coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

झूल

विवश बस्ती
आकाशमा केही अंश बादल उडिरहेका छन्। बाँस झ्याङनिर खटिया ठड्याइएको छ। रित्तो छ, खटिया। बाँसको झ्याङमा भने आक्कलझुक्कल सारौंको बथान आएर बस्छ र कराउँछन्, उद्दिग्न हुँदै। खटियामा दुब्लो–दुब्लो र क्रमशः बुढ्यौलीले गाँज्दै लगेका शरीर बिसाउँदै सोम्ना बिँडी सल्काउन व्यस्त देखिन्छन्।

‘सर्खारले राम्रै काम गरेको छ।’ बिँडीको प्राथमिक सर्को तानेपछि उत्पत्ति भएको खोकीलाई रोक्दै सोम्नाले भने र उदास आँखा पल्टाउँदै दक्षिणतिर लमतन्न पसारिएको चुरेका बामपुड्क शृंखलातिर हेरे। ‘के राम्रो काम दाइ ?’ उनीसँगै बिँडी तान्न व्यस्त कुम्भलालले सोधे, ‘यसपालिबाट फेरि भत्ता बढाउने रे। पान सय रुप्या थप्ने रे, अब। त्यसलाई राम्रो भन्नु भा’हो ?’

‘त्यो भत्ताको कुरा त छँदैछ, त्योभन्दा पनि अर्को राम्रो काम सर्खारले गर्‍यो।’ सोम्नाले अनुहारमा प्रफुल्लता भित्र्याउँदै भनेर नजिकैको मचानमा झुन्ड्याइरहेको एउटा झूलतिर औंल्याउँदै भने, ‘यो झूल दिएर सर्खारले हाम्रो उद्दार गरेको छ। यो झूल पाएपछि त...।’

‘के, झूल पाएपछि के भएको हो, त्यस्तो ?’ ‘माछा।’ सोम्ना हाँसे। ‘हो, टन्नै माछा खाना पाइरहेका छौं। यो झूलले हाम्रो राम्रो उद्दार गरेको छ।’ कुम्भलाल पनि हाँसे र थपे, ‘हो, सर्खारले राम्रो काम गरेको छ।’ दुवै जना हाँसे। बाँस झ्याङमा सारौंको कल्याङकुलुङ सुरु भयो।

यो गाउँको नाम हो– झुँगा। कमला नदीभन्दा उत्तरी भूभाग, चुरे पहाडको शृंखलाभन्दा मुनि अवस्थित यो गाउँमा दनुवार जातिको बाहुल्य छ। वर्षौंदेखि बस्दै आएका हुन्, उनीहरू। औंलो उन्मुलन हुनुभन्दा पनि धेरै वर्षपहिले। झुँगा मात्र होइन, कमला नदीको दायाँ–बायाँ यस्ता दर्जनौं बस्ती छन्, जहाँ उनीहरूको बसोवास छ। अब त इतिहास जान्ने केही वृद्धवृद्धा मात्र छन्, उनीहरूका वीर संघर्षका यावत् कथाहरू अझै सुन्न सकिनेछ। औंलोको प्रकोप, बाघ–भालुको डर, बिच्छीको डसाइ– उनीहरूका कथाका मुख्य शृंखला हुन्।

सत्यलाल अझै जीवित नै छन्। ‘कति पुग्नु भो बा ?’ कसैले यस्तो प्रश्न गर्दा उनी हर्षित हुँदै भन्छन्, ‘सय पुगेको त परारै हो। एक सय दुई भएँ कि ?’ ‘औंलोबाट कसरी बँच्नु भो ?’ ‘धेरैलाई लग्यो, ज्यानमारा औंलोले। मैले नि पहिलाकी बूढी औंलोकै कारण गुमाएँ। तर, मैले भने घरेलु ओखती खाएर औंलोलाई भगाएँ। दुःख भोग्न लेख्या रै’छ, यतिका वर्ष बाँचेँ।’ सत्यलाल सदैव सत्य मात्र बोल्छन्– जस्तो नाम, उस्तै बोली–बचन।

