coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार

धादिङ - सँगै मर्ने सँगै बाँच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका धादिङका कैलाश अधिकारी र सान्नानी अधिकारी (नाम परिवर्तन) को सम्बन्ध पाँच वर्ष पनि टिक्न सकेन। पत्नी र आमाबुबालाई सुख दिने अभिलाषा बोकेर तीन वर्ष (२०७२ साल) अघि कैलाश मलेसिया गए। दुई वर्ष काम गरेर गत वर्ष मात्रै घर फर्किएका उनले पत्नी सान्नानीबाट पहिलेको जस्तो माया पाएनन्। विदेशबाट फर्किएको केही दिन राम्रै सम्बन्ध रहे पनि आफू विदेशमा हुँदा पत्नीले परपुरुषसँग सम्बन्ध राख्ने गरेको गाइँगुइँ चलेपछि उनीहरूबीच सुरु भएको खटपट बोलचाल बन्द हुने स्थितिमा पुग्यो।

सासुससुराले पनि सान्नानीलाई नराम्रो व्यवहार गर्न थाले। दिनहुँ पतिको कुटाइले थकित बनेपछि उनले सम्बन्ध विच्छेदका लागि निवेदन दिइन्। अन्ततः जिल्ला अदालतमा उवीहरूको सम्बन्ध विच्छेद भयो। सम्बध विच्छेदपछि कैलाश मलेसियामा नै छन् भने सान्नानी छोरीलाई लिएर धादिङबेंसीमा बस्दै आएकी छन्। वैदेशिक रोजगारीले पति–पत्नीबीचको सम्बन्धमा प्रतिकूल प्रभाव पारेको उदाहरण धादिङमा थुप्रै भेटिन्छन्। घरपरिवारलाई सुख दिने सपना बुनेर विदेश गएकाहरूलाई यस्ता घटनाले निरास बनाउने गरेको छ।

नयाँ मुलुकी ऐन लागू भएपछि हालसम्म धादिङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ९४ वटा मुद्दा परेका छन्। तीमध्ये २७ वटा मुद्दा पुरुषले दायर गरेका हुन्। मुद्दा दायर गर्ने अधिकांश पुरुष वैदेशिक रोजगारीबाट फर्किएकाहरू रहेको कार्यालयले जानकारी दिएको छ। सम्बन्ध विच्छेदका घटना अस्वाभाविक वृद्धि त छँदै छ, यसका कारण पनि सामान्य मात्र छैनन्। आर्थिक, सामाजिक र जात विशेष मात्र नभई वैदेशिक रोजगारीले परिवारसँग छुट्टिएर बस्नुपर्दा पनि सम्बन्ध विच्छेदका घटना धेरै भइरहेका छन्।

पत्नीले घरव्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा रहँदा धनसम्पत्ति हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध जोडेकोजस्ता आरोपसहित सम्बन्ध विच्छेदका मुद्दा लिएर अदालत जानेहरूको संख्या धेरै रहेको छ। धादिङ अदालतमा सबैभन्दा धेरै मुद्दा नै सम्बन्ध विच्छेदको पर्ने गरेको जिल्ला अदालतले जनाएको छ। पछिल्ला केही वर्षयता जिल्लामा सम्बन्ध विच्छेद गर्ने दम्पत्तीको संख्या बढ्दै गएको छ। दैनिकजसो सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेको जिल्ला अदालत धादिङका स्रेस्तेदार नवराज दंगालले जनाए।

विवाहित पुरुष वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै पति–पत्नीको सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ, जुन अन्ततः सम्बन्ध विच्छेदमै पुगेर टुंगिने गरेको छ। वैदेशिक रोजगारी र कम उमेरमा विवाहका कारण सम्बन्ध विच्छेदको घटनामा तीव्र वृद्धि भएको स्रेस्तेदार दंगालले बताए। ‘पति–पत्नीबीचका अधिकांश सम्बन्ध विच्छेद वैदेशिक रोजगारका कारण नै हुने गरेको पाइन्छ,’ स्रेस्तेदार दंगालले भने, ‘वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्किएपछि पति–पत्नीको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्ध विच्छेद गर्ने चलन बढ्दो छ।’

