नयाँ पदमार्ग

पौवाभन्ज्याङदेखि सन्दपुरसम्म

शनिबार, ०५ माघ २०७५, १० : २८ गिरिराज बाँस्कोटा

583


सन्दकपुर, जहाँ भरिभराउ थिए। कोही दृष्यमा रमाउने, कोही थकाइ मारिरहेका त कोही खानपानमा झुमिरहेका। हामी सन्दकपुर (३६३६ मिटर) पुग्दा सिरेटोको बेग दौडिरहेको थियो। फुत्त कुहिरो आएर धुम्म बनाउने र फेरि छ्याङ्ङ देखिने भइरह्यो। सन्दकपुर दृष्यावलोकनका लागि चर्चित गन्तव्य हो। मेरा लागि सन्दकपुर नयाँ गन्तव्य थिएन। चौथोपल्टको यात्रा भने फरक किसिमको थियो। हामी पाँचथरको मेची राजमार्गमा पर्ने पौवाभञ्याङदेखि हिँडेर डाँडैडाँडा सन्दकपुर पुगेका थियौं।  

पहाडका डाँडा घुम्न आफैमा रमाइलो हुन्छ। यो रुट भएर कमैले मात्र यात्रा गरेका छन्। हामीले योजना बनायौँ। हिँड्दै सन्दकपुर जाने, जहाँ बस्न मिल्छ त्यहीँ बस्ने, अलिअलि खानेकुरा बोक्ने, दामासाहीले खर्च व्यहोर्ने र बिन्दास हिँड्ने। योजना बनाउँदा आधा दर्जन थियौं। हिँड्ने बेलामा तीन जना भइयो। सुमन लामा, दीपक बोहोरा र म। फिदिमदेखि पौवा भन्ज्याङसम्म जिपमा पुग्यौँ। पौवाभन्ज्याङमा कफी सुरुप्प पारेपछि पदयात्रा सुरु भयो।

पहिलो दिनको यात्रा छोटो थियो। साँझ ढल्कँदै गर्दा सुकेपोखरी पुग्यौँ। बाटोमा हामीलाई सझाइयो–बाटो जान्नेलाई लिएर जानु नत्र अल्मलिन्छ। जंगलको बाटो छुट्टयाउन सकिँदैन। कसलाई लिएर जाने हो भन्ने समस्या आइहाल्यो। केही ठाउँमा फोन गर्‍यौं सहयोगको याचनासहित। सुकेपोखरीमा फौदमान राईकोमा बास बस्ने भयौँ। होमस्टे जस्तै बस्ने ठाउँमा। उनकै छोरा मनोज हाम्रो यात्राका पथप्रर्दशक हुने भए। चारपल्ट यो बाटो हिँडेका रहेछन्। ढुक्क भयौं। हामी उकालियौं। बिहानी घामले न्यानो दियो। आफ्ना छायाअगाडि लागेर हिँडेको थियो। कुम्भकर्ण, कन्चनजंघा लगायतका हिमाल खुल्दै थिए। पाटेनागी, नागढुंगा, लोकहिल जस्ता आकर्षक पहाडका डाँडामा रहेका पातले सिरेटोमा मिसिँदै हामीलाई स्वागत गरिहेका थिए। यी ठाउँ सूर्योदय र सूर्यास्तका लागि महत्वपूर्ण मानिन्छन्। तर, प्रचार कम छ।

कुम्भकर्ण, कन्चनजंघा लगायतका हिमाल खुल्दै थिए । पाटेनागी, नागढुंगा, लोकहिल जस्ता आकर्षक पहाडका डाँडामा रहेका पातले सिरेटोमा मिसिँदै हामीलाई स्वागत गरिहेका थिए ।

चिसोमा हिउँ पर्ने, सिजनमा गुराँस फुल्ने, वर्षामा हरियालीमा मस्त हुने यी ठाउँ घुम्न महत्वपूर्ण मानिन्छन्। त्यसो त गुराँसका ठूल–ठूला जंगल छन्। कहीँ उकालो हिँडेपछि लमतन्न परेको पहाड पार गर्‍यौं। ‘यात्रा रहेछ जिन्दगी’, ‘चलेछ बतास सुस्तरी’, ‘माथिमाथि शैलुङेमा’लगायतका भाका हाल्दै हिँड्यौं। सुरुवाती हिँडाइ  निकै तेज हुन पुग्यो।