माछा, अहाँ माछा। माछा भनेपछि हुरुक्कै हुन्छन् उनी। उज्यालो हुनेबित्तिकै नातिहरूलाई अर्‍हाइहाल्छन्, ‘माछा मार्न जाओ न, तिमेरु। आज असाध्यै माछा खान मन लाग्यो।’ ‘धेरै माछा नखानु होला, काँडा अड्किएर मर्नु होला नि।’ नातिहरू ठट्टा–मजाकमा रमाउन चाहन्छन्।
‘मर्छु, मुला।’ उनी जवाफ दिन्छन्। शतायू कटाइसके पनि उनी कान भने प्रष्टै सुन्छन्। तर, आँखा भने धमिलो देख्न थालेको एकाध वर्ष नै भयो।

बेलुकीपख फुदुङ्नाभरि माछा बोकेर बिसे फर्कियो। उसले आँगन छेऊ फुदुङ्ना बिसाउनेबित्तिकै सोम्नाले कुनै धैर्य नसाँची, कुनै भूमिका नबाँधी सोधिहाले, ‘तैंले कसैलाई झूल दिइस् कि क्या हो ? तीन्टा झूल नै छैन त।’

चार वर्षअघि गाउँमा उत्पातै भयो। सबैले गाउँकै स्कुलमा आ–आफ्नो स्वास्थ्य परीक्षण गराए। एक दिन हो र, तीन–तीन दिनसम्म गाउँमा सहरबाट आएका डाक्टर, नर्स बसे र सबैको स्वास्थ्य परीक्षण गरे। बरु मैनी बजारमा त्यति ठूलो भेला लाग्दैन अचेल। तर, स्वास्थ्य शिविरमा भने धेरै मानिसहरू ओइरिए। सबैको रोग पहिचान भयो र झोलाका झोला ओखती पाए। ‘तपार्इँको बिमारी पत्ता लगाउन सकिएन। हामी हाम्रो अस्पतालमा ल्याब टेस्ट गरेपछि पत्ता लगाउँछौं।’ शिविरमा जाँचेकै बेला सोम्नाकी पत्नीतिर हेर्दै चिकित्सकले भने।
‘अहिल्यै भन्न मिल्दैन, डक्टर सा’प ?’ सोम्नाले सोधे।

‘ल्याबमा नै टेस्ट गर्नुपर्छ। त्यो अहिले हामीसँग छैन।’ चिकित्सकले शान्त पारे। सोम्नाकी पत्नी केही वर्षयता कमजोर र शिथिल बन्दै गएकी थिइन्। न खाना रुच्थ्यो, न राम्ररी निदाउन नै सक्थिन्। बरु राति सुत्दा निन्द्रामा नै बर्बराउँथिन्। दुब्ली र पातलीसमेत भइसकेकी थिइन्। एकाध पटक सोम्नाले खुट्टेपानीको स्वास्थ्य चौकीमा लगेर जँचाएका हुन्। तर, उनको बिमार झन्झन् उँभो लाग्दै थियो।

एकाध महिनापछि चिकित्सकले रिपोर्ट दिँदै भने, ‘तपाईंकी जहानलाई नयाँ खालको मलेरिया लागेको रहेछ। यो नयाँ रोग हो। यसको औषधि पाइँदैन।’
‘ए, रोगथामका लागि कुनै उपाय छैन, डाक्टर सा’प ?’
‘तपाईंहरू राति सुत्दा झूल लगाउनु हुन्छ कि हुन्न ?’
‘अहँ, अहिलेसम्म लगाएका छैनौं। आवश्यकता नै परेन।’
‘अबदेखि झूल लगाएर सुत्ने गर्नुस्। लामखुट्टेको रोकाइबाट बच्नुहुनेछ। यो रोग लामखुट्टेको टोकाइबाट नै हुने हो।’ चिकित्सकले सुझाव दिँदै भने, ‘तपाईंकी जहानलाई जुन रोग लागेको छ, यो नितान्त नयाँ रोग हो। हामी यस नयाँ रोगबारे चाँडै नै पत्रकार सम्मेलन गरेर सबैको ध्यानाकृष्ट गराउँछौं।’
सोम्ना विश्वस्त देखिए।

