकल्पनाकार कवि गण्डकी पुत्र हुन् भने संयोजकचाहिँ न्यौपाने। त्यस्तै सहसंयोजक कवि उमेश लुइँटेल हुन्। कार्यक्रम चलाउन नाटकघरका अध्यक्ष भरत गुरागाइँले निरन्तर हौस्याइरहेका छन्।
दिउँसो १ बजे चार स्रष्टाका चार–चार कविता सुन्ने÷सुनाउने गरिन्छ। पुसमा ३१ औं शृंखला पूरा भएको थियो। ‘बर्बरिक’ देखाउन टोली नै यतै भएकाले ३२ औं शृंखलाचाहिँ माघको दोस्रो शनिबार काठमाडौको कुञ्ज थिएटरमै हुने भएको छ।
‘गाउँमा कविता’ कार्यक्रमले मुलुकका कविहरूलाई झोराहाटमा पुर्‍याएर कवितामार्फत् गाउँलाई चिनाउन सफल भएको छ। साथै स्थापित र नवोदित स्रष्टाबीच पुल हाल्ने काम पनि गरेको छ।







यसमा तपाईको मत


अन्य समाचार

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

DxOMark अनुसार अहिलेको सबैभन्दा अब्बल क्यामरा स्मार्टफोन ! ...

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

तपाईंको फेसबुकसँग भएको सम्पूर्ण जानकारी पूर्ण डाउनलोड गर्नका लागि यस्तो गर्नुहोस् : ...

Ncell Footer Ad