७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, चलाइयाे एन्टिबायोटिक औषधि

फाइल तस्बिर

काठमाडौं - विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन माग राखेर १० दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जले केसीको अवस्था गम्भीर रहेको जनाएको छ। इलाममा अनशन बसेका डा. केसीलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार राति हेलिकोप्टरमा ल्याएर त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गएिको छ।

केसीको स्वास्थ्य अवस्थाबारे अस्पतालका निर्देशक डा. प्रेम खड्कले भने, ‘स्वास्थ्य गम्भीर रहेको उपचारमा संलग्न मेडिकल टोलीले जानकारी गराएको छ।’ खड्काका अनुसार केसीको रगतमा ग्लुकोज र फोस्फोरसको मात्रा कम भइसकेको छ। उनको फोक्सोमा पनि संक्रमण भएकाले एन्टिबायोटिक औषधि चलाइएको छ। शरीरमा अक्सिजनको मात्रा र रक्तचाप पनि घटेको छ। केसीलाई मेडिकल चिकित्सकको निगरानीमा राखिएको निर्देशक खड्काले बताए। केसीको शुक्रबारको स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको बुलेटिन त्रिवि शिक्षण अस्पतालले आइसियू कक्षबाहिर पनि टाँसेको छ।

केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालका चिकित्सकको एक टोली बनाइएको छ। उपचार टोली संयोजकमा आइसियू तथा क्रिटिकल केयर विशेषज्ञ डा. सुवास आचार्य छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट इलाम खटिएको विशेषज्ञ चिकित्सक टोलीले केसीको स्वास्थ्य अवस्था गम्भीर भएको बताएपछि उनलाई काठमाडौं ल्याइएको हो।

सहमति कार्यान्वयन गर्न माग
यसैबीच मानव अधिकार तथा शान्ति समाज खोटाङले डा. केसीसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत समाजले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउँदै केसीको अनशनलाई उचित निकास दिन ध्यानाकर्षण गराएको हाम्रा संवाददाता दमन राईले जनाएका छन्।

डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको समाजले जनाएको छ। विगतमा डा. केसीसँग भएका सहमति अक्षरशः कार्यान्वयन गरेर सोही विषयमा फेरि अनशन र आन्दोलन गर्नुपर्ने परिस्थिति उत्पन्न हुन नदिन समाजले सरकारलाई आग्रह गरेको छ। चिकित्सा शिक्षा सुधार अभियन्ता केसीसँग बारम्बार गरिएका सहमति कार्यान्वयनमा आलटाल गर्दा जनतामा वितृष्णा आउने र सरकारप्रति पनि जनताको विश्वास घट्नेतर्फ समाजले ध्यानाकर्षण गराएको छ। संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरिनु दुर्भाग्यपूर्ण भएको समाजका खोटाङ अध्यक्ष नारायणदास राईले बताए।

केसीको समर्थनमा फिदिममा र्‍याली
यसैगरी पाँचथर सदरमुकाम फिदिममा डा. केसीको समर्थनमा शुक्रबार र्‍याली निकालिएको छ। फिदिमका युवाको अगुवाइमा निकालिएको र्‍याली फिदिम बजार परिक्रमा गरी गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको संवाददाता गिरिराज बाँस्कोटाले जनाएका छन्। केसीसँग भएका सम्झौता कार्यान्वयन नभएसम्म चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाउने घोषणसमेत युवाले गरेका छन्।

र्‍यालीमा विभिन्न पेसाकर्मी, स्वास्थ्यकर्मी, व्यवसायी, गृहिणी तथा युवा सहभागी थिए। ‘हामी डा. केसीसँगै छौं, डा. केसीसँग भएका सम्झौता पूरा गर, स्वास्थ्य र शिक्षामा व्यापार रोक’ जस्ता नारा लेखिएका प्लेकार्ड र्‍यालीमा प्रदर्शन गरियो। कोणसभालाई सम्बोधन गर्दै नागरिक अगुवा प्रेम ओझाले केसीसँग भएको सम्झौता कार्यान्वयन गर्न सरकारले ढिलाइ गर्न नहुने बताए। ‘सरकारले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने काम गरेको छ। यो अधिकारसँग जोडिएको आन्दोलन हो। सरकारले समयमा सोच्न सकेन भने गम्भीर अवस्था आउन सक्छ’, उनले चेतावनीपूर्ण शैलीमा भने, ‘केसीसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई दबाब दिनुपर्छ।’ त्यस्तै आदिवासी जनजाति महासंघ पाँचथरका पूर्वअध्यक्ष लोकेन्द्र आलेमगरले तत्काल सम्झौता कार्यान्वयन गर्नुको विकल्प नभएको बताए। सभालाई सुरेश शाह, सुवराज थापा, विकास थापालगायतले सम्बोधन गरेका थिए। उनीहरूले पूर्वी पहाडमा सरकार आफैंले मेडिकल कलेज खोल्नुपर्ने माग पनि गरे।

प्रकाशित: ५ माघ २०७५ ००:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App