६ वैशाख २०८१ बिहीबार
अन्य

‘दुई वर्षमा वडाका सडक धुलोमुक्त बनाउनेछौं’

जगन्नाथ ढकाल, वडा अध्यक्ष, टोखा नगरपालिका– ५

जनप्रतिनिधि भएर आएपछि के–के काम गर्नुभयो ?
जनप्रतिनिधि निर्वाचित भएर आउँदा वडामा समस्या नै समस्याको चाङ थियो। जता हेर्‍याे त्यतै समस्या नै समस्या थियो। निर्वाचित भएर आएसँगै जनताको समस्यालाई पहिलो चरणमा प्राथमिकतामा राखेर काम सुरुवात गर्न थाल्यौं। २० वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा अस्तव्यस्त र लथालिंग अवस्थाबाट गुज्रिदैं आइरहेको थियो। त्यसैले हामीसँग भएको सीमित स्रोतसाधनको अधिकत्तम उपयोग गर्दै काम गरिरहेका छौं।

जनप्रतिनिधि भएर आएपछि वडामा सडक, ढल, खानेपानी लगायतका पूर्वाधार निर्माणमा काम गरेका छौं। विएन एकेडेमी अगाडिको सात सय मिटर सडकमा ढलान गर्‍याैं। पारिजात पथमा करिव ५ सय मिटर सडकमा ढल, खानेपानीका पाइप राखेर ढलान सम्पन्न गरेका छौं। सिद्देश्वर टोलमा एक सय २० मिटर सडक, शान्ति टोलमा १ सय ६० मिटर सडक, प्रगति टोलमा १ सय ६५ मिटर सडक ढलान गरेका छौं। त्यसैगरी बासुदेव मार्गदेखि मैत्री कोलनी जाने साँघुरो बाटोलाई चार मिटर चौडा सडक बनाएर ढलान गरेका छौं।

त्यस्तै गरी अन्य स्थानका सडक पनि ढलान गर्ने प्रक्रिया अघि बढेको छ। कालोपत्रे सडक लामो समय नटिक्ने भएकाले सडक ढलान गर्नेतर्फ वडा कार्यालय अग्रसर छ। वडाका हरेक विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागिता र निगरानीलाई समावेश गरेर अघि बढेका छौं। सडक उपयोग गर्ने नै वडावासी हुन्। त्यसैले आफ्नो वडामा हुने हरेक विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराइरहेका छौं। जसबाट गुणस्तरीय तथा दिगो काम भइरहेको छ।

तपाईँको वडामा कतिपय सडक लथालिंग अवस्थाबाट गुज्रिएका छन्, कहिलेसम्म मर्मतसम्भार गर्नहुन्छ ?
वडा कार्यालयले वडामा भएका सम्पूर्ण सडक व्यवस्थित गर्न सकेका छैनौं। श्रीमार्गदेखि बसुन्धरा चोकसम्मको सडक भत्किएर लथालिंग छ। बासुदेव मार्गदेखि काठमाडौं महानगरपालिका वडा नं ३ सम्मको आठ सय मिटर सडक खण्डको पिच भत्किएर खाल्डाखुल्डी भएको छ। पर्याप्त बजेट अभावले सडक मर्मतसम्भार गर्न पाएका छैनन्।

वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाबाट सर्वसाधारण पीडित भइरहेका छन्। नमुना टोलदेखि बिएन एकेडेमीको गेटसम्मको तीन समय मिटर सडक ढलान भइरहेको छ। वडा कार्यालयले ती सडकलाई दुई वर्षे कार्ययोजना बनाएर व्यवस्थापन गर्ने योजना अघि सारेका छौं। अबको दुई वर्षमै वडामा रहेका करिव तीन किलोमिटर कच्ची सडकलाई ढलान गरेर व्यवस्थित गर्ने लक्ष्य राखेका छौं।

तपाईँको वडामा ढलको समस्या अत्यधिक देखिन्छ, कसरी व्यवस्थापन गर्दै आउनुभएको छ ?
पहिला सानो क्षमताको ढल निर्माण गरियो। तर, अहिले  अत्यधिक मात्रामा घर थपिए। जसको कारणले पुरानो ढलको पाइपले बाक्लो वस्तीको ढल थेग्ने कुरै भएन। जसको कारणले ढलको समस्या ठूलो देखिएको हो। उत्तरतर्फबाट भेलबाढी बगेर वडामा आउने समस्या छ। जसको कारणले वर्षायाममा भेलबाढीले समस्या निम्तिएको छ। वडावासीले आ–आफ्नो घरमा सेफ्टी ट्यांकी समेत निर्माण गरेका छैनन्। सबैको मलमुत्रसहितको ढलको कारणले बेलाबेलामा ढल जम्ने समस्या देखिएको छ। वडावासीले सेफ्टी टंयाकीको ढल सोझै विष्णुमती र सामाखुसी खोलामा फ्याँकिरहेका छन्। वडा कार्यालयले अहिले सेफ्टी ट्यांकी अनिवार्य निर्माण गर्न अनुरोध गरिरहेका छन्। वडा कार्यालयले ढल निर्माण तथा मंगाल तथा ढल मर्मतसम्भार निरन्तर गरिरहेको छ।

