coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चन्द्रमामा उम्रिएका बिरुवा मरे

बेइजिङ – चीनको अन्तरीक्ष अभियानले चन्द्रमामा उमारेको कपासका टुसा रातको चिसो खप्न नसकेर मरेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन्। चिनियाँ अन्तरीक्ष अभियान चांगीले चन्द्रमाको परको भूभागमा लिएर गएका कपासका बिउ टुसाएको भन्दै बेइजिङले मंगलबार फोटा सार्वजनिक गरेको थियो।

यद्यपि चन्द्रमामा पहिलो पटक हासिल भएको जैविक अनुसन्धानको यो उपलब्धी सार्वजनिक गर्दा ती टुसा मरेको जानकारी भने चीनले दिएको थिएन। अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेसनमा यसअघि पनि बोटबिरुवा उमार्ने गरिएको भए पनि चन्द्रमामा बिरुवा उमारिएको भने यो पहिलो पटक हो।

पहिलो पटक चन्द्रमामा उमारिएका ती बिरुवा रातको चिसोका कारण मरेको बताइएको छ। विशेष किसिमको भाँडोभित्र उमारिएको भए पनि ती बिरुवाले रातको समयमा घटेको तापक्रम खप्न नसकेर मरेको चन्द्रमामा बिरुवा उमार्ने योजना बनाउने एक वैज्ञानिकले चिनियाँ समाचारसंस्था सिन्ह्वालाई बताएका छन्। माइनस एक सय ७३ देखि सयडिग्री सेल्सियससम्म तलमाथि भइरहने चन्द्रमाको सतहको तापक्रम बिरुवा हुर्कनलाई उपयुक्त हुने अवस्थामा कायम राख्नु सबैभन्दा ठूलो चुनौती मानिएको छ।

चन्द्रमामा बिउ उमार्ने प्रयोगको नेतृत्व गर्ने एक प्राध्यापकलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार चन्द्रमामा कपासबाहेक तोरी र आलुका बिउ पनि उमारिएको छ। यो प्रयोगलाई लामो समय लाग्ने अन्तरीक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम भनिएको छ। चीनको ‘चांगी फोर’ नामको अन्तरीक्षवाहन पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा अवतरण गर्ने पहिलो वाहन बनेको थियो। उक्त यान यसै वर्षको जनवरी ३ का दिन चन्द्रमाको पृष्ठभागमा अवस्थित क्षेत्रको भौगोलिक अनुसन्धान गर्न उपकरणहरूसहित त्यहाँ अवतरण गरेको थियो।

चन्द्रमामा बिरुवा उमार्न सकिने अवस्थालाई साढे दुई वर्ष समय लाग्ने मंगल ग्रहतर्फको यात्राजस्ता भविष्यमा हुने लामो दूरीका अन्तरीक्ष अभियानका लागि निकै महत्वपूर्ण हुनसक्ने बताइएको छ। यो सफलताको अर्थ अन्तरीक्षयात्रीले अन्तरीक्ष यात्रामा रहेका बेला आफ्नो लागि आवश्यक खानेकुरा उमारेर प्रयोग गर्न सक्नेछन् भन्ने हो। त्यसो हुन सकेमा अन्तरीक्षयात्रीले खानेकुरा लिनकालागि बारम्बार पृथ्वीमा फर्कनुपर्ने बाध्यता हट्ने छ। चन्द्रमामा अवतरण गरेको चिनियाँ अन्तरीक्षवाहनले कपास र आलुका बिउसहितको माटो, मर्चा र एक प्रकारको झिंगाको अन्डा लगायतका वस्तु लिएर गएको थियो।

चन्द्रमामा कसरी बिउ उमारियो ?
चन्द्रमामा बिरुवा उमार्न चन्द्रवाहनमा बाहिरबाट केही पनि पस्न नसक्नेगरी बन्द गरिएको सिसाको भाँडो लगिएको थियो। सोही भाँडोमै बिउ राखिएको थियो। उम्रिएका बिरुवाले त्यस्तो भाँडाभित्र सुक्ष्मजैविक मण्डलको सिर्जना गर्छन् र त्यस्तो कृत्रिम वातावरणमा ती आफै हुर्कन्छन्। १८ सेन्टिमिटर अग्लो र तीन केजी तौल भएको त्यस्तो कृत्रिम जैविकमण्डल सिर्जना हुने भाँडाको डिजाइन चीनका २८ वटा विश्वविद्यालयले संयुक्त रूपमा तयार पारेका थिए। उक्त प्रयोगात्मक भाँडामा सुक्ष्मजीवाणुलाई हुर्कन पुग्ने हावा, पानी र पोषण उपलब्ध गराइएको छ।

प्रकाशित: ४ माघ २०७५ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App