गन्तव्य

रौतापोखरी अर्थात् पूर्वको हिरा

शनिबार, ०५ माघ २०७५, १० : ४६ अमृत भादगाउँले

डाँडाको थाप्लोमा गोलाकार पोखरी। पोखरीमा पानी। पानीमा तैरिरहेको कमल। किनारको रुखमुनि रौतामाई। शितल अनि हरियाली। पवित्र एवं शान्त भूमि। रौतापोखरी पुग्दा मन फुरुङ हुन्छ। उत्साहको लहर चल्छ।  उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–६ मा पर्छ रौतापोखरी। पूर्वको प्रख्यात धार्मिक गन्तव्य। पोखरीको दक्षिणमा घना जंगल छ। जंगलको छायाँ पानीमा तैरिन्छ। रौतामाईको मूर्ति भलायोको रुख मुन्तिर छ। त्यहाँ ध्वजापताका, त्रिशुल आदि चढाइएको छ।  

रौतामाई दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ। मन्दिरका पूजारीका अनुसार देवी भाकेर मनले जे माग्यो त्यो फल प्राप्त हुन्छ। धन लाभ, निरोगिता, सन्तान प्राप्ति, जागिरमा बढुवा लगायत सबैखाले मनोकांक्षा पुरा हुने विश्वासमा बर्सेनी हजारौं तिर्थालु रौतापोखरी पुग्छन्।  
भाकल पुरा भएपछि तिर्थालुहरु बलि लिएर आउँछन्। देवीलाई चढाउँछन्।  रौतामाईलाई पाठी र परेवा बलि चढाइन्छ। बोका, भाले र हाँस दिइँदैन। त्यस्तै धुपबत्ति, अबिर, अक्षता, फूल, ध्वजापताका, चुरापोते, त्रिशुल आदि चढाइन्छ। वैशाख १ गतेका दिन मन्दिरमा ठूलो मेला लाग्छ। त्यतिबेला पूजापाठ, नाचगान र खानपिन गरिन्छ। पोखरीमा नुहाउन पाइन्न। बाहिरको धारामा नुहाउँछन् तिर्थालु। पोखरीकै पानी ग्यालिनमा झिकेर बाहिर चौरमा आएर नुहाउन भने पाइन्छ।

रौतारानीको महिमाका विषयमा एउटा घटना सुनाए पूजारीबाले। विसं १९६४ मा रुम्जाटार, ओखलढुंगाका भुजुङ गुरुङ सयौं भेडा लिएर यही बाटो हिँडेका रहेछन्। त्यतिबेला उनका ५ सय भेडा हराएछन्। उनले बुढापाकालाई सोध्दा ‘रौताको शरणमा जाउ, भेटिन्छन्’ भनेछन्।भुजुङ रौतादेवीको शरणमा पुगे। त्यहिबेला भेडा कराएको आवाज सुनियो। ‘मेरा भेडा देखा पार्दिनु देवी म यहाँ मन्दिर बनाउँछु’, उनले आँखा चिम्म गरेर याचना गरेछन्। नभन्दै सबै भेडा फेला परेछन्। त्यसबाट खुशी भएर उनले ढुंगाको सामान्य मन्दिर बनाइदिए। पछि उनका नातिले विसं २००७ सालमा ठूलो मन्दिर बनाए। तीसको दशकमा तिनै नातीले दिएको ३० हजार रुपैयाँले मन्दिर व्यवस्थित गरिएको पूजारीबा सुनाउँछन्।
हिँडेर पोखरीको फन्को मार्न १० मिनेट जति लाग्छ। रौतापोखरी क्षेत्र पानीको मुहान पनि हो। यसबाट पूर्वमा अँधेरी खोला, पश्चिममा त्रियुगा खोला, उत्तरमा राँकुली तथा रसुवा खोला र दक्षिणमा बरुवा खोला बग्छन्।  

