आलेख

मुक्तक लेख्दैछ पोखरा

शनिबार, ०५ माघ २०७५, १२ : १३ नागरिक

प्राञ्जल – आजका मान्छे दौडधुपले बेफुर्सदिला बन्दै गएका छन्। स्वभावैले व्यस्त मान्छेलाई लामा लामा रचना पढ्ने समय हुँदैन। त्यसैले त उनीहरू छोटा–मिठा रचना पढ्छ्न्– मुक्तक जस्तै। के हो त मुक्तक ? काव्यको लघुत्तम तर आफैंमा पूर्ण लेखन हो मुक्तक। भावसघनता, कलात्मकता, हृदयस्पर्शता, चमत्कारिकता, व्यंग्य चेतना र शक्तिशाली पटाक्षेप यसका अनिवार्य गुण हुन्। एक श्लोकिय अभिव्यक्तिलाई मुक्तक मानिएको छ संस्कृतमा। एक श्लोकमा चार पाउ हुन्छन्। जसलाई चतुष्पदी पनि भनिन्छ।

चतुष्पदीलाई मूल आधार बनाएर लेखिँदै आएको मुक्तकमा भीमदर्शन रोकाले २०१० सालमा रुवाई शैली भिœयाएपछि यसको प्रारूप संस्कृतको भन्दा फरक बन्न गयो। र, नेपाली मुक्तकले आफ्नै आकार ग्रहण गर्‍यो। नेपाली मुक्तक लेखनको मानक शैली चतुष्पदी बन्यो। चार पंक्तिमा लेखिएको सिंगो महाकाव्यको रसस्वादन गराउन सक्ने काव्यिक अभिव्यक्ति नै मुक्तक हो। पोखरेली मुक्तकको इतिहास कविशिरोमणि लेखनाथ पौडेलसम्म पुग्छ। उनी पछि भोलानाथ पराजुली, रत्नदेव शर्मा, गोपाल वैध, तारा पाखे, मुकुन्दशरण उपाध्याय, भूपी शेरचन, तेजनाथ घिमिरे आदि आउँछन्। त्यसपछि यसलाई उचाइ दिने काममा थपिए, सरुभक्त, तीर्थ श्रेष्ठ, विजय बजिमय, उषा शेरचन, विनोद गौचन, विश्व शाक्य आदि।

पोखरा ३० को दशकमा निकै ऊर्जाशील देखिन्छ। पोखरेली युवा सांस्कृतिक परिवारले ०३५ माघ २० गते ‘हामी चाहान्छौं हाम्रो रचनाको पनि मूल्य होस्’ भन्ने उद्घोषका साथ ‘टिकटमा मुक्तक’ कार्यक्रम गरेको थियो। त्यतिबेला दुई रूपैयाँको टिकट काटेर मुक्तक सुनिएको थियो। कार्यक्रमका प्रमुख अतिथि थिए हरिभक्त कटुवाल। टिकटमा मुक्तक कार्यक्रम १५ पटक भइसकेको छ पोखरामा।  ‘मुक्तक सुन्न पोखरा जानू’ भन्ने भनाई स्थापित भइसकेको छ। टिकटमा मुक्तक कार्यक्रमले साहित्य अनुत्पादक क्षेत्र भन्ने मान्यता भएका बेला रचनाको पनि मूल्य हुनुपर्छ भन्ने सञ्देश दियो। स्रष्टालाई हौस्यायो।

पोखरा मुक्तकको सहर हो। पोखराको सौन्दर्य जति अनुपम छ त्यस्तै मिठो छ मुक्तकको स्वाद। मुक्तक लेखन गतिशील छ। यहाँ साहित्यमा लाग्ने अधिकांश स्रष्टाले एकपटक मुक्तकलाई स्पर्श गरेर मात्रै अघि बढेको भेटिन्छ।  पोखरा प्रेम लेख्न मन पराउँछ। चाहे त्यो मानवीय प्रेम होस् या प्रकृति अथवा देश प्रेम। कहिले मानवीय सौन्दर्यका विभिन्न आयामलाई मुक्तकमा पस्कन्छ। कहिले माछापुच्छ्रे, अन्नपूर्ण, फेवाताल र बेगनासतालको सुन्दर वर्णन गर्छ। देशको माटोलाई उत्तिकै प्रेम गर्छ र मुक्तकको मूल विषय बनाउँछ। सँगै बेथिति, विसंगति र कुरितीविरुद्ध शंखघोष पनि गर्छ। लेखकीय जिम्मेवारी बहन गर्छ र विद्रोहको आवाज समेटेर विसंगतिमाथि झटारो हुन्छ। सामाजिकतालाई समेट्न पनि बिर्सदैन पोखरा।