पुरानो मुलुकी ऐनमा महिलाले अदालतमा सिधै नालिस दिएर सम्बन्ध विच्छेद गर्न पाइने तर पुरुषले भने स्थानीय निकायको सिफारिसमा मात्रै मुद्दा हाल्न पाइने व्यवस्था थियो। हाल नयाँ मुलुकी ऐनले दुवैलाई जिल्ला अदालतमा गएर सम्बन्ध विच्छेदका मुद्दा दायर गर्न पाउने व्यवस्था गरेपछि जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा बढ्दै गएको हो। वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्कने पुरुषले पत्नीको आचरणमाथि शंका गर्नु, पति विदेशमै रहेका बेला परपुरुषसँग पत्नीको सम्बन्ध जोडिनुजस्ता कारणले जिल्लामा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या दिनप्रतिदिन बढ्दै गएको अधिकारकर्मीहरूको भनाइ छ।

कुनै समय नेपाली समाजमा कोहीकसैलाई अन्याय परेको खण्डमा अड्डाअदालत जानुभन्दा गाउँका भद्रभलाद्मी बसेर दुई पक्षलाई तामातुलसी भकाउने, धर्मको डर मान्ने, पापपुण्यको अवधारणा राख्ने गरिन्थ्यो। समयको अन्तरालसँगै न्याय माग्ने पुराना चलन हराइसकेका छन्। हिजोआज अन्याय महसुस हुँदा सजिलै न्यायिक निकाय जान सक्ने वातावरण बनेको छ। विगतमा गाउँघरमै घरभित्रको झगडा मिलाउने भएका कारण ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने उक्ति चलनमा थियो। अहिले त्यो उक्ति उल्टिएको छ। जसका कारण पति–पत्नीबीच मतभेद बढ्दै गएपछि कानुनी उपचारको माध्यमबाट सम्बन्ध विच्छेद हुने क्रम पनि बढ्न थालेको हो।

पारिवारिक रूपमा विभिन्न मतभेद र बेमेलका कारण सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएको जिल्ला अदालत धादिङले जानकारी दिएको छ। बाबुआमाको सम्बन्ध विच्छेदका कारण सन्तानले एकातिर अभिभावकहरुको मेलमिलापपूर्ण सरल परम्परा गुमाउन पुगेका छन्। अर्कोतिर पति–पत्नीले रुखोसुखो खाएर पनि शान्तिपूर्वक सँगै बाँच्ने सँगै मर्ने भन्ने पुरानो भावनात्मक मिलनको संस्कृति पनि समाप्त हुँदै गएको अदालती अभिलेखले देखाएको छ।

जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा एक सय ११ विवाहित जोडीले सम्बन्ध विच्छेद गराएको तथ्यांक छ। त्यतिबेलादेखि नै प्रत्येक वर्ष सम्बन्ध विच्छेद गराउनेको संख्या बढ्दै गएको अदालतले जनाएको छ। पति र पत्नीमध्ये एक जना वैदेशिक रोजगारमा रहेका जोडी बढी मात्रामा सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने गरेको अधिकारकर्मी गायत्री खतिवडाले बताइन्। ‘सूचना प्रविधिको विकाससँगै मोबाइल, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पनि परिवारमा बेमेलको अवस्था सिर्जना गर्ने गरेको पाइएको छ,’ अधिकारकर्मी खतिवडाले भनिन्, ‘अर्कोतिर दाइजो र बाबुआमाको दबाबमा विवाह गर्नुपर्नेलगायत कारणले पनि सम्बन्ध विच्छेदलाई बढावा दिएको छ।’

प्रकाशित: ४ माघ २०७५ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App