पश्चिमपट्टिको त्रियुगा खोलामा अन्य साना–ठूला खोला मिसिंँदै जाँदा त्रियुगा नदी बन्छ र अनि तल तराईमा बग्दै जाँदा तपेश्वरी र ओद्राहको बीचमा सप्तकोशीमा पुगेर मिसिन्छ। अनौठो कुरा–छेउमा त्यति ठूलो जंगल भएता पनि पोखरीमा एउटा पात पनि देखिँदैन। पात खस्यो कि चराले टिपेर किनारा लगाइहाल्छ रे ! पानीमा पात पर्नासाथ गुलाबी सिउँर भएका चराले चुच्चोमा च्यापेर घाम झुल्किनुअघि नै बाहिर फाल्छन् भन्ने सुनाए पूजारीबाले।   वर्षैभरि घुम्न सकिन्छ रौतापोखरी। बिशेषतः फागुनदेखि वैशाखसम्म चहलपहल बढी हुन्छ। अरु बेला फाट्टफुट्ट आउँछन् तिर्थालु। हरेक औंसी, एकादशी, आइतबार र साउनमा मन्दिरमा पूजा चल्दैन।

धार्मिक आस्था बोक्नेहरुका लागि त रौतापोखरी ‘ड्रिमल्याण्ड’ नै बन्न सक्छ। प्रकृति, संस्कृति, जीवनशैली र जैविक विविधतामा रमाउन चाहनेका लागि पनि आकर्षक गन्तव्य बन्नेमा शंका छैन। चुरे उपत्यका गाइघाटमा बस्नेहरु हुन् कि अलिपर राजविराज वा लाहानतिर बस्नेहरु, उनीहरुलाई गर्मी छल्ने गन्तव्यका रुपमा रौतामा उकाल्न सकिन्छ।  

पोखरीबाट १ घन्टा उकालो चढे एनसेल डाँडा (२,१०० मिटर) पुगिन्छ।  एनसेलको टावर भएकाले एनसेल डाँडा भनिएको। डाँडाबाट हिमालको लामो लर्कन देखिन्छ। सगरमाथासम्म देखिने सुनाए गाउँलेले।   केही दिन अघि रौतापोखरी पुग्दा हामी (नन्दलाल माझी, भीमसेन चौधरी, राजेश चौधरी, बिष्णुबहादुर बस्नेत)ले भने हिमाल देख्न पाएनौं किनकि मौसम छयाङ्ग खुलेको थिएन। बरु त्यहाँ हामीले गुराँसका बुटा देख्यौं। ऐंसेलु, चुत्रो र काफलका बोट देख्यौं।

‘चैतमा आउनुस् है, लाली गुराँसले जंगलै झिलिमिलि हुन्छ’, पूजारीबा भन्दैथिए। रौतापोखरीको बेस क्याम्प निकासमा एक रात बसेर हामी फर्कियौं। जीपमा ओरालो झर्दा मनमा धेरै कुरा खेलिरहे। पूर्वको हिरा नै रहेछ रौतापोखरी। यसबाट उदयपुरबासीले राम्रो आम्दानी गर्न सक्छन्। त्यसका लागि पूर्वाधार विकासका केही काम गर्नै पर्छ। डाँडामा पानी परेका बेला ओत लाग्न सत्तल बन्नु पर्छ। त्यस्ता सत्तल गाउँले शैलीका बनुन्। उकालो चढ्ने सिंढी व्यवस्थित होस। खानेपानी र चर्पीको राम्रो व्यवस्था होस्। अनि पोखरीको डिलमा रौतामाईको महिमा झल्कने कलात्मक होडिङ बोर्ड राखियोस्। त्यसो भएमा दर्शनार्थीले संक्षिप्तमै सही, रौतापोखरी क्षेत्रको महिमा, इतिहास र धार्मिक महत्व थाहा पाउन सक्नेछन्।  

