अध्यात्म

ओशो महापरिनिर्वाण दिवस

शनिबार, ०५ माघ २०७५, ०९ : २१ स्वामी आनन्द अरुण

जनवरी १९ ओशोको महापरिनिर्वाण दिवस हो। जुन दिन एक साधकले बुद्धत्व प्राप्त गर्छन्। त्यस दिनलाई हामी उनको निर्वाण दिवस भन्छौं। निर्वाण प्राप्त व्यक्तिले जुन दिन शरीरको बन्धनबाट पनि मुक्ति पाउ“छन् त्यस दिनलाई महापरिनिर्वाण दिवस भन्छौं।

सामान्य व्यक्ति मनका अधिन र गुलाम हुन्छन्। मनमा उठ्ने अनेक कामना र तृष्णाले हामीलाई अशान्त बनाइरहेको हुन्छ। त्यो अशान्त मनबाट मुक्ति नै निर्वाण हो। तर पनि निर्वाण प्राप्त व्यक्ति पनि जबसम्म शरीरमा हुन्छन् शरीरका आवश्यकता उनले पूर्ति गर्नु नै पर्छ। शरीरमा लाग्ने रोग व्याध, भोक, प्यास, चिसो, गर्मीले निर्वाण प्राप्त व्यक्तिलाई पनि छोड्दैन। बुद्धका अनुसार निर्वाण प्राप्त व्यक्तिले शरीरको बन्धनबाट मुक्ति पाएको दिन महापरिनिर्वाण हो। हाम्रो लागि शरीर छुट्नु एक दुःखद भयप्रद घटना हो किनभने हाम्रा सबै इन्द्रिय सुख शरीरबाट मात्रै सम्भव छ। तर, निर्वाण प्राप्त गरेका व्यक्तिका लागि शरीर पनि एक जेल जस्तै हो, बन्धन हो। त्यसैले कवीरले भन्नुभयो ‘जिस मरने से जग डरे मेरे मनमें आनन्द, कव मरुँ कव पाऊँ पूरण परमानन्द।’  

बुद्ध जस्तो व्यक्तिलाई पनि निर्वाणका लागि वर्षौं तप गर्नुपर्‍यो। बुद्धले निर्वाण प्राप्त गर्नु केही क्षण अगाडिसम्म पनि मनले छाडेको थिएन, त्यहि मनलाई बुद्धले मार भन्नुभएको छ। त्यो मारले प्रलोभन दिइरहेको थियो कि तिमीले आफ्नो भर्खर जन्मेको छोरालाई छोडेर आयौ, युवा सुन्दरी र गुणवन्ती श्रीमतीलाई छोडेर आयौं, बूढो बुबालाई छोडेर आयौ, यसरी शरीर गलाएर तिमीले के पायौ भन्दै मनले अनेक प्रपन्च गरिरहेको थियो। त्यस्तै मनले अनेक प्रलोभन समेत दिइरहेको थियो। सबैभन्दा ठूलो मनको प्रलोभन हो कामवासनाको। त्यसबेला सिद्धार्थ गौतम भर्खर ३५ वर्षको युवा हुनुहुन्थ्यो। कथा छ कि मारले आफ्ना दुईवटी सुन्दरी कन्याहरू पठायो बुद्धलाई कामवासनामा फसाउन। हुन त यो प्रतिकात्मक हो, मनको प्र्रक्षेपणमा आएर अनेक अनिद्य सुन्दरी युवतीले बुद्धलाई मोहित पार्न खोजे। मनको यस्तो मायाजालले लगभग सबै सिद्ध पुरुषलाई कुनै न कुनै रूपमा कुनै न कुनै समयमा घेर्ने नै गर्छ। भगवान शिवलाई कामदेवले जालमा पार्न खोज्दा शिवले आफ्नो तृतीय नेत्रको प्रकाशले कामलाई भष्म गरिदिनु भएको कथा पनि सुनेकै छौं। मनको मारले सजिलै कसैलाई पनि छोड्दैन। जब यस्ता महर्षीहरूलाई छोडेन भने हामी साधारणजनले म मनको प्रलोभनबाट मुक्त छु भन्नु पाखण्ड मात्र हो। बुद्धसँग वषौं सँगै साधना गरेका शिष्यहरू, जो पञ्चभद्रको नामले प्रसिद्ध छन्, उनीहरूले समेत निर्वाणको केही घण्टाअगाडि उहाँलाई छाडेर गए। मारले बुद्धमाथि अन्तिम प्रहार गर्‍यो। तर, उहाँले मारमाथि विजयी भई निर्वाण प्राप्त गर्नुभयो।