एकाध महिनापछि राष्ट्रिय स्तरको एउटा समाचार पत्रले एउटा मार्मिक समाचार–कथा छाप्यो। जुन त्यही भेगको सीमान्तकृत वर्गको स्वास्थ्य समस्यासँग जोडिएको थियो। अर्थात् ती चिकित्सकको हवाला दिँदै समाचार लेखिएको थियो, ‘१४, भदौ कमलाखुँज। मधुवती दनुवारको अनुहार अझै खुल्न सकेको छैन। उनको दिनचर्या घरको पिढीमा ओछ्याइएको गुन्द्रीमा बसेर नै बित्छ। न राम्ररी खान सक्छिन्, न हिँड्डुल नै गर्न सक्छिन्...।’

असारको दोस्रो साता गाउँमा सञ्चालित स्वास्थ्य शिविरमा उनले जचाउँदा चिकित्सकहरूले उनी नयाँ रोगको सिकार भएको बताएका थिए। केही दिनअघि मात्रै उक्त शिविरमा सहभागी जनकपुर अञ्चल अस्पतालका डा. अवधेश ठाकुरले बताए, ‘कमलाखुँज क्षेत्रमा नयाँ किसिमको मलेरियाको बिमारी भेटिएको छ। हामीले मलेरिया रोग नियन्त्रण भएको भन्दै आए पनि त्यही रोग नयाँ र अझ जटिल भएर देखिएको छ। उक्त रोगको अहिलेसम्म कुनै औषधि निस्किएको छैन। यसमा राज्यले गम्भीर चासो लिनुपर्छ।’

डा. ठाकुरले पत्रकार सम्मेलनमा भने, ‘उक्त भेगका बासिन्दाहरू धेरै गरिब छन्। उनीहरू एउटा झूलसमेत किन्न सक्ने हैसियतमा छैनन्। कसैका घरमा पनि झूल छैन र उनीहरू लामखुट्टेको टोकाइबाट बँच्न सकिरहेका छैनन्।’ त्यो समाचार छापिएको केही हप्तापछि झुँगा र त्यस वरिपरिका गाउँको दृश्य नै बेग्लै थियो। गाउँमा नयाँ–नयाँ अनुहारका दर्जनौं मानिसहरूले पाइला टेकेका थिए र उनीहरूले सयौं थान झूलसमेत लिएर आएका थिए।

‘हामी तपाईँहरूको दयनीय अवस्था सुनेर धेरै चिन्तित भयौं। तपाईँहरूसँग एउटा पनि झूल नभएको कुरा थाहा पायौं। त्यही भएर हामी तपार्इँहरूकहाँ झूल वितरण गर्न आएका हौं।’ यस्तै शब्द ओकल्दै गाउँमा मानिसहरूको ओइरो लाग्न थाल्यो। हरेक दिन झूल लिएर आउनेहरूको लर्कोले गाउँको डगर पनि मडारियो। हरेक दिन डगरमा नयाँ–नयाँ मानिसका पाइला पर्दै गए।

सबैको घर झूलले भरिन पुग्यो। एउटा मात्र हो र, दर्जनौं झूल पाए उनीहरूले। कुम्भलालले सोम्नासँग दुःखेसो नै गर्दै भने, ‘हामीले त एक–दोटा झूलको आश गरेका थियौं। तर, घर नै झूलले भरियो। यति धेरै के गर्ने हो, अब ?’

