यात्रा संस्मरण

बौद्ध र शैवीको बेजोड सद्भाव

शनिबार, ०५ माघ २०७५, ११ : ५० रवीन्द्र भट्टराई

110


पच्चीस वर्षअगाडि पाइलो हाल्दै सुवर्णभूमि विमानस्थल पुगेको थिएँ– ट्रान्जिटस्वरूप। विशाल समुद्रसँग टाँसिएको थाइल्यान्ड स्मृतिमा धुमिल छ– आकाशबाट देखिएजति। त्यही भूमिमा पुगियो– फरक लक्ष्य, योजना र बन्दोबस्तीसाथ पर्यटक भएर यसपल्ट। भिसा पाएपछि इलामको बतासेको हावाजस्तै मन–समुद्रमा खुल्दुलीका छाल चले। सहकारी संस्थाको मैत्री सघनतामा बाँधिएका ३१ जना थियौँ– भ्रमण टोलीमा। सन् २०१९ सुरु भएकै भोलिपल्ट नौ नबज्दै विमानस्थल गौचरमा कुँडुलिँदै मोबाइलबाट प्रस्थानपूर्वको जमघट प्रकाशचित्रमा बदलेर प्रस्थानक्रम सुरु भो थाइल्यान्डसम्मको।

ब्याङ्कक लाने विमान थियो– नेपाल वायुसेवाको वाइड बडी। प्रस्थानपत्र भर्नुपर्ने काम पनि एमआरपी लागू भएपछि मिसिनले नै पासपोर्टबाट खिचिदिहाल्दो रहेछ, ११ः४० मा त विमानमै भित्रियौँ। आफ्नै राष्ट्रिय ध्वजाबाहकबाट जाँदै गर्दा मेरोजस्तै अरूको पनि मन गद्गद भएको हुँदो हो। उडेपछि विमानभित्रको ठूलो र सिटपछाडिका लघु स्क्रिनमा थाइल्यान्ड पुगिने रूटको इसारा दिइँदैथ्यो। त्यसको ध्वनिवर्णन सुन्न मन पनि बिग्रेको भन्दै एयर होस्ट भाइहरूले एयरफोन दिएनन्। जनकपुर भारतको पूर्णिया, बङ्गलादेशको ढाका र म्यान्मारको याङ्गुन सहरको आकाश छिचोल्दै पाँच बज्दाबज्दैथ ाइल्यान्ड भित्रियौँ– विदेशी पर्यटक।

पथप्रदर्शनक पाटाङ चूले हामीलाई माइक्रोबसमा बसाए। करिब दुई घन्टाको रफ्तारी यात्रामा हामीले बैंककको सहरी र काँठका भौतिक पूर्वाधार र बसोबासको हल्का सनेस लियौँ। थाई चालक अंग्रेजी नबोल्ने, हाम्रा थुप्रै जिज्ञासा निरुत्तरताको भूँवरीमै हराए। आठ बजे साँझ हामी ब्याङ्ककबाट पताया पुग्यौँ र माइक गार्डेन रिसोर्टमा झिटीगुन्टा बिसायौँ।

