४ वैशाख २०८१ मंगलबार
राजनीति

कानून विपरित विदेशी बैंकमा पैसा राख्ने वा ल्याउने विषय सैह्य हुँदैन : प्रधानमन्त्री

संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओली। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानून विपरित विदेशी बैंकमा पैसा राख्ने वा ल्याउन नपाउने बताएका छन्।

संसद बैठकमा प्रधानमन्त्री सँगको प्रश्नोत्तरमा सांसदहरुका प्रश्ननको जवाफ दिँदै उनले चर्चामा आएका विषयलाई सरकारले आवश्यक खोज र छानविन गर्ने बताए।

खोज पत्रकारिता केन्द्र (खोपके) ले ५५ नेपालीको विदेशमा लगानी तथा स्विस बैंकमा पैसा रहेको खुलासा गरेको थियो।

सांसद खगराज अधिकारीले नेपालीको विदेशमा अबैध रकम रहेको विषयमा छानविन गर्न माग गरेका थिए। उनले गैरकानुनी विदेशी लगानीबारे छानविन तथा कारबाहीको माग गरेका थिए। प्रधानमन्त्रीले छानविन गरेपछि सत्यतथ्य बाहिर आउने बताउँदै त्यसपछि थप भन्न सकिने बताए। उनले चर्चामा आएका विषयमा सरकारको ध्यान गएको बताए।

कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्रीको स्विजरल्याण्ड भ्रमणमा नेपालीले स्विस बैंकमा राखेको रकमको विषयमा कुरा गर्नेबारे सरकारको कस्तो तयारी छ भन्दै प्रश्न गरे।

विदेशमा पैसा राख्ने विषय कानूनको पालनासँग सम्बन्धित विषय भएको बताउँदै प्रधानमन्त्रीले यो भ्रष्टाचारको कुरा पनि भएको बताए।

सरकार शुसासन र विकासका लागि प्रतिबद्ध रहेको भन्दै उनले भ्रष्टाचार उल्मूलन र पारदर्शिताका निम्ति सरकार प्रतिबद्ध रहेको बताए।

विदेशमा पैसा रहेका भनिएका केही व्यक्तिले खण्डन पनि गरेको भन्दै उनले कानून विपरित गएर लगानी गर्ने भन्ने विषय सैह्य नहुने बताए।

खोपकेले बुधबार सार्वजनिक गरेको रिपोर्ट अनुसार स्विस बैंकमा ५५ नेपालीका नाममा ४६ करोड आठ लाख २१ हजार स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार ५२ अर्ब सात करोड २७ लाख ७३ हजार रूपैयाँ) बचत गरेको तथ्य सार्वजनिक भएको थियो। यसबापत उनीहरूले ६९ लाख ७४ हजार स्विस फ्र्यांक (७७ करोड ४१ लाख १४ हजार रूपैयाँ) ब्याजसमेत पाइसकेका छन्। 

 नेपाल सरकारको अनुमती विनै विदेशमा नेपालीले लगानी गर्न नेपालको कानूनले पूर्णरुपमा बन्देज गरेको छ। विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ ले नेपालीलाई विदेशमा कुनै पनि प्रकारको लगानी गर्न निषेध गरेको छ। यो ऐन अन्तर्गत सजाय हुने कसूर सम्बनुधी मुद्दामा नेपाल सरकार वादी हुने व्यवस्था रहेको छ। खोपकेको खोज अनुसार नेपालमा कर छल्ने वा कुनै गैरकानूनी ढंगले कमाइएको रकम सम्पत्तिको स्रोतमा निगरानी नराख्ने र कर छल्नका लागि सुरक्षित स्थान मानिने ‘ट्याक्स हेवन’ मुलुक पुर्‍याउने र प्रत्यक्ष वैदेशिक लगानी भन्दै पुनः नेपालमै भित्र्याउने गरेको भेटिएको छ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ को प्रस्तावनामा नै सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न विदेशमा लगानी गर्नमा प्रतिवन्ध लगाउने व्यवस्था गर्नु वाञ्छनीय भएकोले भन्ने उल्लेख गरिएको छ। नेपाल भित्र वा बाहिर जहाँसुकै रहे बसेको भएता पनि सबै नेपाली नागरिक र नेपाल भित्र स्थापित भएको संगठित संस्थाहरुलाई लागू हुने ऐनमा ब्यवस्था गरिएको छ।

 

 

 

प्रकाशित: ४ माघ २०७५ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App