कुनै पनि ठाउँको विकास हुन सहज पहुँच अनिवार्य शर्त हो। त्यसैले गाइघाटदेखि रौतापोखरीसम्म पुग्ने सडक कालोपत्रे गरिहाल्नु पर्छ। आबश्यक पूर्वाधार विकास र मार्केटिङ गर्ने प्रमुख दायित्व स्थानीय गाउँपालिका र प्रदेश सरकारको हो।  धार्मिक आस्था बोक्नेहरुका लागि त रौतापोखरी ‘ड्रिमल्याण्ड’ नै बन्न सक्छ। प्रकृति, संस्कृति, जीवनशैली र जैविक विविधतामा रमाउन चाहनेका लागि पनि आकर्षक गन्तव्य बन्नेमा शंका छैन। चुरे उपत्यका गाइघाटमा बस्नेहरु हुन् कि अलिपर राजविराज वा लाहानतिर बस्नेहरु, उनीहरुलाई गर्मी छल्ने गन्तव्यका रुपमा रौतामा उकाल्न सकिन्छ।  

भौगोलिक र जातिय विविधताका दृष्टिले नेपाल स्वर्गै हो। रौतापोखरी जस्तो सुन्दर ठाउँमा आइपुग्न किन ढिलो गरेछु भन्ने लाग्यो मलाई। यहाँसम्म आइपुग्न हुट्हुटि जगाउने संरक्षणविद् मित्र नन्दलाल माझीलाई धन्यवाद। मन अघाएकै छैन, हिमाल खुल्ने मौसम (असोज–कात्तिक)मा कम्तिमा दुई रात बस्ने गरी फेरी रौतापोखरी यात्रा गर्न पाए कस्तो होला !  
कसरी पुग्ने : काठमाडौं–नारायणघाट–गाइघाट ४२२ किमि, बसमा १२ घन्टा। काठमाडौं–खुर्कोट–गाइघाट बसमा ८ घन्टा। गाइघाट–निकास गाउँ ४२ किमि जीपमा दुई घन्टा। निकास–रौतापोखरी पैदल १० मिनेट। गाइघाटबाट सगरमाथा राजमार्ग हुँदै साउनेबजार भएर रानीबासचोक पुग्ने, रानीबासबाट राजमार्ग छाडेर देब्रेपट्टि लागेमा निकास पुगिन्छ। गाइघाटबाट बिहान ७ बजे र ११ बजे छुट्ने गाडीले ३ घन्टामा निकास पुर्‍याउँछन्। गाइघाटबाट रौतापोखरी पुगेर त्यही दिन फर्कने हो भने जिपले ८ हजार रुपैयाँ लिन्छन्। एक रात बसेर फर्कंदा रिर्जभ्ड जीपलाई थप २ हजार रुपैयाँ थप तिर्नु पर्छ।

सस्तोमा खानपिन
जितशेर राई

अध्यक्ष, होमस्टे व्यवस्थापन समिति
हामीले ११ घरमा होमस्टे चलाएका छौं। एउटा घरमा ६ जना बस्न सक्छन्। हामी लोकल, चामल, तरकारी, पिठो र कुखराबाट परिकार बनाएर खुवाउँछौं। केही दिन पहिल्यै खबर गरेमा बालन, साकेला र रोधीको स्वाद पनि चखाउँछौं। हामीले सादा खानाको १२० रुपैयाँ र डबल बेडको कोठाको ३०० रुपैयाँ लिन्छौं। लोकल कुखरा प्रति केजी ६०० रुपैयाँ पर्छ।
सम्पर्क : ९८४२५३४१३६

पूजारीको कथा
हामीले रौतापोखरीका पूजारीसँग पनि भलाकुसारी गर्‍यौं। हामी उनलाई भेट्न पुग्दा पोखरी नजिकैको स्यानो घरभित्र ओच्छ्यानमा सुतिरहेका थिए–भीमबहादुर रानामगर। ३६ वर्ष भएछ उनी पूजारी बनेको।  

उनी भन्दा अगाडि पूजारी थिएनन् रे ! मासिक ५० रुपैयाँ तलब दिएर गाउँ पञ्चायतले पूजारी नियुक्त गरेको रहेछ। पछि भक्तबहादुरसिंह ठकुरी जिल्ला पञ्चायत सभापति भएपछि मासिक सय रुपैयाँ दिन थालियो। गाउँपालिका बनेपछि त्यही सय रुपैयाँ पनि पाउन छोडेको दुखेसो सुनाए उनले।  