निर्वाण प्राप्त व्यक्तिले पनि शरीरमा रहुन्जेल अनेक समस्या झेल्नुपर्छ। बुद्धको शरीरमा पनि रोग लाग्थ्यो, उहाँलाई मेरुदण्ड दुख्ने रोग, पेट दुख्ने रोगले समय समयमा सताउँथ्यो। त्यसैले मगधका राजा बिम्बसारले निजी चिकित्सक जीवकलाई बुद्धको उपचार सेवामा लगाइदिएका थिए। शरीरले कष्ट सबैलाई दिन्छ, जाडो गर्मीले सबैलाई सताउ“छ। बेहोस व्यक्तिहरूले बुद्धपुरुषलाई पनि छोड्दैनन्, अनेक लाञ्छना लगाउ“छन्। श्रावस्तीमा बस्दा अनेक पटक बुद्धमाथि बलात्कार र स्त्री हत्यासम्मको दोष लगाइयो।

शरीरमा रहुन्जेल निर्वाण प्राप्त व्यक्तिलाई पनि मान अपमान, घात प्रतिघात, दुःख–पीडा आदि सहनै पर्छ। जुन बेहोस जगतमा निर्वाण प्राप्त गरेका व्यक्तिलाई परिभ्रमण गर्नुपर्छ। त्यहाँ गाली, अपमान र लान्छना पाउनु सामान्य कुरा हो। त्यसकारणले निर्वाण प्राप्त गरेका व्यक्ति शरीरमा धेरै समय बस्न चाहँदैनन्। यस शरीरको बन्धनवाट मुक्त भएपछि सामाजिक अपमान, लान्छना र शारीरिक कष्टबाट समेत मुक्ति हुन्छ। त्यसकारणले निर्वाण प्राप्त व्यक्ति शरीरको मोहबाट टाढा हुन्छन् र शरीरबाट मुक्त हुनु उनीहरूका लागि निर्वाण जस्तै स्वतन्त्रता हो।

निर्वाण प्राप्त व्यक्तिले शरीर छाडेको अवस्थालाई महापरिनिर्वाण भनिन्छ। निर्वाणमा मनका बन्धनबाट त मुक्ति हुन्छ। तर, भोक, प्यास, रोग ब्याधी, जाडो गर्मी जस्ता शरीरका बन्धनहरू रहि नै रहन्छन्। निर्वाण प्राप्त गरेको व्यक्तिको संवेदनशीलता सामान्यजनभन्दा गहन र शुक्ष्म हुन्छ। त्यसैले उनको शरीर अझै कोमल र नाजुक हुन्छ। जब शारीरिक बन्धनबाट पनि निर्वाण प्राप्त व्यक्ति मुक्त हुन्छन्, त्यस अवस्थालाई महापरिनिर्वाण भनिन्छ। र, बुद्धपुरुषहरूको महापरिनिर्वाणलाई पनि उत्सवपूर्ण रूपमा मनाइने गरिन्छ।

सद्गुरु ओशोले पनि निर्वाणका लागि अनेकौ जन्मदेखि प्रयास गरिरहनुभएको थियो। उहा“को पूर्वजन्मको बारेमा तिब्बेतियन धर्मगुरु सोह्रौं लामा कर्मापाले सन् १९७१ मा पहिलोपल्ट रहस्य खोलेका थिए। लामा कर्मापाको त्यो खुलासासँग सम्बन्धित लेख र ओशोको स्वीकारोक्ति रहेको ‘अननोन लाइफ अफ ओशो एण्ड जिसस्’ नामक पुस्तक  ओशो तपोवनले केही वर्षअगाडि प्रकाशन पनि गरेको छ। दलाई लामा जस्तै कर्मापा पनि तिब्बेतियन सम्प्रदायका गुरु हुन्। सोहैैं लामा कर्मापा पनि दलाई लामा जस्तै तिब्वत छोडी भारत आई बसे। दलाई लामा हिमाञ्चलको धर्मशालामा बसे भने कर्मापा सिक्किममा रुम्तेक गुम्बा बनाई बसे। कर्मापाले सन् १९७१ मा पहिलो चोटि खुलासा गरे कि ओशोको यस जन्मभन्दा अगाडि दुई जन्म तिब्बतमा भएको थियो। यस जन्मभन्दा ठीक अगाडिको जन्म सात सय वर्ष अगाडि भएको थियो र दुवै जन्ममा नै ओशो तिब्बती परंपराका सिद्धपुरुष र गुरु हुनुहुन्थ्यो र उहाँको ठूलो आश्रम थियो साथै हजारौं शिष्य पनि थिए। तिब्बतको कुनै अज्ञात सुरक्षित स्थानमा एउटा यस्तो गुम्बा छ जहा“ तिब्बती परम्पराका उनान्सय सिद्ध गुरुहरूको मृत शरीरलाई सुनको लेप लगाई सुरक्षित राखिएको छ, त्यसमध्ये ९७ नम्बरको शरीर ओशोको यस जन्मभन्दा दुई जन्म पूर्वको शरीर हो। अत्यन्त शक्तिशाली र प्रशिद्ध गुरु भए पनि उहाँले पूर्ण निर्वाण भने पाइसक्नुभएको थिएन। यसभन्दा ठिक अगाडिको जन्ममा पनि १०८ वर्षको उमेरमा पूर्ण निर्वाणका लागि २१ दिनको निराहार व्रत बस्दा अठारौं दिनमा आफ्नै आश्रमका शिष्यको हातबाट उहाँको हत्या भएको थियो। त्यस जन्ममा ओशोको अनुष्ठान थियो, निराहार बसी २१ दिनमा पूर्ण निर्वाण प्राप्त गरी शरीर छोड्ने। तर, पूर्ण निर्वाणका लागि तीन दिन बा“की रहँदै आफ्नै शिष्यले उहा“को हत्या गरिदिए। त्यो तीन दिनको बाँकी साधनाको पूर्णताका लागि ओशोलाई पनि सात सय वर्षपछि पुनः जन्म लिनुपर्‍यो। र, तीन दिनको बाँकी उपवास उहाँले यस जन्ममा जन्मेको तीन दिनसम्म आमाको दुध समेत नखाई पूरा गर्नुभयो।