‘हो, साँच्चै अब के गर्ने होला ?’ सोम्नासँग पनि कुनै उपाय थिएन।
‘के गर्ने होला ?’
‘खै, के गर्ने होला, होला।’
कुम्भलालले भने एक्कासी एउटा रहस्य खोल्दै भने, ‘दाइ, मैले त त्यो झूलको हिजोदेखि सदुपयोग गर्न थालेको छु। मैले त डोकोमा छोपिएको कुखुरालाई समेत झूल टाँगिदिन थालेको छु।’
‘त्यस्तो त गर्नुभएन नि।’ सोम्नाले आपत्ति जनाए।
‘धेरै भएपछि के गर्नु त ?’ कुम्भलालले लाचारी दर्साउँदै भने। त्यसपछि भने दुवै जना उन्मत्त ढंगले हाँस्न थाले। पेटभित्र सञ्चित वायुसमेत वायु मण्डलमा फैलिने गरी हाँस्न थाले, दुवै जना।
हाँस्दा–हाँस्दै कुम्भलालको त आँखा नै रसायो।

अर्को वर्षको परिदृश्य अर्कै थियो। अर्को वर्ष सरकारले सकुशल घोषणा गर्‍यो, ‘अबदेखि हरेक घर परिवारलाई आवश्यकताअनुरूप सरकारले नै निःशुल्क झूल वितरण गर्नेछ।’  हरेक वर्ष झूल पाउने कुराले दनुवारहरूको बस्तीमा खुसीको लहर छायो। किनभने, त्यो झूल एक वर्षभन्दा टिक्दैनथ्यो। अझ, मुसाको सक्रियता बढ्दा त झूलको अस्तित्व नै धरापमा पथ्र्यो। धुजा–धुजा हुन्थ्यो, झूल र त्यसलाई फ्याँक्नुबाहेक अरु उपाय बाँकी रहँदैनथ्यो।

‘अचेल त बिसेले टन्नै माछा ल्याउन थाल्या छन्।’ बाँस झ्याङनिरको खटियामा सुस्ताउँदै सोम्नाले भने। बिसे अर्थात् उनको ज्येष्ठ सुपुत्र। माछा मार्नमा पारंगत ठहरिँदै आएको छ, यो गाउँमा ऊ। ‘ए, हो र ?’ कुम्भलाल चकित देखिए।

‘हिजो मात्रै एक पाथीजति ल्याएको थियो, त्यल्ले। एक पाथी त बजारमा नै बेच्यो रे। माछा बेचेरै उसले अचेल औधि पैसासमेत कमाउन थालेको छ। घरमा नुन–भुटुन उसले नै पुर्‍याइरहेको छ।’ सोम्नाले आफ्नो सुपुत्रप्रति गर्व गर्दै भने र अनुहारमा खुसीको चमक उमारे।
‘कमलामै मार्‍या हुन त ?’

‘अँ, कमलामै हो।’
‘कमलामा त्यति धेरै माछा छन् र भन्या ? कि करेन्ट लगाएर मारेको हो, त्यल्ले ?’ केही क्षण अड्किँदै कुम्भलालले भने, ‘कमलामा त करेन्ट लगाउन पाइँदैन, क्यारे। कसरी त्यति धेरै माछा मार्न सके होलान् ?’ ‘त्यहीं त भन्या, म पनि छक्क पर्‍या छु।’ सोम्नाले चुरोट सल्काउँदै भने, ‘यो तेसैले हिजो किनेर ल्याइदिएको हो।’ चुरोट तान्दातान्दै सोम्नाले बेस्सरी खोके। भर्खरै मात्र बाँस झ्याङमा सुस्ताएका चराहरू भुर्र उडे र बाटोभन्दा उत्तरतिरको अर्को बाँस झ्याङमा गएर सुस्ताए।