जीवनलाई परिभाषित गरिहाल्ने पोखरेली मुक्तकको अर्को अनुपम पाटो छ। समग्रमा भन्दा मानवीय प्रेम, प्रकृति, देश, सामाजिक विकृति, विसंगति, समसामयिक घटना र जीवन पोखरेली मुक्तक लेखनका विषयवस्तु हुन्। पोखरामा हुने हरेक साहित्यिक कार्यक्रममा मुक्तक वाचन हुन्छ। पोखरामा मुक्तकमा कलम चलाउने स्रष्टा करिब दुई सयको हाराहारीमा छन्। अग्रज पुस्ताका दीपक समीप, अल्पविराम, लक्ष्मण थापा, डा. वसन्त गौतमदेखि सञ्जीव पौडेल, कृष्ण देवकोटा, रुपिन्द्र प्रभावी, सरला लामिछाने, कपिल शर्मा, मिर्मिसा पराजुली, भरतराज पौडेल, देवी त्रिपाठि, केआर ढकाल हुँदै नयाँ पुस्ताका श्रीराम अधिकारी ‘गोर्जे’, अनिता दाहाल, सकिला अधिकारी, भरत पोख्रेल, हीरा अधिकारी मुक्तकमा सक्रिय नाम हुन्।

मुत्तक लेखनको इतिहास लामो भएता पनि पुस्तकाकारका रूपमा पोखरा धेरै पछि आएको देखिन्छ। सरुभक्तले ०३५ सालमा प्रकाशन गरेको ’बन्द खामभित्र’ नै पहिलो मुक्तक संग्रह हो। त्यसमा जम्मा ५४ मुक्तक छन्। त्यसपछि मुक्तक संग्रह प्रकाशनको क्रम फैलियो। आजसम्म आइपुग्दा तीन दर्जनभन्दा बढी मुक्तक संग्रह प्रकाशन भइसकेका छन्।पोखरेली मिडियामा बरोबर मुक्तक छाउँछन्। विगतको तुलनामा त्यति उत्साहप्रदचाहिँ छैन। पत्रपत्रिकाले शनिबारीय अंकमा मुक्तकलाई ठाउँ दिन्छन्। मुक्तकको उत्थानमा रेडियोको भूमिका प्रसंसायोग्य देखिन्छ। रेडियोबाट प्रसारण हुने साहित्यिक कार्यक्रमले अग्रजदेखि अनुज पुस्तासम्मलाई स्थान दिने गरेका छन्। यो मामलामा धेरैले सम्झने कार्यक्रम हो रेडियो अन्नपूर्णको ‘मुक्तक यात्रा’। एक दशकभन्दा बढी समय देखि प्रशारण हुँदै आइरहेको कार्यक्रमका सञ्चालक हुन् कृष्ण देवकोटा र सरला लामिछाने।  