भारतको मध्यप्रदेशको कुचवाडा भन्ने सानो गाउँमा ओशोले सन् १९३१ डिसेम्बर ११ मा पुनःजन्म लिई गहन साधना पश्चात सन् १९५३ मार्च २१ को रात्रिमा २१ वर्षको उमेरमा जवलपुरको भवरताल उद्यानको मौलश्री वृक्षमुनि पूर्ण निर्वाण प्राप्त गर्नुभयो। ओशोको निर्वाणपश्चात लाखौं साधकहरूको निर्वाणको ढोका खुल्यो। बुद्धको निर्वाणपछिको छब्बीस सय वर्षसम्म पनि बुद्धका शिष्यहरूको निर्वाणको धारा आज पनि रोकिएको छैन। नेपाल, भारत, तिब्बत मात्र होइन, अमेरिका, क्यानडा र युरोपमा समेत सम्बोधी प्राप्त बुद्धका शिष्यहरुलाई भेटिन्छन्। त्यस्तै, ओशोको निर्वाण पनि बुद्ध जस्तै यस जगतमा आउने हजारौं वर्षसम्म पनि धर्मचक्र परिवर्तन गर्ने एक महान घटना हो। यस धारामा ओशोको जीवनकालमै पनि धेरै साधकले निर्वाण प्राप्त गरे भने ओशोले सन् १९९० जनवरी १९ मा शरीर छोड्नु भएपश्चात पनि अनेक साधकले निर्वाण प्राप्त गरेका छन् भने निर्वाणको यो शिलशिला आउने हजारौं वर्षसम्म पनि चलि नै रहनेछ।

ओशोलाई शरीरको मोह थिएन र धार्मिक कट्टरतावादिहरूले उहा“लाई धेरै समय शरीरमा बस्न पनि दिएनन्। अन्ठाउन्न वर्षको उमेरमै उहाँ“ले शरीर छोड्नुपर्‍यो। पाश्चात्य धार्मिक मतान्धहरूले उहाँलाई थेलियम विष खुवाए, रेडियो विकिरणबाट उहाँको शरीरलाई आघात पुर्‍याए र अन्ततः रहस्यमय ढंगबाट उहाँको हत्या गरे।

ओशोलाई शरीरको मोह थिएन र धार्मिक कट्टरतावादीहरूले उहा“लाई धेरै समय शरीरमा बस्न पनि दिएनन्। अन्ठाउन्न वर्षको उमेरमै उहाँ“ले शरीर छोड्नुपर्‍यो। पाश्चात्य धार्मिक मतान्धहरूले उहांलाई थेलियम विष खुवाए, रेडियो विकिरणबाट उहाँको शरीरलाई आघात पुर्‍याए। र, अन्ततः रहस्यमय ढंगबाट उहाँको हत्या गरे। हाम्रो लागि त यो धेरै ठूलो क्षति हो कि ओशोले असमयमै शरीर छोड्नुपर्‍यो। उहाँको हृदयमा दुःखी मनुष्यताका लागि असिम प्रेम र करुणा थियो। त्यो प्रेम र करुणा उहाँले संसारभरी बाँडनुभयो। तर, यस जगतका बेहोस मान्छेहरूस“ग थेलियम बिष थियो, रेडियोयोक्टिभ विकिरण थियो, लान्छना र अपमान गर्ने प्रवृत्ति थियो, उहाँको प्रेम र करुणाको प्रतिउत्तरमा उनीहरूले त्यहि नैं फर्काए। यो आदान–प्रदान आज पनि कुनै न कुनै रूपमा उहाँको कार्य, उहाँका शिष्यहरू र आश्रमप्रति चलि नै रहेको छ।