तपाईँको वडामा खानेपानीको हाहाकार छ, कसरी व्यवस्थापन गर्दै हुनुुहुन्छ ?
वडामा खानेपानीको विकराल समस्या छ। जसको कारणले वडावासी काकाकुल छन्। मेरै घरमा पानी नआएको ४५ दिन भइसक्यो। वडामा दुई वटा खानेपानीका बोरिङ थिए। ती पनि बिग्रिएर काम नलाग्ने भएका छन्। माग अनुसार आपूर्ति गर्न नसक्दा खानेपानीको समस्या भएको हो। खानेपानी मन्त्रालयसँग समन्वय गरेर ४७ लाखको बोरिङ खन्यौं। तर, भदौदेखि वितरण गर्न सकिएको छैन। यसको कारण हो– काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वितरण प्रणाली बनाउन नसक्नु। मेलम्ची खानेपानी आएको खण्डमा बाँसबारी खण्डको पानी डाईभर्ट गरेर टोखामा वितरण गर्न सकिन्थ्यो। तर, मेलम्ची आउने अनिश्चिित हुँदा समस्या भइरहेको छ। भौतिक पूर्वाधार मन्त्रालयले ३० करोड रूपैयाँ टोखा नगरपालिकालाई दिने सहमति भएको छ। उक्त रकम आएमा टोखामा पाँच वर्षमै खानेपानी सहज रूपले वितरण गर्न सक्थ्यौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट गत आवमा वडा कार्यालयका लागि एक करोड २० लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। चालू आवमा एक करोड ३० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै गरी नगरपरिषद्बाट ७५ लाख रूपैयाँ विनियोजन भएको छ। वडा र नगरपरिषद्को बजेटबाट सडक, खानेपानी, ढल लगायतका योजनालाई प्राथमिकता दिएका छौं। वडा कार्यालयसँग पर्याप्त बजेट नहुँदा ठूला योजना अघि बढाउन समस्या भइराखेको छ। तर, हामी  नगरपालिकासँग निर्भर भएका छैनौं। प्रदेश तथा संघीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छौं।

तपाईँको वडामा अव्यस्थित प्लटिङ तीव्र गतिमा भइरहेको छ, कसरी नियन्त्रण गर्नुहुन्छ ?
२० वर्ष स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो। जनप्रतिनिधि नहुँदा भूमाफियाले जभाभावी ढंगले जग्गा प्लटिङ गरे। भूमाफियाले पहाडै भत्काएर अनाधिकृत प्लटिङ गरे। जग्गा प्लटिङ देख्नेबित्तिकै सर्वसाधारणले आवश्यक मापदण्डबिनै धमाधम जग्गा खरिद गरे। जसको कारणले अनाधिकृत ढंगले प्लटिङ गरेको जग्गामा खानेपानी, सडक, विद्युत लगायतका आवश्यक पूर्वाधार लैजान समेत निकै समस्या भइरहेको छ। दलालले बांगोटिंगो र तोडमोड गरेर बनाएका सडकमा आधारभूत पूर्वाधार पुर्याउनसमेत समस्या भइरहेको छ। अहिले जनता गुनासा बोकेर आउँछन्। तर, हामीलाई व्यवस्थापन गर्न निकै समस्या भइरहेको छ।

तपाईँको वडामा सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ ?
वडामा करिव आठ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ। सामाखुसी किनारको जग्गा अतिक्रण गरेर अहिले कवाडीखाना बनाइएको छ। त्यही ठाउँमा सुकुम्बासीले सार्वजनिक जग्गा अतिक्रमण गरेर टहरा निर्माण गरेर बसेका छन्। अतिक्रमणमा परेको सार्वजनिक जग्गा हटाउनको लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल पनि ग¥यौं। सार्वजनिक जग्गाको अभिलेखीकरण र कानुनी प्रक्रिया पूरा गरेर अतिक्रणमा परेको जग्गा फिर्ता ल्याउनेछौं। त्यस्तै गरी कल्की नारायण परिसरमा ११ रोपनी सार्वजनिक जग्गा छ। त्यहाँ विभिन्न प्रकारका मन्दिर छन्। उक्त स्थानमा करिव तीन रोपनी १२ आना सार्वजनिक जग्गामा व्यवस्थित खालको पार्क निर्माण गर्ने योजना बनाएका छौं। यसै आर्थिक वर्षमा पार्क निर्माणको लागि २५ लाख रूपैयाँ विनियोजन गरेका छौं। उक्त पार्क दुई करोड १० लाखको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं।

लक्षित वर्गलाई कस्ता योजना अघि सार्नुभएको छ ?
वडा कार्यालयले वडामा रहेका सीप सिक्न चाहने युवालाई मेकानिकल, प्लम्बिङ लगायतका सीपमूलक तालिम दिइरहेका छौं। महिलाहरूको लागि व्यावहारिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं। ज्येष्ठ नागरिकलाई जाडोयाममा ब्लाङ्केट तथा थर्मस वितरण गर्यौं। लक्षित वर्गलाई सस्तो प्रचारबाजी कार्यक्रम भन्दा दीर्घकालिन योजना अन्तर्गतका कार्यक्रम सञ्चालन गरिरहेका छौं। १२ देखि १८ वर्षसम्मका किशोरीलाई आत्मरक्षा तालिम दिएका छौं। जसबाट किशोरीमाथि हुने हिंसा अन्त्य गर्न सघाउ पुर्याउनेछ। महिला हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम पनि निरन्तर गरिरहेका छौं।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
वडामा करिव तीन किलोमिटर कच्ची सडक छन्। ती सडक दुई वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं। दुई वर्षमा वडाका सडक धुलोमुक्त बनाउनेछौं। वडाको विभिन्न सात स्थानमा सिसी क्यामेरा जडान गर्ने योजना बनाएका छौं। जनतासँग प्रतिनिधि कार्यक्रम ल्याउन लागेको छु। टोल–टोलमा गएर स्थानीयसँग विविध विषयमा छलफल योजना तथा कार्यक्रम अघि सार्ने योजना छ। जनतासँग जनप्रतिनिधी कार्यक्रमले वडाको हरेक कार्यक्रम पारदर्शी र जवाफदेही बनाउन सहयोग पुर्याउनेछ।
                           प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: ४ माघ २०७५ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App