तिर्थालुको सहयोगबाट गुजारा चलिरहेको छ। पोखरीको पश्चिमपट्टि पर्छ रौता नामन्ता गाउँ जहाँ उनको परिवारको बसोबास छ। मन्दिरबाट आधा घन्टा हिँडेमा नामन्ता पुगिन्छ। त्यो विशुद्ध मगर गाउँ हो। उनको उमेर ८१ वर्ष भयो। एकातिर बुढ्यौली, त्यसमाथि बिरामीले थलिएका। भित्र÷बाहिर गर्न सक्छन्। सामान्य हिँडडुल मात्रै गर्छन्। हामी पुग्दा उनलाई सघाउन ज्वार्इँ दीर्घबहादुर मगर आएको केही दिन मात्रै भएको थियो। ‘ज्वाइँलाई नै मेरो उत्तराधिकारी बनाउने इच्छा छ’, उनले दीर्घबहादुरतिर फर्केर भने।  

अनकण्टार ठाउँमा तीन दशक भन्दा लामो समयदेखि बसेर देवीको आराधना गर्नु सजिलो काम होइन। आज समय फेरिएको छ। दिनदिनै तिर्थालुहरु बढ्दैछन्। बिस्तारै मन्दिर क्षेत्रको आम्दानी पनि बढ्दै जानेछ। त्यसैले पूजारी बालाई खुशी बनाएरै नयाँ पूजारी नियुक्त गर्नु बुद्धिमानी हुनेछ। उनको सुस्वास्थ्यको कामना !

केबलकार
गजेन्द्र बहादुर खड्का
अध्यक्ष, रौतामाई गाउँपालिका

हाम्रो गाउँपालिकाको प्रमुख धार्मिक गन्तव्य रौतापोखरी हो। हामीले यस क्षेत्रको पर्यटन विकास गर्न गुरुयोजना र डिपिआर बनाइसकेका छौं। त्यही अनुसार पूर्वाधार निर्माणका काम गर्दैछौं। साथै बेलदोभानबाट रौतासम्म केबलकार सञ्चालन गर्ने विषयमा त्रियुगा नगरपालिकासँग हामी सहकार्य गर्दैछौं। रौतापोखरीको मात्र होइन उदयपुरकै अग्लो भूमि चित्रेको पर्यटन विकासमा समेत हामी जुटेका छौं। दुबै ठाउँलाई हामी नमूना गन्तव्य बनाउँछौं।

रहस्यमय
भिमसेन चौधरी, संरक्षणविद्

पहिलोपटक रौतापोखरी पुग्दा छक्कै परें। डाँडामा त्यस्तो पोखरी पनि हुँदो रहेछ !  पोखरी हुनु र पानी नसुक्नु अनौठो कुरा हो। यसलाई जोगाई राख्नु पर्छ। धार्मिक हिसाबले पनि रौतापोखरी रहस्यमय रहेछ। राजा वीरेन्द्रको हत्या हुँदा मात्रै पोखरी सुृकेको भन्ने सुनियो। पोखरी रहस्यमय लाग्यो।

होमस्टे  
नन्दलाल माझी, संरक्षणविद्

हामीले रौतापोखरी क्षेत्रका केही गाउँमा होमस्टे प्रवद्र्धनको योजना बनाएका छौं। रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाले यसमा अगुवाई गर्दैछन्। विभिन्न जातजातिका होमस्टेमा पाहुनालाई राखेर स्थानीयको आय आर्जन बढाउने पहलमा जुटेका छौं। हामीलाई आशा छ लोकल परिकार र गाउँलेको आत्मियताले रौतापोखरी क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिनेछ।