पताया समुद्र–किनारको पर्यटकीय सहर हो। रात्रिकालीन चहलपहल विशेष हुन्छ, हेर्न निस्क्यौँ। समुद्रको किनार स्वाभावैले हाम्रो टोलीका धेरैलाई नयाँ अनुभव थियो। सबै भोकाएका थियौँ। जाँदाजाँदै एउटा भारतीय रेस्टुरेन्ट देखियो र छिरियो त्यतै खानपानका लागि। टोलीभित्र आपसमा नेपालीमै न कुरा हुने भो। कसकसले केके खाने हामी सल्लाह गर्न खोज्दै थियौँ। भारतीय रेस्टुरेन्ट भए पनि हामी हिन्दीमा कुरा नगरी अंग्रेजीमै खाना अर्डर गर्ने पक्षमा थियौँ। हाम्रा छेउमा मिनु लिएर अडर लिन दुई जना चेली आए– ‘हजुरहरू केके लिनुहुन्छ’ भन्दै। बोलीमा निख्खर नेपालीपन – हामीलाई आश्चर्य भो। भरे थाहा भो उनीहरू नेपाली मूलका बर्मेली रहेछन्। खानापछि मान्छेका व्यापारिक, साङ्गीतिक गतिविधिसाथको पर्यटकीय चहलपहलको अवलोकन गरियो। रमाइलो त के थियो भने हामी टोलीमा तीन वर्ष पुग्दै गरेकादेखि ७४ वर्षमा हिँड्दै गरेकासम्म थियौँ। पताया घाटको केन्द्र मानिने एउटा रात्रिकालीन पर्यटन बजार (ठमेलजस्तो) मा हाम्रो लस्कर हिँड्दा लाग्थ्यो – हामी पूरै नेपालको प्रतिनिधित्व गरिराखेका छौँ। रात छिप्पिएपछि होटल फर्केर विश्राम गर्‍यौँ।

कोही पौडने, कोही बालुवामा सूर्यस्नान गरिरहेका, कोही समूहमा बसेर खानेकुरा खाइरहेका, कोही बालुवामै खेलिरहेका। धेरैजस्तो अर्धनग्न, केही देखाउन नमिल्ने शरीरको भाग मात्र छोपेका। मानवजाति सर्वाङ्ग नै चैँ थिएन — पशु नहुनुको पहिचान स्पष्टै अनुभूत हुन्थ्यो।

दोस्रो दिनको सुरुआत विहान ७ बजेको प्रभातीय चमेनाबाट भयो – ब्रेकफास्ट (ब्रततोडिका)। कोठाबाट झिटीगुन्टा होटेलको पटाङ्गिनी (लबी) मा ल्याइसकेका थियौँ र तिनलाई त्यहीँ राखेर हामी गयौँ– समुद्र–किनार। घाम दुई जुवा भएको हुँदो हो, विशाल जलाशयको दृश्यावलोकन गर्‍यौँ– आँखाले भ्याएसम्म पानी नै पानी। घामको चम्किलो टक खुला आँखामा नपरोस् भनेर धेरै साथीहरूले चस्माको जोहो नेपालबाटै गरिसक्या रहेछ। नहुनेले चस्मा र घाम छल्ने छप्परे टोपी किन्दाकिन्दै हामी चढ्ने डुङ्गाको पालो लागिगयो।

कोरल द्वीप लाने भनिएको थियो। फेरि मिसिन नाउमा चड्यौँ। समुद्रको पानीमा हावाले छाल बनाइरहेको थियो र अनगिन्ती छालसँग ठोक्किँदै डुङ्गा अगाडि बढ्यो। डुङ्गाको पङ्खाले हुत्याएको र छालउठेको पानीको बेलाबेला गज्जब टक्कर पर्दथ्यो र कृत्रिम वर्षाजस्तो भएर छिटा हामीसम्म आइपुग्थे। केही छिटा ओठमा परे – हेर्दा त्यति सङ्लो पानी अबुई कति चर्को नुनिलो ! समुद्रको पानी अपवित्र हुन्छ भन्ने मिथक त्यतिकै बनेको हैन नि। पानीका छालमा ठोक्किँदै डङडङ गर्दै डुङ्गा चक्कराएको करिब एक घन्टामा पर ससाना पोथ्रा भएका हरिया थुप्राहरू देखिए– टापु अर्थात् आइल्यान्ड। एउटा टापुमा डुङ्गा किनारा लाग्यो। हामी ओर्लियौँ। पर्यटकको भीड चर्को थियो। पथप्रदर्शकले सङकेत झन्डा ठड्याए– त्यहीँ गोलबन्द भयौँ। टापुको पदयात्रा सुरु भयो। हेर्दा टापु अग्लै भए पनि हिमालका काखका चुरे महाभारत गरेकालाई त के र ? नेपाली पर्यटक ताँती अगाडि बढ्यो।

टापुका बीचमा घाँटी रहेछ, त्यसलाई छिचोलेर केही ओरालो गएपछि समुद्र–किनार देखिइहाल्यो। हामी समुद्रसँग खुला भएर नजिकिँयौँ। आहा ! कति सफा पानी ? किन्नर पानी, सेतो बालुवा सेतै दर्शनढुङ्गा– बालुवासँग घोलिए पनि धमिलोपन नै थिएन। साथीहरू समुद्रमा पौडिन हौसे। हामी दम्पती पौडिने योजनामा थिएनौँ। रोमाञ्चक जलक्रीडाका फोटो खिचेर क्रीडकलाई उमङ्गित गर्नुको मजै अर्को– हामी त्यतै लाग्यौँ। एक घन्टाको जलबिहारपछि टोली फर्कियो पताया घाट। डुङ्गाका चालकचाहिँ सारै रूखा थिए। उनले बोलेको अंग्रेजी कटु शासकीय थियो– लाग्थ्यो उनी जलयात्राका तानासाह हुन्। सहरका गगनचुम्बी भवनहरू हिउँदमा डाँडाको बाँसघारी बतासले हल्लाएझैँ हल्लिएको देखिन थाले। भवन त किन हल्लन्थे र? समुद्रमा हावाको चाप तीव्र हुँदै गर्दा छालहरू झन् अग्लाअग्ला हुँदै लामालामा फड्का मार्दै थिए। डुङ्गाचालक र सहयोगी निकै आत्तिएका थिए, भन्दै थिए– ‘हावाको चाप एक दमै चर्को भो, हामी छिटोछिटो डुङ्गा अड्याउँछौँ, छिटोछिटो ओर्लनुहोला।’ निर्देशन पालनाको विकल्प थिएन।

एउटा चट्टानमाथि बुद्धका सासाना मूर्तिहरू जडान गरिएका छन्। चट्टानको एउटा भागमा त्यसैलाई काटेर बनाइएको पाषाण शिवलिङ्ग बुद्धको मूर्तिभन्दा अग्लो छ। शिवलिङ्ग स्पष्ट छ लिङ्गाधारमा रहने शिवाको नालचाहिँ छैन। जेहोस् बौद्ध र शैवीहरू बेजोड सद्भाव र सहिष्णुताको द्योतक भने पक्कै हो।

दिउँसोको स्वयंपस्के (बफेट) भोजनको व्यवस्था पतायाकै चमेनागृहमा थियो। त्यहाँ पनि भेटिइन् एक बर्मेली  ऋतु अधिकारी। तिनले लमजुङ भोर्लेटारका दाजुको फोटो देखाउँदै नेपाल आउने रहर खोलिहालिन्। हामीले स्वागतका मीठा वचन पस्कयौँ। फेरि ब्याङ्कक जाने क्रम– होटल गयौँ। पटाङ्गिनीमा हाम्रा गुन्टाले प्रतीक्षा गरिरहेका थिए। होटलको वाईफाई सदुपयोग गर्दै सञ्चारसम्पर्क घनीभूत भैगो। साथीहरूका फोटाले फेसबुकमा भित्ता रङ्गिए।

ब्याङ्कक चलान हुन दस जना एउटा माइक्रोबसमा चढ्यौँ– अलिक रहुसेरहुसे चाहिँ परिएछ। होटलबाट शूचीनिची गरिवरी नै निस्केका हाम्रा दुई सहयात्रीलाई खै के भो लघुशङ्काले च्यापिहालेछ। चालक अंग्रेजी नबुझ्ने, परेन फसाद। इसारा गरेको उसले के बुझ्यो कोनि ‘हाइवेहाइवे’ मात्र भन्यो। धेरैजनाले गरेको इसारा बुझेर उसले अलिक निर्जन ठाउँमा गाडी रोकेर राहत दियो। राहतपछि सबै ताजा भए अनि लोकगीत, अन्त्याक्षरी र दोहोरी गाउँदै डोन मुङ अन्तर्राष्ट्रिय विमानस्थल ब्याङ्कक पुग्यौँ।

