८ वैशाख २०८१ शनिबार
राजनीति

नेवाः ताम्सालिङ नाम नराखे आन्दोलनको चेतावनी

प्रदेश ३ लाई नेवाः ताम्सालिङ नामकरणका लागि हेटौंडामा आयोजित नागरिक दबाब सभाका अतिथीहरू। तस्बिर : अशोकसुजन/नागरिक

मकवानपुर - प्रदेश ३ का आदिवासी जनजाति अगुवाहरूले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्न सरकारसँग माग गरेको छ। प्रदेश राजधानी हेटौंडामा शुक्रबार र्‍यालीपछि आयोजित नागरिक दबाब सभालाई सम्बोधन गर्दै जनजाति नेताहरूले प्रदेशको नाम नेवाः ताम्सालिङ नराखे निरन्तर सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

नेवाः ताम्सालिङ समन्वय समितिका संयोजक नरेश ताम्राकारले प्रदेशको नाम पहिचानका आधारमा नराखिए गरिने सशक्त संघर्ष दुःखद हुने बताए। ‘संघीयता, गणतन्त्र ल्याउन आदिवासी जनजातिले महत्वपूर्ण भूमिका खेलेका छन्,’ नेवाः देय् दबुःका अध्यक्षसमेत रहेका उनले भने, ‘तर पनि प्रदेशको नाम पहिचानका आधार राख्न राजनीतिक दलहरूले चासो नदिएकोमा हाम्रो आपत्ति छ।’ नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले प्रदेशको नाम नेवाः ताम्सालिङ नहुन्जेल आन्दोलन जारी राखिने बताए। ‘प्रधानमन्त्री ओली राजा महेन्द्रको बाटो गलत भन्थे, हामीले आन्दोलनमा साथ दियौं,’ उनले प्रश्न गरे, ‘त्यही ओली राजावादी अवतार किन लिन खोज्दै छन् ?’ देशमा ३७ प्रतिशत जनसंख्या आदिवासी जनजाति भए पनि शासन सत्ता जातीय, नश्लीय भएको भन्दै त्यो भत्काउन आदिवासी जनजाति लागिपरेको दाबी गरे। ‘हामीले पहिचान मागेर रगत बगाएका हौं, कुनै खोला, मन्दिर र भूगोलले पहिचान माग्दैनन्,’ उनले भने।

प्रदेश सांसद प्रेमबहादुर पुलामीले संघीयता, लोकतन्त्र, गणतन्त्र ल्याउन नेवाः ताम्सालिङले महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रदेशको नाम बाग्मती, पशुपती राख्ने तयारी भइरहेकोमा असन्तुष्टि जनाए। ‘बाग्मतीले ल्याएको हो गणतन्त्र ? पशुपतिले ल्याएको हो ?’ आक्रोशित हुँदै उनले भने, ‘तपाईं हाम्रो रगत र पसिनाले ल्याएको हो, बेलैमा सचेत होऔं।’ प्रदेश सांसदहरू कुमारी मोक्तान, ओम घलान, संघीय समाजवादी नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पा, नेकपाका नेता कमानसिंह लामा, नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष परशु लामा, नेपाल तामाङ घेदुङ संघका अध्यक्ष मोहन गोलेलगायतले प्रदेशको नाम नेवाः ताम्सालिङ राखिए मात्र दीर्घकालसम्म शान्ति, समृद्धि र सुशासन आउने भन्दै सरकार र नेताहरू बेलैमा सचेत हुनुपर्नेमा जोड दिए।

प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाउने तयारी गरिरहेका बेला नेवाः ताम्सालिङ समन्वय समितिले नामकरण भूगोलका आधारमा नभई पहिचानका आधारमा गर्न खबरदारी गरेका हुन्। कार्यक्रमअघि हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको प्रांगणबाट निकालिएको र्‍याली हेटौंडा बजारको परिक्रमा गर्दै बुद्धचोकमा पुगी कोणसभामा परिणत भएको थियो।

प्रकाशित: ५ माघ २०७५ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App