निकास सामुदायिक होमस्टे
रौतापोखरीको बेस क्याम्प निकास गाउँका ११ घरमा होमस्टे सुविधा छ। होमस्टेबाट १० मिनेट उकालो चढे पुगिन्छ पोखरीमा।  होमस्टे पर्यटनको इतिहास खोतल्ने हो भने हामीले स्याङ्जा जिल्लाको सिरुबारी गाउँ सम्झनु पर्ने हुन्छ। भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवं अगुवाईमा सिंगो सिरुबारीलाई ग्रामीण पर्यटन गन्तव्यका रुपमा विकास गरिएको छ। सबै गाउँलेले पर्यटनको प्रतिफल चाख्न पाउन् भन्ने उद्देश्यले त्यहाँ गाउँलेकै घरमा पर्यटकलाई राखेर खानपिन गराउने व्यवस्था गरियो जसलाई होमस्टे (घरबास) भनिन्छ।

सिरुबारीकै सिको गरेर आज देशका सयौं गाउँमा होमस्टे पर्यटन सञ्चालनमा आएका छन्। त्यस्तै एउटा गाउँ हो निकास। रौतापोखरीको बेस क्याम्पमा अबस्थित निकास गाउँमा बाहुनका २ र राईका ९ गरी जम्मा ११ घरमा होमस्टे सुविधा छ। त्यहाँ ०७१ सालदेखि होमस्टे सुविधा दिन थालिएको।  गज्जब कुरा के छ भने अन्यत्र पहिला होमस्टे सुरु हुन्छ अनि पर्यटक बढ्दै जाँदा आधुनिक सुविधायुक्त होटल खुल्छन्। तर, निकास गाउँमा सुरुमा सामान्य होटल खुलेछन्। पछि तिनलाई होमस्टेमा रुपान्तरण गरिएछ। होटलको बोर्ड राखेर चलाउँदा भन्दा होमस्टेका रुपमा सञ्चालन गर्दा सेवा र सुविधा बढी दिन सकिएको रौतामाई निकास सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष जितशेर राई (विजय) बताउँछन्।

होमस्टेका रुपमा ब्राण्डिङ गर्नु अघि यहाँका होटलले सामान्य खाना र बास सुविधा दिन्थे। राईका अनुसार कतिपय तिर्थालु आफैं चामल र तरकारी बोकेर आउँथे। होटलवाला पकाइदिन्थे। त्यसको ज्याला लिन्थे। अचेल त्यसरी खाद्यान्न बोकेर आउँदैनन्। होमस्टेका रुपमा अघि बढेपछि खाना बनाउने र अतिथि सत्कार तालिम पाएपछि उनीहरुको गुणस्तर बढ्यो। निकास गाउँ भन्दा मुनि शान्ति चोकका गाउँलेहरु पनि होमस्टे सञ्चालन गर्ने  तर्खरमा छन्। केहीले त होमस्टेकै लागि भनेर नयाँ घर समेत बनाउँदै रहेछन् ! घरको पिँढीमा बसेर संरक्षणविद् मित्र नन्दलाल माझीले उनीहरुलाई होमस्टेका विषयमा सामान्य ब्रिफिङ दिए। उनले बिहानको चिया मिटिङमा निकास होमस्टेका युवालाई पनि त्यसैगरी हौस्याएका थिए।

निकास होमस्टेलाई पनि रिफ्रेसमेन्ट तालिम जरुरी देखियो। पोखरी सेरोफेरोका अन्य गाउँमा पनि होमस्टे पर्यटनको संभावना देखिन्छ। त्यसका लागि स्थानीयसँग गाउँपालिकाले हातेमालो गर्नु पर्छ। सबैले ख्याल गरौं है, होमस्टेमा बस्ने गरी यात्रा योजना बनाउँदा होमस्टे व्यवस्थापन समितिलाई पहिल्यै खबर गर्नु पर्छ। अनि घाम नडुब्दै गाउँमा पुग्नु पर्छ। अर्को कुरा, त्यहाँ राती १० बजे भन्दा अबेरसम्म बसेर खानपिन गर्नु हुँदैन। हो–हल्ला त गर्नै भएन। 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad