७ वैशाख २०८१ शुक्रबार
खेल

खप्तड गोल्डकप : थ्री स्टार र पुलिसमध्ये कसले मार्ला बाजी ?

धनगढी – मोफसलकै सर्वाधिक पुरस्कारको सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि शनिबार (आज) थ्री स्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल धनगढीको क्षेत्रीय रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ। दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने बताएका छन्।

विजयको यात्रा अगाडि बढाउँदै फाइनल पुगेका दुवै टिमको मनोबल उच्च रहेकाले उपाधि भिडन्त रोमाञ्चक हुने आंकलन गरिएको छ। थ्री स्टारका कप्तान विक्रम लामाले अहिलेसम्म रणनीतिअनुसार मिहिनेत गरेको बताउँदै फाइनलमा पनि जित्ने आशा व्यक्त गरे।

‘लिगमा हाम्रो प्रदर्शन राम्रो हुन सकेन,’ थ्री स्टारका कप्तान विक्रमले भने,‘ तर, यस प्रतियोगितामा उपाधि जित्नेछौं।’ मोफसलमा राम्रो सुरुआत गर्ने लक्ष्य राखेकोले यस प्रतियोगितालाई शिक्षाको रूपमा लिएको कप्तान विक्रमको भनाई छ। प्रशिक्षक उज्ज्वल मानन्धरले विपक्षीभन्दा बढी मिहिनेत गरेर उपाधि जित्ने बताए। ‘फाइनल पुगेका छौं। विपक्षी टोलीभन्दा बढी मिहिनेत गर्दै नतिजा आफ्नो पक्षमा पार्ने हाम्रो प्रयास हुनेछ,’ उनले भने। थ्री स्टारका व्यवस्थापक मुकेश नकर्मीले पनि राम्रो प्रदर्शन भइरहेकाले उपाधि जित्नेमा आशावादी रहेको बताएका छन्।

पुलिसका कप्तान विक्रम धिमालले रणनीतिअनुसार खेलेर उपाधि जित्नेमा आशावादी भएको बताए। ‘अहिलेसम्म हामी रणनीतिअनुसार खेलेर यहाँ पुगेका छौं,’उनले भने,‘फाइनलमा पनि यसलाई निरन्तरता दिएर उपाधि जित्ने आशा राखेका छौं।’ पुलिसका प्रशिक्षक अनन्त थापाले मोफसलको सर्वाधिक धनराशिको प्रतियोगिताको फाइनलमा पुग्दा टोलीको मनोबल उच्च बनेको बताए।

लिगमा अपेक्षित प्रदर्शन हुन नसके पनि यो प्रतियोगितामा जित हात पर्दै आएकोले मनोबल बढेको प्रशिक्षक थापाले विश्वास व्यक्त गरे। ‘प्रतियोगितामा फाइनल यात्रा तय गर्दा पूरै टोलीको मनोबल बढेको छ,’ उनले भने,‘फाइनलमा पनि राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने आशा गरेका छौं।’

शनिबार धनगढी रंगशालामा हुने प्रतियोगिताको  विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सिसी मोटरसाइकल र विधागत उत्कृष्टले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: ५ माघ २०७५ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App