त्यसैगरी रेडियो वाराहीमा एक दशकभन्दा बढी समयदेखि रुपिन्द्र प्रभावीले चलाइरहेको कार्यक्रम ‘सृजना मञ्च’ले पनि मुक्तकलाई राम्रो स्थान दिइरहेको छ। अन्य रेडियोले पनि साहित्यिक कार्यक्रममा मुक्तकलाई स्थान दिइरहेका छन्।  टिभीमा शुन्यः छ, अनलाइन खबरहरूमा अलि–अलि स्थान पाएको देखिन्छ।
०३४ सालमा पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना पश्चात् मुक्तकको संस्थागत विकास भएको देखिन्छ। उसले गरेको ‘टिकटमा मुक्तक’ कार्यक्रमले संस्थागत गति दियो। परिवारले सञ्चालन गरेको समता काव्य सन्ध्या पनि मुक्तक वाचन गर्ने राम्रो मञ्च बन्यो। मुक्तक उन्नयनका लागि ०६५ सालमा मुक्तक मञ्च नामक संस्था गठन भयो। यसले हरेक महिनाको अन्तिम शनिबार मुक्तक वाचन गराउँछ। यसकोे १२८ औं शृंखला पूरा भइसक्यो। प्रतिष्ठानले पुस्तक प्रकाशन, परिचर्चा, गोष्ठी, कार्यशाला, अन्तरक्रिया, एकल वाचन, मुक्तक महोत्सव जस्ता गतिविधि गर्दै आएको छ। अन्य संस्थाले पनि बेलाबेलामा मुक्तक गतिविधि गरेर पोखरेली मुक्तकलाई नयाँ उचाइ दिएका छन्।
नेपाली साहित्यमा सर्वप्रिय विधाका रूपमा मुक्तक रहेता पनि पुस्तक प्रकाशनको अवस्था सन्तोषजनक देखिँदैन। प्रकाशन गृह पनि आर्कषित भएका छैनन्। आफैंले प्रकाशन गर्ने र उपहार स्वरूप बाँड्ने प्रचलन छ। पछिल्लो समय केही सुधार आएको पक्कै छ। मुक्तक संग्रह पनि किनेर पढ्नुपर्छ भन्ने मानसिकता विकास हुँदैछ।
मुक्तकलाई स्तरिय बनाउने र गति दिने कर्ममा मुक्तककार लागिरहेका छन्। यस्तै प्रयासले नेपाली मुक्तकलाई छुट्टै विधाकारूपमा स्थापित गराएको छ। समग्र नेपाली लेखनले बलियो रूप ग्रहण गरिरहेको छ। प्रभावकारिता र गुणस्तरीयताका हिसाबले पोखरा अग्रस्थानमा अभिएको छ। यो सान हामीले जोगाइराख्नु पर्छ।  
उट्पट्याङ लेखनले मुक्तकको असलीपनमाथि धक्का दिन्छ। अबका स्रष्टालाई तुक्तक लेख्ने छुट छैन। कम्तिमा एकपटक मुक्तक के हो भन्ने जानकारी लिएर लेख्नुपर्छ। अर्कोतर्फ चार पंत्ति भएपछि र तुक मिलेपछि मुक्तक बन्छ भन्ने भ्रम पनि छ कतिपयमा। चार पंक्ति हुँदैमा वा तुक मिल्दैमा मुक्तक बन्दैन।
पोखरालाई ‘मुक्तकको सहर’ भनिरहेका सन्दर्भमा हामी सचेत बन्नैपर्छ। निरन्तर अध्ययन र गहन साधना गर्दै आगामी दिनमा मुक्तकलाई अझ परिष्कृत पार्दै सिंगो नेपाली मुक्तकमा नयाँ आयाम दिन जिम्मेवारी निवार्ह गर्नुपर्छ। यो अभिभारा पोखरेलीको काँधमा छ।

टिकटमा मुक्तक
विजय वजिमय

वानिरा गिरीले रसिया जाँदा त्यहाँ टिकट काटेर कविता सुनेको कुरा रूपरेखा भन्ने पत्रिकामा पढेपछि मेरो मनमा पनि त्यस्तै कार्यक्रम गर्ने सोच आयो। मैले सरुभक्त, तीर्थ श्रेष्ठ, विनोद गौचन, नवराज कार्की लगायतका साथीसँग प्रस्ताव राखें। अनि हामीले टिकटमा मुक्तक कार्यक्रम गर्‍यौं ०३५ माघ २० गते। टिकट मुल्य दुई रूपैयाँ थियो। करिब ४० स्रष्टाले मुक्तक सुनाएका थिए।

उत्कृष्ट रचना
कृष्ण देवकोटा

पछिल्लो पुस्ता मुक्तकमा यसरी खारिँदै छ कि भूपीका मुक्तकसँग प्रतिस्पर्धा गर्न लायक सृजना गरिहेका छन्। मचाहिँ मुक्तकमा तानिनुमा धेरै कारण छन्– मुक्तकले एक निमेशमा पाठक, स्रोता र दर्शकलाई सोचमग्न बनाउँछ। यसैले मलाई मुक्तकप्रेमी बनायो। म प्रायः जिवन्त रहने खालका मुक्तकको खोजीमा रहन्छु र मान्छेलाई सोचमग्न बनाउन सक्ने मुक्तकीय धर्म हामीले निर्वाह गर्नुपर्छ।

मोहनी लगायो
सरला लामिछाने ‘सरु’

साहित्यप्रति रुचि राख्ने क्रममा नै मुक्तकले मलाई मोहनी लगाएको हो। छोटो, चोटिलो र स्रोता वा पाठकले सुन्दा मज्जा मानेको देखेर नै मुक्तकतिर लगाव बढेको हो। मुक्तकमा नारीको उपस्थिति बिस्तारै बढे पनि पुरुष लेखक संख्याको तुलनमा कम छन्। तर, महिलाको लेखन स्तरीय देखिन्छ। विवाहपछि नारी स्रष्टा पलायन हुने क्रमले पनि समस्या पारेको छ।






यसमा तपाईको मत

अन्य समाचार

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख  हस्तान्तरण

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशन द्वारा रु एक लाख हस्तान्तरण। ...

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। ...