एक दिन सोम्नाको आँखा घरभित्र झूल राखिएको ठाउँमा पर्‍यो। त्यहाँ उनले बढी भएका झूलहरू चाङ लगाएर राखेका थिए र अर्को वर्ष झूल दिएन भने त्यहीं झूल प्रयोग गर्ने विचारसमेत गरेका थिए, उनले। ‘हैन, मैले राखेको जति झूल त छैन नि। कसरी हरायो ? कसले लग्यो होला ?’ सोम्नाले झूल गन्दै आश्चर्य प्रकट गरे। उनले राखेको ठाउँबाट तीन थान झूल सौभाग्यवस गायब थिए।

सोम्ना बाहिर निस्किए र बिमारीले थिल्थिलो पारेको स्वास्नीलाई सोधे, ‘तीन वटा झूल नै छैन त। तिम्लाई केही थाहा छ ? कसरी हरायो होला, त्यति झूल ?’ स्वास्नी केही बोलिनन्, मात्र टाउको हल्लाएर आफू पूर्णतः अनभिज्ञ रहेको संकेत गरिन्।

‘कहाँ गयो त त्यत्रो झूल ?’ सोम्ना बर्बराउन थाले, ‘भरे बिसे आएपछि सोध्नु पर्ला। त्यसले कसैलाई दियो कि ?’ बेलुकीपख फुदुङ्नाभरि माछा बोकेर बिसे फर्कियो। उसले आँगन छेऊ फुदुङ्ना बिसाउनेबित्तिकै सोम्नाले कुनै धैर्य नसाँची, कुनै भूमिका नबाँधी सोधिहाले, ‘तैंले कसैलाई झूल दिइस् कि क्या हो ? तीन्टा झूल नै छैन त।’

बिसे चुपचाप रह्यो। ‘सुनिनस् ? तीन्टा झूल नै छैन भन्या। तैंले कसैलाई दिएको त छैनस् ?’ सोम्नाको स्वर झन् उँचो बन्दै गयो।
‘बाउ, तिम्लाई के ढाँट्नु ?’ ‘भन्न त नढाँटीकन।’

‘त्यो झूलले त अचेल मारिरहेको छु मैले।’ बिसेले बाउको आँखातिर हेर्दै भन्यो, ‘झूलमा माछा मार्न थालेपछि त कति धेरै पर्दो रहेछ। ह्वारह्वार्ती पर्दो रहेछ, माछा।’ ‘फटाहा।’ सोम्नाले गर्जिदै भने, ‘झूल कहाँ हरायो भनेको त यल्ले माछा मार्न पो लगेको रहेछ। अरुले थाहा पाए भने के भन्लान् ? अनुदानमा आएको झूलमा माछा मार्दा अरुले थाहा पाए भने के भन्लान् ? के गर्लान् ?’

‘कसैले केही पनि गर्दैन, बा। अचेल सप्पैले त्यही झूलमा माछा मार्छन्। हामीले मार्दा कसले के गर्छ ?’ बिसे दृढ देखियो, ‘त्यही झूलमा माछा मार्न थालेपछि त माछा बेच्न पाइएको छ, अघाउँजी खान पाइएको छ। हामीलाई त सर्खारले निःशुल्क झूल दिएर उद्दार गरेको छ, बा।’

सोम्नाले सुपुत्रसँग थप विवाद गर्न उचित देखेन। त्यो वादविवाद प्रतियोगितालाई त्यहीं नै समापन गर्न चाहे उनले। छोरासँग विवाद गरे भोलिदेखि घरमा माछा नआउँला, माछा बेच्दा आएको पैसाले नुन, तेल नकिनिएला र कहिलेकाहीँ आफूलाई चुरोट नआउँला भन्ने मनमनै सोचे, उनले।

छोरा घरभित्र छिरिसकेको थियो। सोम्नाले भने पूर्वतिरको डाँडाबाट उदाउँदै गरेको जूनतिर हेर्दै लामो सास ताने र भने मनमनै, ‘जेहोस्, सर्खारले हाम्रो भलो गरेको छ।’ सोम्ना पनि घरभित्र छिरे।

प्रकाशित: ५ माघ २०७५ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App