त्यो घटना ओशोलाई माया गर्ने शिष्यहरूका लागि अत्यन्त दुःखद थियो। तर, ओशोका लागि त्यो शरीरबाट उन्मुक्तिको एक अवसर थियो। मलाई थाहा छ– उहाँले  चाहेको भए यो सबै बाधाको वापजुद पनि अझै बा“च्न सक्नुहुन्थ्यो। ओशो जब सन् १९८६ मा नेपाल आउनुभएको थियो मैले उहाँलाई भेटेरै स्पष्ट भनेको थिए कि, ‘भगवान हजुरको हत्याको षडयन्त्र भइराखेको छ। मलाई मौका दिनुस् यो षडयन्त्रबाट हजुरलाई बचाउन, आफ्नो शरीरको रक्षा गर्नुस्।’ तर, ओशोले मान्नु भएन्। किनभने शरीरमा बस्नु निर्वाण प्राप्त नगरेका हामी जस्ताका लागि पो ठूलो सुख हो, निर्वाण पाइसकेका बुद्धपुरुषहरूका  लागि शरीरमा बस्नु जेलमा बस्नु जस्तै हो। आफ्नो मृत्युपूर्व ओशोले के भन्नुभयो भने ‘मृत्युपश्चात म शरीरको यस पिँजडाबाट मुक्त हुनेछु, तब तिमीलाई दौडी दौडी मकहाँ आउनु पर्दैन, तिमीले मलाई जहाँ याद गर्र्छौ म त्यहिँ उपस्थित हुनेछु।’

भगवानका लागि प्रयोग गरिने शब्दहरू जस्तै ओम्निप्रिजेन्ट, ओम्निसियन्ट, त्यो महापरिनिर्वाण प्राप्त गरिसकेपछि मात्र सार्थक हुन्छन्। शरीरमा रहुन्जेल सम्बुद्ध गुरु पनि त्यस्ता हुँदैनन्। तर, जब शरीर शान्त हुन्छ तब उनीहरूको चेतना ब्रम्हाण्डीय हुन्छ। अब बुद्ध, शिव, कृष्णलाई जस्तै ओशोलाई पनि हामीले जहा“कहिँ पनि आह्वान गरौं त्यहीं उहाँको उपस्थिति हुन्छ।

जस्तो विज्ञानले खोज गरेको अद्भूत विषय छ– इन्टरनेट। त्यस्तै सम्बुद्ध योगी ऋषीहरूको एउटा अर्को नेट छ– त्यो हो योगी नेट। योगी नेट के हो भने प्रेम, श्रद्धा र विश्वासका साथ जब तपाईँहरूले गुरुलाई आह्वान गर्नुहुन्छ त्यो नेटबाट गुरुले थाहा पाउनुहुन्छ र गुरुको उपस्थिति हुन्छ। मैले बारम्बार अनुभव गरिराखेको छु कि जब मैले कुनै पनि सम्बुद्ध चेतनाहरूलाई भित्री हृदयबाट याद गर्छु, आह्वान गर्छु, प्राथना र पुकार गर्छु तब उहाँहरूकोे घनिभूत उपस्थिति मैले मात्र होइन, आसपास बसेका संवेदनशील साधकहरूले पनि अनुभव गर्न थाल्छन्।

शरीरप्रति आशक्ति र मोह हुनु सामान्य मनुष्यको स्वभाव हो। बुद्धपुरुषले शरीरमा बस्नुलाई जेलमा बस्नु सरह ठान्छन् र छिटो भन्दा छिटो शरीरको बन्धनबाट मुक्त हुन चाहन्छन्। ओशोले चाहनुभएको भए आफ्नो शरीरको रक्षा गर्नसक्नु हुन्थ्यो त्यो मलाई स्पष्ट थाहा छ। उहाँसँग अनन्त शक्ति थियो र मैले त देखि राखेको थिएँ कि उहाँको ज्यानमाथि खतरा छ भने उहाँलाई थाहा नहुने कुरै थिएन। तर, उहाँले त्यो खतराको प्रतिकार नगरी मृत्युलाई सहज स्वीकार गर्नुभयो।

आजको दिन ओशोको चेतना शरीरबाट मुक्त भई युनिभर्सल भएको दिन हो। यो दिन संसारभरीका उहाँका साधक, शिष्य र प्रेमीहरूले उत्सवका रूपमा मनाउँछन्। श्रद्धा र विश्वास भए हामीले उहाँको ऊर्जालाई यस ब्रम्हाण्डको कुनै पनि कुनामा अनन्तकालसम्म अनुभव गर्न सक्छौं र उहाँको आशीर्वाद र मार्गदर्शन प्राप्त गर्न सक्छौं।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad