coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उखुको मुल्य निर्धारण भएसँगै देशभरका चिनी उद्योग सञ्चालनमा

श्री बाबा बैजुनाथ सुगर मिल्स परिसरमा किसानहरू आफ्नो उत्पादन बिक्री गर्न ल्याउँदै। तस्बिर : मदन/नागरिक

रौतहट – उखुको मुल्य निर्धारण भएपछि देशभरका चिनी उद्योगहरू सञ्चालनमा आएका छन्। उखु उत्पादक महासंघले पहिला उखुको मुल्य तय भएपछि मात्रै उद्योग चल्न दिने र उखु बिक्री गर्ने अडान राखेका थिए। पुषको अन्तिम साता महोत्तरीको बर्दिबासमा चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच मुल्य निर्धारण सम्बन्धी सम्झौंता भएपछि चिनी उद्योगहरू सञ्चालनमा आएका हुन्।

कतिपय उद्योगहरू उखु खरिद गर्नका लागि किसानलाई चलान पुर्जी बाडेर सञ्चालनको तयारीमा जुटेका छन्। मध्य तराईका किसानले गरिरहेको उखु नगदे बालीको रुपमा चिनिएपनि बिस्तारै उधारो बालीमा परिणत भएको छ। उखुको मुल्य यसपालीको सिजनमा उद्योग सञ्चालन भन्दा पहिले तय भएपछि किसानहरू खुशी देखिन्छन्। कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित बागेश्वरी सुगर मिल र महाकाली सुगर मिल सञ्चालनमा आइसकेका छन्।

बारा रिलायन्स सुगर मिल्स एण्ड केमिकल इन्ड्रस्टीज, सर्लाहीको इन्दुशंकर चिनी उद्योग हरिवन, महालक्ष्मी सुगर मिल गोडैता, महोत्तरीको रामनगरमा सञ्चालित एभरेष्ट सुगर लगायतका मिल्सहरू सञ्चालनमा आएको उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीले बताए। रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड गरुडा, बाबा बैजुनाथ सुगर मिल्स पोखरीया लगायतका सुगर मिलले उद्योगमा उखु ल्याउनका लागि चलान पुर्जी बाडिसकेको महासंघका अध्यक्ष मैनालीले बताए।

रौतहटको पोखरीयामा बाबा बैजुनाथ सुगर नयाँ स्थापना भएर सिजन सुरुआत गरेको छ। देशभरीमा १४ वटा सुगर मिलहरू छन्। जसमध्ये नवलपरासीको इन्दिरा सुगर मिल र बागमती सुगर मिल, लुम्बनी सुगर मिल, सर्लाहीको अन्नपुर्ण सुगर मिल र इष्र्टन सुगर मिल्स सुनसरी सञ्चालनमा आउन बाँकी नै रहेको मैनालीले बताएका छन्। ‘मंसिर महिना मै सञ्चालनमा आउने चिनी मिल पुषको अन्तिम साता उखुको मुल्य तय भएपछि माघ महिनामा उखु उद्योगहरू सञ्चालनमा आएकोले यसपालिको सिजन करिब दुई महिना ढिलाई भएको छ।’ संघका अध्यक्ष मैनालीले भने, ‘उद्योगीले उखु किसानको पैसा भुक्तानीमा विगत वर्ष ढिलाइ गरेकोले यसपाली हामीले उद्योग सुरु हुनु अगावै मुल्य निर्धारण गरे मात्रै उद्योग चलाउन दिने अडानको कारण ढिलाई भएको छ।’

नेपालमा साढे दुई लाख मेट्रिकटन चिनी खपत हुन्छ। गतवर्ष चिनी मिलहरूले २ करोड ६ लाख उखु क्रसिङ गरेर देशभरीका उखु उद्योगले गतवर्ष १ लाख ७७ हजार मेट्रिकटन चिनी मात्रै उत्पादन गरेको थियो। तर यसपाली २ करोड ५० लाख भन्दा बढी उखु खेती भएकोले गत वर्षको तुलनामा उत्पादन बढने प्रवल सम्भावना रहेको संघका अध्यक्ष मैनालीको कथन छ।

गतवर्ष पुषको पहिलो साता सञ्चालनमा आएका चिनी मिलहरूले चैत्र महिनामा सिजन समाप्त गरी उद्योग बन्द गरेको करिब एक महिनापछि सरकारले हस्तक्षेप गरेर वैशाख ४ गते उखु मुल्य प्रति क्वीन्टल ५ सय ३१ रुपैयाँ तोकेको थियो। गत वर्षको भन्दा यो वर्ष ५ रुपैयाँ थप गरी ५६३ रुपैयाँ प्रति क्वीन्टल उखुको मुल्य कायम भएको र उखु बिक्री गरेको ३० देखी ४५ दिन भित्र तालिका प्रकाशन गरेर किसानको भुक्तानी दिने सहमति भएको छ। चालु आर्थिक वर्षका लागि सिजन सुरु भएको र किसानहरू खुसीका साथ चिनी मिलमा उखु बिक्रीको लागि ल्याइरहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए।

रौतहटको बाबा बैजुनाथ सुगर मिलकासञ्चालक बैजुप्रसाद बाबराले यसपाली रौतहटका किसानको घरघरमा चलान पुर्जी पठाएर उखु खरिद गरिरहेको बताए। यसपाली हामीले ७ देखी १० लाख उखु मात्रै क्रसिङ गर्ने लक्ष्य रहेको स्पष्ट पार्दै उद्योगी बाबराले किसान संघ र चिनी उत्पादकबीच भएको सहमति अनुसार उखुको भुक्तानी दिने बताए।

प्रकाशित: ५ माघ २०७५ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App