फराकिला पाटामा चौपाया चरेको देखिन्थ्यो। हामी बिहानको समयमा विखे भन्ज्याङ पुग्यौँ। पाँचथर र इलामका बासिन्दा आउजाउ गर्ने ठाउँ रहेछ। यहाँ रहेका घरमा खाना खाने हाम्रो लक्ष्य थियो। घरमा कोही थिएनन्। बोकेको खानेकुरा खाएर उकालियौं। डाँडाहरू कुमारी थिए। सडकका नाममा स्काभेटर नकुदेका। हिँड्नलाई उत्तिकै मज्जा लाग्ने। कतै उकालो त कतै ओरालो। साथीहरूले लेकाली डाँडाको नौलो अनुभवलाई क्यामेरामा कैद गर्न निकै मिहिनेत गरे। जता हेर्‍यो उतै सुन्दर। आफूभन्दा माथि निलाम्मे आकाश थियो। अग्लो डाँडाबाट दृष्यमा रमाउँदै हिँड्यौ। विखेसम्म बाटो सजिलो र नझुक्किने खालको थियो।

त्यसपछि भने उकालो–ओरालो बाटोको डोब हेर्दै हिँड्नुपर्ने।  ठूलो जंगल र मालिङ्गो घारी। एकजना पछि छुट्यो भने हराउने। मालिङ्गोको घना घारी बीचमा हिँड्नुको मज्जा छुट्टै। एउटा खुड्किलो आउँछ, फेरि मालिंगो घारीमा हिँड्यो। साथीहरू गुराँसको रुखमा चढेर सेल्फी भ्याउँदै थिए। मलाई भने कुनै अर्कै लोकको एकान्तमा हराएको भान भयो। मालिंगो घारीमा रेड पाण्डाको दर्शन पाइएला कि भन्ने आश थियो। तर, पाइएन। बरु भालु हिँडेका पाइला देखेपछि मनमा डर पस्यो।

छिन्तापु डाँडाको फेदी पुगेर थकाइ मार्‍यौं। त्यहाँ गुराँसको ठुलो जंगल छ। गुराँस फुलेका बेला कस्तो देखिएला ! आर्कषक पर्वत शृंखला भएकाले यो ठाउँ पर्यटकीय गन्तव्य मानिन्छ। हामी उकालियौँ। छिन्तापु अचम्मको रहेछ। एउटा डाँडो कट्यो अर्को सुरु भइहाल्ने। हेर्दा नजिक देखिन्छ। तर, घुम्दैघुम्दै छिचोल्नुपर्ने। अब त अन्तिम डाँडो रहेछ भनेर उक्लियो, फेरि अर्को डाँडो आइहाल्ने। चित्रझंै लाग्ने पहाड।
छिन्तापु छिचोल्दा साँझ परेको थियो। बस्ने ठाउँ भएको भए हामी यतै बस्थ्यौँ। बिखे कटेपछि न घर भेटिए न मान्छे नै। भेटियो त प्रकृतिको सुन्दरता र सुनियो त चराको चिरबिर मात्र।  

हामी छिन्तापुबाट गोरुवाले पुग्नु थियो बास बस्न। छिन्तापुदेखि पदमार्ग बनाइएको रहेछ। ओरालो झर्‍यौं। रात पर्‍यो। मोबाइल बालेर हिँड्यौं। गीत गाउँदै।  गोरुवालेमा रामकुमार, पुष्पा, जागिरमान, मोहन राई लगायतका स्थानीय हाम्रो प्रतीक्षामा थिए। लोकल कुखुराको सुपसँग थकानलाई राहत दियौं।

बिहान सन्दकपुरका लागि हिँड्नु थियो। लेकाली बजार जस्तो हो गोरुवाले। गोठ पाल्नेहरू बस्दाबस्दै बस्ती बस्यो। त्यहाँबाट हामी उकालियौं। यात्रामा थपिए स्थानीय रामकुमार। बिहानीको चिसोसँगै उकालियौं। चौरी गोठमा छिरेर चिया सुरुप्प पार्दै हिँड्यौं। घाम लागेर रमाइलो थियो। पानी कलकल बगिरहेको थियो। विभिन्न प्रजातिका फूलहरूले रङ्गीचङ्गी, चरन भएको पहाड आकर्षक थियो। आहाल पुग्दा विदेशी पर्यटकको टेन्ट डाँडैभरि थियो। नेपाल भारतको सीमा क्षेत्र भएकाले कताकता राष्ट्रियताको भाव उब्जिन्थ्यो। सीमा स्तम्भमा उभिएर गोर्खाली गौरवका साथ तस्बिर खिँच्नै पर्‍यो।

सन्दकपुर पुग्दा बंगाली पर्यटक भरिभराउ थिए। डाँडैबाट दृष्यावलोकन गर्नेको भीड थियो। हिमाल र सूर्योदयका लागि सन्दकपुरले ख्याती कमाएको छ। इलाम र पाँचथरको बाटो भएर गाडीमा यहाँ पुग्न सकिन्छ। हामीलाई पौवाभञ्याङदेखि सन्दकपुर पदमार्गको पहिचान गर्नु थियो। यात्राको सफलताको खुसी थियो हामीसँग। सन्दकपुर सिमावर्ती क्षेत्रमा पर्ने भए पनि दृष्यावलोकनदेखि घुम्ने ठाउँहरू नेपालतर्फ पर्छ। दुर्भाग्य यहाँको आम्दानी हाम्रो हुन सकेको छैन। रामकुमार दाइको टिप्पणी थियो,  ‘पैसा पनि भारु चल्छ। नेपालभरि घुमिन्छ, फाइदाचाहिँ भारतले लिन्छ।’

हामीले हिमाल हेर्‍यौं। ग्वाम्लाङ अंगालोमा बेरुँ जस्तै हिमाल छन्। हामीले त्यहाँको मन्दिर पनि दर्शन गर्‍यौं। हावाको झोक्का बेगिलो थियो। पारि चारराते, फालोटको दृष्यले तान्यो। सन्दकपुरदेखि फालोट, चिवाभन्ज्याङहुँदै तिम्बुपोखरीसम्म पुगिन्छ। पौवाभन्ज्याङदेखि तिम्बुपोखरी सात दिन हिँड्दा पुगिने स्थानीयले बताए। सन्दकपुरमा हामीले तातो थुक्पा खायौँ। कतै ध्वजापताकाले सजाइएको देखिन्थ्यो। होटल आकर्षक थिए। सन्दकपुरबाट टाढाटाढाको दृष्य देखिँदो रहेछ। पर्यटकको घुइँचोले हामी खाना खान आहाल भन्ने ठाउँमा आयौं।  

इको ट्रिपका लागि उपयुक्त भएको महसुस गर्‍यौं। यसका लागि रुट बनाउने र खानेबस्ने ठाउँको प्रबन्ध गरिनुपर्ने देखियो। सन्दकपुरमा बर्सेनि हजारौँ पर्यटक आउँछन्। उनीहरूलाई तान्न चारराते, फालोट क्षेत्र प्रवद्र्धन गर्नुपर्ने देखिन्छ। यहाँबाट हामी चौरी गोठतिर घुम्न गयौं।

गोठलाई होमस्टेझै गोठस्टे बनाइँंदै छ। दीपज्योति युवा क्लब र रेडपाण्डा नेटर्वकको सहयोग छ। गोठमा पनि विदेशी रमाउँदै गरेका भेटिन्थे। चौरीसँग तस्बिर खिच्ने, छुर्पी खिच्ने उत्तिकै। हामीले यहाँका विभिन्न डाँडा छिचोलेर बास बस्न गोरुवाले नै पुग्यौं।   हामीले आएको रुट नफर्कने निर्णय गर्‍यौं। अनि मुवा खेला छेउछेउ ओरालियौँ। लेकाली फराकिलो बाटो, जैविक विविधता तथा खोलाको बगाइ कलात्मक लाग्यो। त्यही दिन हामी दबाइपानीमा झर्‍यौं। अनि त्यहाँबाट गाडी चढेर फिदिमतिर लाग्यौं।

पौवाभन्ज्याङबाट हिँड्दै मुवाखोला हुँदै दबाइपानी भन्ने ठाउँमा पर्यटकलाई झारेर घुमाउनु उपयुक्त देखिन्छ। रमाइलो मात्र हैन, आनन्दसँग लेकाली क्षेत्रको विचरण गर्न सकिन्छ। त्यसो त इलामबाट माइपोखरी हुँदै तथा पाँचथरबाट प्राङबुङको भैंसे हुँदै सन्दकपुर पुग्न सकिन्छ। तर, पदयात्राको मज्जै बेग्लै।

पदमार्ग
अइन्द्रसुन्दर नेम्बाङ
पूर्व सभासद्  

पौवाभन्ज्याङबाट सन्दकपुर यात्रा रमाइलो र अविस्मरणीय हुन्छ। तर, पदयात्राका लागि पदमार्गको विकास गर्नु पर्ने देखिन्छ। बिखेभन्दा माथि छिन्तापु नपुगुन्जेल बाटो झुक्किने खालको छ। म सांसद् हुँदा सांसद् विकास कोषबाट बजेट  छुट्टयाएर काम भएको थियो। हिँड्न सहज बाटो बनाउन सके ठूलो संख्यामा पदयात्रीलाई लोभ्याउन सकिन्छ।

गोठस्टे
सुनिल बान्तवा
कार्यकारी निर्देशक, दीपज्योति युवा क्लब  

रेडपाण्डा मात्र होइन, हिमाल पनि दर्शन गर्दै पदयात्रा गर्न सकिन्छ। यहाँ गुराँसका विभिन्न प्रजाति, विभिन्न किसिमका लेकाली फूलहरू तथा जडीबुटी पाइन्छन्। यस क्षेत्रमा सडक खन्नुभन्दा पनि पदमार्गमा जोड दिनुपर्छ। यात्रामा बास बस्न गोठस्टेको विकास गरिनुपर्छ। चौरीलाई जोडेर पर्यटन विकास गर्न हामी हातेमालो गरिरहेका छौं। 







यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...