हामीलाई फुकेट जानु थियो। त्यो त थाइल्यान्डको सबैभन्दा चर्चित र महँगो पर्यटन सहर। थाइलिओन एयरबाट रातको पौने ११ बजे उड्यौँ। मौसम त्यति अनुकूल थिएन। जहाज हल्लिइनै रह्यो र पेटी नखोलीकनै एक घन्टा तीस मिनेटको हवाई यात्रा पूरा भो। विमानस्थलबाट बाहिर निस्कँदा विहानको साढे दुई भइसकेको थियो। हामीलाई पाटोङको होटल लैजान माइक्रोबस तम्तयार थिए। त्यहाँकी पर्यटन सहयोगीले फिफी आइल्यान्डको गन्तव्य प्रतिकूल मौसमका कारण बन्द भएको सूचना दिइन् । हामी फतक्कै भयौँ। फिफी आइल्यान्डसम्मको जलयात्रा र त्यहाँको मनोरम दृश्यावलोकनको हुटहुटीले त हामी फुकेटको पाटोङ जाँदै थियौँ।

एक घन्टाजतिमा फुकेटबाट पाटोङ पुग्यौँ। पाटोङ लज होटलमा बासको बन्दोबस्त थियो। बास के भन्नु केही घन्टाको आरामको बन्दोबस्त। त्यहाँ पुग्दा बिहानको चार बजिसकेको थियो। हामी सुत्यौँ। बिउँझिँदा आठ बजिसकेको भए पनि हामीलाई कुनै चिन्ता थिएन किनभने फिफी जाने कुरै रहेन। बिहानीको चमेना गरियो। होटेलको कुरा उही– १२ बजे कोठा छाडिसक्नुपर्ने। फेरि गुन्टा ल्याएर पटाङ्गिनीमै थुपार्‍यौँ।

हामीलाई सिटी टुरमा लैजान माइक्रो भ्यान आए। पाटोङ समुद्र–किनारापटिको बाटोबाट हामीलाई एउटा समुद्रको दृश्यावलोकन गर्ने अग्लो चुलीमा लगियो। त्यो चुलीबाट समुद्र किनारा र विशाल जलाशयमा उठ्दैबस्तै गरेका पानीका छाल हेर्‍यौँ। टाढाको समुद्रमा पानीका अग्लाअग्ला छालका लहर बढो मनोरम देखिन्थे। कस्तो भने पहाडमा घाम लागेको बेला जसरी जस्ता लगाएको बाक्लो बस्तीका घरका छाना पारीपट्टिबाट घाममा टल्कन्छन् त्यस्तै। बेलाबेला उकालोमा जस्ता बोकेका भरियाहरू हिँडेको दृश्यसँग त्यो सादृश्य हुँदा त्यही पो हो कि भन्ने भान पर्दथ्यो । अरू बेला त्यहाँ अनेकन् जहाज र डुङ्गा सक्रिय हुँदा हुन तर त्यस दिन प्रतिकूल मौसमका कारण ती केही थिएनन्।

त्यसपछि बौद्ध गुम्बाको दर्शनार्थ लगियो। मूल गुम्बा निकै अग्लो रहेछ। अरू सानासाना। हामीले परिसरमा मात्र अवलोकन गर्‍यौँ। त्यो अवलोकन सकेर हामी त्यहाँको रैथाने कलाका उत्पादनको बिक्री कक्षमा पुग्यौँ। सामान्य अवलोकन गरेर हामी फर्कियौँ। हामीलाई गाडीले हाम्रा गुन्टा रहेको होटलभन्दा सात मिनेट टाढा समुद्रको किनारमा छाडिदिए र भने– अब होटल पैदल जान सक्छौ। हामी जमिन र समुद्रको सङ्गमतिर टहलियौँ। पर्यटकहरू प्रशस्त– कोही पौडने, कोही बालुवामा सूर्यस्नान गरिरहेका, कोही समूहमा बसेर खानेकुरा खाइरहेका, कोही बालुवामै खेलिरहेका। धेरैजस्तो अर्धनग्न, केही देखाउन नमिल्ने शरीरको भाग मात्र छोपेका। मानवजाति सर्वाङ्ग नै चैँ थिएन— पशु नहुनुको पहिचान स्पष्टै अनुभूत हुन्थ्यो।

टोलीमा गोपाल पोखरेल सर हुनुहुन्थ्यो– नेपाली भाषाका गुरु। उहाँलाई भिडियो खिच्न मन लागेछ। दृश्यावली कैद गरिहाल्नुभो। कैद पनि खुला कारागारजस्तो भो नि भिडियो नै खिचेपछि। सबै पात्रका चलायमान गतिविधि फराकिलो गरी श्रव्यदृश्यमा समेटिए । मलाई पनि सोध्नुभो र प्रतिक्रिया दिएँ – जुन उमङ्ग थियो त्यहाँ त्यही झल्काउँदो गरी।

सडकपेटीमा ठेलामा खानेकुरा बेच्ने व्यापारीहरू खाना, फलफूल र सौगात सामग्री किनिदिन आग्रह गर्दै थिए। माछा, कुखुरा, पोलेको र उसिनेको मकै र फलफूल पाइने भएकाले हाम्रो टोलीकाले इच्छाअनुसारै फलफूल मकै र माछामासु खाए। समुद्रमाथिको आकाश कालोमैलो भयो। हावाको चाप तीब्र बन्दै गयो, पानी छिटाउन थाल्यो। पसलेहरूले हतारहतार तिनको गाडापसल बन्द गर्दै थान्कोतिर लाग्न थाले। हामी हतारिँदै होटल फर्कियौँ।

बाहिर पानी परेको छ। होटलको पटाङ्गिनी साँघुरोसँघुरो – ३१ जनाका गुन्टापोकापुन्तुरा असरल्ल। चेकआउट भएका ग्राहकलाई वाईफाई पासवर्ड नदिने रुग्ण र लुब्ध चेतनाग्रस्त होटल व्यवस्थापन। मध्यरातको रात्रिकालीन उडानको प्रतीक्षा ! त्यहाँको बसाइ हाम्रा लागि पट्यारलाग्दो नभएर कहाँको हुनु ? छाता सबैसँग छैन। भोक पनि लागेको छ। मोबाइल रिचार्ज गर्न पनि पर्याप्त जुका (प्लग) पटाङ्गिनीमा छैन।

पानी बिदो भयो। बजारतिर निस्कने निधोमा पुग्यौँ। केही साथी मालिस (मसाज) गराउने पसलतिर जाने, केही सहर घुम्ने र केही खानपिन गर्ने भन्दै निस्कियौँ। केही अगाडि जमिनपट्टिको सहर छिर्ने गल्छेडोँ देखियो। गल्छेडाँतिर छिर्न लाग्दा पानी फेरि दर्किइहाल्यो। एउटा डिपार्टमेन्टल स्टोरअगाडि उभिएर ओतियौँ। थप दुई घन्टा त्यही लबीको कस्टमा बिताउनुथियो। साढे नौमा हामी फुकेटका लागि चलान भयौँ।

निद्रा बिथोलिएको दुई दिन नाघेको हुनाले प्लेन चढेपछि निदाइहालिएछ। बेलाबेला जहाज धेरै हल्लन्थ्यो। ब्याङ्कक आइपुग्दासम्म सिटबेल्ट साइन अफ भएन। थाइलिअन एयरचाहिँ कन्जुसी (इकोनोमी) उडान रहेछ – पानी पनि किनेर खाओ भन्ने।ब्याङ्कक झरेपछि चुसँग भेट भो। अघिल्ला दुई दिनमा उनले हामीलाई उनको सहयोगी भावना र शैलीको परिचय दिइसकेका थिए। हामी बाइयोक बुटिक होटलमा गयौँ। बिहानको चमेनापछि हामी ब्याङ्ककका दुई प्रसिद्ध ठाउँ घुम्न तयार भयौँ।

पथप्रदर्शक चुले पहिला सहरको मध्यभागमा रहेको एउटा बुद्ध मन्दिरमा लगे। लामाहरू बुद्धवचनको पाठ गरिरहेका थिए। भाषा हामीले मेसो पाउने नभए पनि अन्त्यानुप्रास मिलेका कारण बौद्ध वा स्वयम्भूतिरैको ध्वनि रुन्किएजस्तो भान हुन्थ्यो। त्यसपछि सहरका विभिन्न सडक पार गर्दै हामीलाई लगियो गोल्डेन टेम्पल। बुद्धको सबैभन्दा ठूलो मूर्ति कहाँ छ ? यो प्रश्न जीवनमा निकै पटक पाइएकै हो र जबाफ पनि दिइएकै हो। त्यो प्रश्न फेरि झल्याँस्स भो – त्यहाँ पुगेर बुद्धको पूर्ण कदमा सुतेको सुनौलो मूर्ति देखेपछि। लुम्बिनीमा जन्मेका बुद्धको यहाँ यत्रो मूर्ति ? नेपाली हुनुको नाताले होला हाम्रो छाती ढक्क फुलेको थियो।

सुनौलो मन्दिरको परिसरमा विभिन्न पाटामा बुद्धका ज्ञानका अनेक पक्ष समेटिएका छन्। अनेक सांस्कृतिक,  कलात्मक र पुरातात्त्विक सामग्री सुरक्षित छन्। एउटा खण्डले अत्यन्तै प्रभावित बनायो। खासमा मेरा लागि यो भ्रमणको उपलब्धि नै त्यही हो। एउटा भित्तोमा प्रस्तरमा केही चित्राकृति र लिपि कोरिएका छन्। लिपिमा के लेखिएको छ त्यो त जान्ने कुरा भएन तर चित्राकृति हेरेर मैले यो को हो र के गरेको भनेर पथप्रदर्शकलाई सोधेँ। उनले त्यो चित्राकृति र लिपिले बुद्धले मानिसहरूलाई योग गर्न सिकाएको कुरा उल्लेख भएको बताए। चित्राकृतिमा उष्ट्रासन, पद्यमासन, उत्तानपादासनका स्वरूप देखिन्छन्। एउटा चित्रमा बुद्धले पेटको दुईपट्टि दुवै हातले बलले थिचेको आकृति छ। मैले त्यो आसनबारे पनि सोधेँ। बुद्धले त माथिको प्राणायाम मात्र हैन अपानवायु प्राणायाम पनि सिकाएका रहेछन्।

त्यहाँको अर्को अनौठो पाटो पनि छ। सम्भवतः त्यो हिन्दू र बुद्ध धर्मालम्बीबीचको अन्तरसद्भाव र सहिष्णुताको सबल प्रमाण हो। त्यहाँ एउटा चट्टानमाथि बुद्धका सासाना मूर्तिहरू जडान गरिएका छन्। चट्टानको एउटा भागमा त्यसैलाई काटेर बनाइएको पाषाण शिवलिङ्ग बुद्धको मूर्तिभन्दा अग्लो छ। शिवलिङ्ग स्पष्ट छ लिङ्गाधारमा रहने शिवाको नालचाहिँ छैन। जेहोस् बौद्ध र शैवीहरू बेजोड सद्भाव र सहिष्णुताको त्यो द्योतक भने पक्कै हो।

जनवरी ६ मा हामी मेरिन र सफारी पार्क जाँदै थियौँ– ब्याङ्ककको व्यस्त सहरी जीवनबाट निकै टाढा। झन्डै दुई घन्टाको यात्रापछि हामी आरक्षमा पुगेका थिर्यौँ। पहिलो गन्तव्य मरिन भयो। त्यो आरक्ष नै हो त्यहाँ प्रदर्शनका लागि तालिमप्रदत्त जलचर, स्थलचर र खेचर राखिएका छन्। बाघका बच्चा डमरूदेखि गिद्धसमेतलाई अभ्यस्त गराइएको छ। हामीले त्यहाँ सिल, डल्फिन र ओराङउटनसँग साक्षात्कार गर्ने मौका पायौँ। डल्फिन मान्छेपछिको चतुर चेतना भएको जन्तु हो भन्ने कुरा तिनको प्रदर्शनले प्रस्ट बनायो। सङ्गीतका धूनमा विविध नृत्य गर्नुदेखि इच्छुक दर्शकलाई पैसा लिएर चुम्मन गर्नु वा फोटो खिचाउन साथ दिनुसम्मका चरित्र तिनले गर्न सक्ने रहेछन् प्रतिभावान् कलाकारजस्ता। ओराङउटनको प्रस्तुति पनि चित्ताकर्षक हुने रहेछ। प्रदर्शनमा दर्शकहरूलाई स्वागत गर्नेदेखि बिदाइ गर्नेसम्मका सबै भूमिका तिनले नै निर्वाह गर्दा रहेछन्। बीचमा तिनका सामूहिक प्रस्तुति र खेल पनि रोमाञ्चक।

कलाकार मानिसले प्रस्तुत गर्ने ध्वंसनाटक (वाइल्ड वेस्ट सो) अर्को प्रस्तुति हो त्यहाँको। मान्छेलाई गोली हानेर मारेको र घर तथा भौतिक संरचना ध्वस्त बनेको सादृश्य गराउने ती प्रस्तुति हामीजस्तो कमलो मन भएकाहरूका लागि सुरुमा भयकारी हुनु स्वाभाविक हो। डल्फिन, ओराङउटन र ध्वंसनाटकका तीनवटा प्रस्तुति हेरेपछि एक भोजनगृहमा हामीले स्वयंपस्के भोजन गर्‍यौँ।

खानापछिको करिब दुई घन्टाको कार्यक्रम हाम्रो जङ्गल सफारीको थियो। गाडीमा बसेर गरिने दृश्यावलोकन। निकुञ्जको प्रवेश हुनासाथ पक्षीहरू देखिए गरुड र बकुल्ला। लाग्थ्यो यति धेरै यी पक्षी के खाएर बाँच्छन् ? हामी हेर्दै अगाडि बढ्यौँ। जेब्रा, जिराफ, गैँडा, सिंह, बाघ, भालु, अर्ना, हाम्रा गाईगोरुजस्ता देखिने तर विशाल ठूलो सिङ भएका जन्तु, हरिण, मृग सबैलाई प्राकृतिक वासको रूपमा व्यवस्थित गरिएको रहेछ। बाघभालुका इलाकामा चरा पनि अधिक थिए। कति मरेका, कति जिउँदा कति छटपटिँदै गरेको अवस्थाका। हामीले हेर्दाहेर्दै एउटा चरालाई एउटा बाघले च्याप्प पार्‍यो भुत्ल्यायो र खायो – प्रकृतिको नियम। सबैभन्दा सान सिंहको हुँदो रहेछ बसाइमा। त्यै भएर होला त्यसलाई वनको राजा भनिने। भालुको जीवनचाहिँ बडो कस्टकर हुँदो हो हिमालमा बस्नुपर्ने जीव भूमध्यरेखीय समुद्रसतह नजिक क्षेत्रमा रहनुपर्दा।

हामी होटल फर्कियौँ। साँझका लागि हाम्रो एउटा विशेष कार्यक्रम बाँकी थियो – क्रुज डिनर। क्रुज डिनर भनेको समुद्रमा चल्ने ठूलो जहाजमा समुद्रको निकै भित्री भागसम्म लगेर गरिने भोजन हो। तर त्यहाँको त्यस्तो होइन रहेछ। ब्याङ्ककको सिटी हुँदै समुद्रमा मिसिने नदी भनौँ वा खाडीमा हुने रहेछ त्यो। साँझको समयमा वारिपारिको झिलिमिलीमा जहाजको मन्द यात्रामा खाना खानु। घाटबाट जहाजमा चढ्ने भीडले चाहिँ हैरान – सिनेमा हलमा पस्दाजस्तो। चढेपछि घाटबाट जहाज छुट्यो र गन्तव्यतिर लाग्यो। जहाजमा गीत गाउने गायकीले भाँतीभाँतीका गीत गाउँदै ग्राहकलाई नचाउन खोज्ने रहेछन्। खाना खाँदै करिब अढाइ घन्टा त्यो जहाजबाट वारिपारि हेर्दै गीत सुन्दै गफ गर्दै नाच्दै सफर गरियो।

केही समयपछि तिनले नेपाली गीत बजाए– पारि त्यो डाँडामा घाम लाग्यो घमाइलो। त्यो गीतमा हामी धेरै जना नाच्यौँ। पराई भूमिमा नेपाली गीत बनाइँदा पनि अन्तर्राष्ट्रिय मञ्चको नेपाली अस्तित्वबोध भएजस्तो भो। जहाज घुम्नुपर्ने फन्को मारेर घाटतिरै फर्कियो। हाम्रो घुमाइको उत्कर्षमा हामी पुग्यौँ। घाटबाट क्रुज डिनर टुङ्याउनुअगाडि गरिने आतसबाजी सबैभन्दा आकर्षक देखिँदो रहेछ।

जनवरी ७ – नेपाल फर्कने दिन। हाम्रो उडान साढे पाँच बजेको थियो। सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल सबै साथी आइपुगेपछि पथप्रदर्शकसँग साझा फोटो खिच्यौँ। उनीसँग बिदा हुनु थियो। हामीले उनले हामीलाई नेपाल एयरको टिकट काउन्टरमा हाम्रा सामान दर्ता गरुन्जेल सहयोग गरे। भन्नैपर्छ– टुसिस्ट गाइड हुन् त चुजस्ता पो।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरवेजकै विमानमै हामी फर्के पनि यसको अन्तर्राष्ट्रिय उडान संकेत आरए नै रहेकाले शाही नेपाल वायुसेवा निगमकै झल्को दिने रहेछ। फर्किने क्रममा पनि आधाभन्दा बढी सिट खाली नै थिए। वाइड बडीका कथा चुलिँदै गर्दा हिँडेका हामी फर्कँदा मन्त्रीलाई नैतिक दायित्व मात्र रहने निष्कर्षमा मुलुक पुग्दै रहेछ। साढे आठ बजे त्रिभुवन विमानस्थलबाट बाहिरिँदै सबै साथीलाई छुटौँ भन्ने इसाराको हात हल्लाइयो।

प्रश्न थुप्रै छन् – नेपालको निम्न र मध्यम आर्थिक क्षमताका मानिसका लागि। गरिब मुलुकको नागरिक भएर विदेश पर्यटनमा किन गएको ? त्यहाँ गरिने खर्च नेपालकै कुनै ठाउँमा गएर खर्चेको भए हाम्रो आन्तरिक पर्यटन बढ्थ्यो नि ? विदेश घुमेर के नै पाइने हो र ? मसँग यसको एउटै उत्तर छ पुनर्ताजगी – खुसीको। यो खुसीसँग हाम्रा भ्रमणका टोली परिचालक शरद न्यौपानेको यो भनाइ मेल खान्छ नि– ‘३१ जनाको छ दिने थाइल्यान्ड भ्रमणबाट सकुशल फर्कियौं। खुसीको कुरा कसैलाई खास समस्या भएन। सबै रमाइला र सुखद क्षणहरू सम्झनामा रहिरहनेछन्।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...

के हो एन्ड्रोइड गो ?

के हो एन्ड्रोइड गो ?

थोरै मूल्यमा उच्चस्तरीय एन्ड्रोइड अनुभूति ...