coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कहाँ हरायो वामन जात्रा ?

उपत्यकाको प्राचीन संस्कृति, सभ्यता, किंवदन्ती र मौलिकता बोकेका धेरै जात्रा–पर्वहरू लोप भइसके। संरक्षणको अभावमा केही जात्राहरू लोपोन्मुख अवस्थामा छन्। लोप भइसकेका जात्रापर्वको उदाहरण धेरै भेटिन्छन्।

त्यसमध्ये पशुपतिका उपलिंग यात्रा, शोभन यात्रा, लिंग यात्रा, नागचा प्याँख (महादेव पार्वती नाच), कुण्ड यात्रा, बोडे नीलिबाराही नाच र उपत्यकाका तीन जिल्लामा मनाउने गरिएको १५ सय पुरानो वामन जात्रालगायतलाई लिन सकिन्छ। त्यस्तै, खड्ग जात्रा (पायो जात्रा), कोजाग्रत पूर्णिमामा नचाइने नवदुर्गा नाच र हवन पर्वलगायत लोपोन्मुख मानिन्छन्। यी पर्व हरेक वर्ष देखाउनुपर्ने प्रचलन रहेता पनि कलाकारको अभाव, कमजोर व्यवस्थापन र आर्थिक अभावले फाट्टफुट्ट मात्रै देखाउने गरिएको छ।

अहिले चासो यी संस्कृति पनि पूरै लोप हुने संस्कृतिविद् हरिराम जोशीको भनाई छ। उनका अनुसार पाटन दरबार क्षेत्रसँग सम्बन्धित ७÷८ वटा पर्व लोप भइसकेका छन्। केही नाच स्थानीय र सरकारी निकायको प्रयासमा जीवित छन्। तर, सञ्चालन भएका जात्राले पूर्णता पाएका छैनन्। संस्कृति धान्नका लागि मात्रै मनाउने गरिएजस्तै देखिन्छ। ‘हाम्रा पुराना सभ्यताको कुनै लेखाजोखा नै छैन, प्रमाण भएका र समाजले मान्दै आएका पर्वहरू अहिले देखिन्छन्,’ संस्कृतिविद् जोशीले भने, ‘प्रमाण नभएका र समाज परिर्वतनसँगै बिर्सिएका पर्वहरू पनि धेरै छन्, यो खोजीको विषय हुनसक्छ।’ 

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार कुनै ताका उपत्यकाभित्र अत्यन्तै लोकप्रिय मानिएको वामन जात्रा पनि समाज र अहिलेको पुस्ताले बिर्सिसकेको छ। १५ सय वर्षपहिले ललितपुर पाटन क्षेत्रका स्थानीयले वामन जात्रालाई मौलिक जात्राको रूपमा लिन्थे। उक्त समय यो जात्रा अहिले उपत्यकाकै लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथ जात्रा जस्तै चर्चित थियो। त्यसको जर्गेनातर्फ समुदायले पनि ध्यान नदिदा पर्व लोप भएको हो। ‘प्राचीन संस्कृतिले त्यसबेलाको समाज र मानव इतिहास सम्झना गराउँछ,’ संस्कृतिविद् सत्यमोहन जोशीले भने, ‘१५ सय वर्ष पुरानो वामन जात्रा अहिले पात्रोमा मात्र सीमित भएको छ, यसलाई सम्झने र यस्तो थियो है भनेर बोल्न सक्ने धेरै मानिस छैनन्, सीमित बूढापाकाले मात्रै यसबारे भन्न सक्छन्।’

करिब १५ सय वर्षअघि राजा मानदेवले सुरु गरेको वामन जात्रा सय वर्ष अघिसम्म जीवित रहेको उनी बताउँछन्। पुराणमा उल्लेख भए अनुसार माता अदितिले भगवान विष्णुको तपस्या गर्दा तपस्याबाट प्रसन्न भई भगवान विष्णुले उनको पुत्रका रूपमा जन्मेर वामनरूप धारण गरेका थिए। तपस्याबाट खुसी भएका भगवान विष्णुले माता अदितीका पुत्र देवगण र राजा इन्द्रलाई असुरराज बलिका भयबाट वामनले मुक्ति प्रदान गर्ने वर दिएका थिए भनिन्छ। आफ्नो वचन पालन गर्न भगवान् विष्णुले भदौ शुक्ल पक्ष द्वादशी तिथिका दिन कश्यपपत्नी माता अदितिका कोखबाट जन्म लिएका थिए।

पुराणमा उल्लेख भएबमोजिम राजा मानदेवले पनि आफ्नी आमालाई खुसी पार्न जात्रा सुरु गरेको इतिहास छ। यस जात्रालाई वामन जयन्ती भन्ने चलन पनि छ। तर, यो पर्व लोेप भइसकेकोले पछिल्लो पुस्ताले यसको महत्व नबुझ्ने संस्कृतिविद् जोशीले बताए।

राजा मानदेवले उक्त जात्रा सुरु गर्नको लागि राज दरबारको पछाडि धोविचौरमा सानो थुम्कोमा मन्दिर बनाएर वामनको मूर्ति राखिएको थियो। तर, अहिले उक्त स्थानमा नामनिसाना मेटिएको छ। वामनको मूर्तिलाई राष्ट्रिय संग्राहलय छाउनीमा लगेर राखिएको छ।

वामन मन्दिरको मूर्तिलाई उक्त समय स्वर्ण युगको मूर्तिको रूपमा लिने गरिएको इतिहास छ। ताम्रलेप र कपरले बनेको वामनको मूर्ति कपर पोलिसले बनेको संस्कृतिविद् जोशीले बताए। १५ सय वर्ष पुरानो उक्त जात्रा सनातन, बौद्ध र अन्य धर्म मान्ने मानिसहरुले पनि आत्मसाथ गरेको इतिहास छ। यो जात्रा नेपालको इतिहासमा सबैभन्दा ठूलो जात्रा थियो। यस जात्रालाई राजा मानदेवले केहि परिमार्जन गरी सुरु गरेका थिए। धार्मिक मान्यताअनुसार यो जात्रा मनाउँदा सुयोग्य सन्तति प्राप्त हुने तथा भएका सन्ततिहरूको आयु, आरोग्य र सम्मृद्धिमा वृद्धि हुने साथै भगवान् वामनले तिनलाई समस्त कष्टहरूबाट मुक्त हुने परम्परा रहिआएको छ।

संस्कृतिविद्हरूका अनुसार यो जात्रा अहिले चलिरहेको रातो मच्छिन्द्रनाथ जात्रा भन्दा पनि लोकप्रिय रहेको थियो। राजा मावदेवले सुरु गरेको यो जात्रा हरेक वर्ष भदौ  शुक्ल द्वादशीका दिन मनाइने गरिन्थ्यो। तर, प्राकृतिक प्रकोप र परम्परा बदलिँदै जादा उक्त संस्कृति लोप भएको विज्ञ बताउँछन्। ‘पुराना जात्रालाई जर्गेना गर्नुको साटो भुल्नु राज्यले आफ्नै देशको संस्कृतिमाथि गरेको बेवास्ता हो,’ उनले भने, ‘समाजको परिवर्तनशीलता र राज्यको बेवास्ताm् हाम्रा धेरै पर्व लोप भइसकेका छन्।’

प्रकाशित: ४ माघ २०७५ ०४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App