coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘दसैं बजार’मा किनमेल गर्नेको भिड बढ्दै

जनकपुरको दसैं बजारमा समान किन्ने सर्वसाधारणको चहल पहल।

जनकपुर– दसैं–तिहारको अवसरमा जनकपुरको गोपाल धर्मशालामा हरेक वर्ष लाग्ने ‘दसैं सस्तो बजार’ मा सोमबारदेखि भिड बढ्न थालेको छ। मुख्यतः दैनिक उपभोग्य वस्तु पाइने यो बजार घटस्थापनादेखि अष्टमीसम्म मात्रै लागे पनि सोही अवधीमा सात करोडभन्दा बढीको कारोवार हुने अनुमान गरिएको छ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको सस्तो बजार व्यवस्थापन मूल समितिले शनिबार दिउँसो उद्घाटन गरेपछि अगामी आइतबारसम्मको लागि बजार सञ्चालनमा आएको हो। सस्तो बजारमा गोपाल धर्मशालाको भित्री भागमा ४२ र बाहिर ५६ गरी ९८ वटा स्टल राखिएको स्टल व्यवस्थापन समितिका संयोजक एंव जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्रकुमार साहले जानकारी दिए।  

‘सुरुवातमा त खासै उत्साह देखिएको थिएन,’ बजार उद्घाटन भएकै दिन करिब ५०–६० लाख रुपैयाँ बराबरको कारोबार सञ्चालन भएको बताउँदै साहले भने, ‘द्वितीया तिथिदेखि प्रतिदिन क्रमशः बजारमा भिड बढ्दै जान्छ र अन्तिम दिन (अष्ठमी) एकैदिन डेढ करोडभन्दा बढीको कारोबार हुने पछिल्ला वर्षहरुको कारोवार हिसाबले अनुमान लाउन सकिन्छ।’ आठ दिनसम्म लाग्ने यो बजारमा यसवर्ष करिब दश करोडभन्दा बढीको कारोबार हुनसक्ने अनुमान संघका अध्यक्ष शिवशंकर साहको छ।

यो बजारमा मुख्यतः दैनिक उपभोग्य वस्तुहरु साबुन, अगरबत्ती, प्लाष्टिकका भाडावर्तन र चाउचाउलगायत घरेलु उद्योगका उत्पादन बिक्री हुन्छ भने लत्ताकपडा, चप्पल, जुत्ता, फर्निचरलगायत समान पनि उपलब्ध हुन्छ। निम्न तथा मध्यमवर्गीय परिवार तथा ग्रामीण क्षेत्रका किराना व्यवसायीले यो बजारबाट तीनदेखि छ महिनासम्म पुग्न समान खरिद गर्ने गरेको अगरबत्ती व्यवसायी उमेश झाले बताए।

बजारको नियमित अनुगमनको लागि सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी र बजारमा बिक्री गरिने समानको गुणस्तर जाँच तथा अनुगमन गर्न जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजय साहको संयोजकत्वमा छुट्टाछुट्टै टोली गठन गरिएको बजार व्यवस्थापन मूल समितिका सदस्य सचिव एंव जउवा संघका अध्यक्ष साहले बताए।

दशकौं पहिलेदेखि लाग्न थालेको यो बजारमा ठ्याक्कै कुन वर्षदेखि लाग्न थालेको हो भन्ने यकिन नभए पनि जनकपुरको दसैं उत्सव व्यवस्थित भएसँगै सुरु भएको साहको भनाइ छ। सुरुमा जउवा संघका पदाधिकारीले स्थानीय ठूला व्यापारी र उद्योगीसँग अनुरोध गरी सस्तो बजारमा स्टल राख्न लगाउने गरेको सम्झिँदै महासचिव साहले भने, ‘अहिले व्यापारी र उद्योग सबैको प्रतिस्पर्धा बढेको छ। यसपाली मात्रै स्टल माग गरेका मध्ये करिब ५० प्रतिशतले पाउन सकेनन्।’

बजारमा स्टल माग गर्ने व्यापारी तथा स्थानीय उत्पादक उद्योगीहरुको बढ्दो चापको कारण अगामी वर्षदेखि धर्मशालाको विकल्प खोज्नुपर्ने उनले बताए। ‘यसपाली आन्दोलनको असर र केही प्राविधिक कारणले धर्मशालामै आयोजना गर्नुपरे पनि अगामी वर्षदेखि तिरहुतिया गाछीमा तीन–चार सयवटा स्टल व्यवस्थापन गर्ने योजना छ,’ उनले भने।

प्रकाशित: १७ आश्विन २०७३ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App