७ वैशाख २०८१ शुक्रबार
खेल

एन्फाबाट निकालिए घले

काठमाडोैं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले टासी घलेलाई दिएको मानार्थ अध्यक्षको पद फिर्ता लिएको छ। ‘संघका मानार्थ अध्यक्ष टासी घलेज्यूलाई हालसम्म संघलाई पुर्याउनुभएको सरसल्लाह र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आजको मितिदेखि लागू हुने गरी मानार्थ अध्यक्षको पद फिर्ता लिने निर्णय गरियो,’ बिहीबार बसेको एन्फा केन्द्रीय समितिको तेस्रो बैठकपछि जारी  विज्ञप्तिमा उल्लेख छ।

वैशाखमा सम्पन्न निर्वाचनबाट कर्माछिरिङ शेर्पा नेतृत्वमा आएसँगै घले मानार्थ अध्यक्ष नियुक्त भएका थिए। यसअघि तत्कालीन अध्यक्ष नरेन्द्र श्रेष्ठको कार्यकालमा घले पहिलो पटक मानार्थ अध्यक्ष भएका थिए। चुनावको समयमा खुलेरै समर्थन गरेपछि कर्माछिरिङ पक्षले घलेलाई पुनः मानार्थ अध्यक्ष दोहोर्याएको थियो।

तर, घलेले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी लिने चासो देखाउँदा एन्फाले नवीन पाण्डेलाई उक्त जिम्मेवारी देखाएसँगै घले र कर्माछिरिङ पक्षबीचको सम्बन्ध चिसिएको थियो। जुन चिसोपना पदच्युतसम्म पुगेको छ। साथै बैठकले राष्ट्रिय टोलीको प्रशिक्षकमा स्विडिस प्रशिक्षक योहान कालेनलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ। कालेनले मार्चबाट राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्नेछन्। एन्फा बैठकले वरिष्ठ उपाध्यक्षको विषयमा आगामी बैठकले टुङ्गो लगाउने सहमति गरेको एन्फा प्रवक्ता किरण राईले बताए।

अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले एन्फाको जिम्मेवारी लिने परम्परा भए पनि कर्माछिरिङ पक्षले त्यसलाई टुंगो लगाउन सकिरहेको थिएन।  बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष मनोनयन गर्ने विषयले प्रवेश पाए पनि टुंगो भने लाग्न सकेन। वरिष्ठ उपाध्यक्षको दौडमा उपाध्यक्ष वीरबहादुर खड्का र पंकज नेम्बाङ छन्।

साथै बैठकले एन्फा निर्वाचनमा आर्थिक अनियमितता भएको भन्दै विरोध जनाउँदै आएका काठमाडौं, भक्तपुर, धादिङ र ललितपुर जिल्ला फुटबल संघका विषयमा छानबिन गर्र्न अनुशासन कमिटीलाई सिफारिस गरेको छ। ‘आफूलाई चित्त नबुझेको विषयमा संघमा छलफल तथा आफ्नो राय राख्ने प्रावधान हुँदाहुँदै पनि आफूखुसी पत्रकार सम्मेलनमार्फत ४ जिल्ला फुटबल संघले नेतृत्वमाथि तथ्यहीन आरोप लगाएकाले आवश्यक कारबाहीका लागि अनुशासन कमिटीमा पठाउने निर्णय गरेको छ,’ एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ।

चार संघले गत पुस ११ गते पत्रकार सम्मेलन गर्दै एन्फा निर्वाचनदौरान व्यापक अनियमितता भएको भन्दै अडियो टेपसमेत सार्वजनिक गरेका थिए। एन्फाले राष्ट्रिय टोलीका पूर्वकप्तान राकेश श्रेष्ठलाई प्रोत्साहनस्वरूप नगद ५ लाख दिने निर्णयसमेत गरेको छ। गणेश थापा नेतृत्वमा रहँदा एन्फाले श्रेष्ठलाई वर्षको उत्कृष्ट खेलाडी घोषणा गर्दै अपार्टमेन्ट दिने घोषणा गरे पनि उनले हालसम्म पुरस्कार पाएका थिएनन्।

यता बैठकले ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको भन्दै महिला राष्ट्रिय फुटबल टोलीलाई  प्रोत्साहनस्वरूप जनही नगद ५० हजार तथा यु–१९ महिला टोलीले एएफसी यु–१९ छनोटको अघिल्लो चरणमा प्रवेश गरेको भन्दै प्रोत्साहनस्वरूप जनही नगद २५  हजार रुपैयाँ दिने निर्णयसमेत गरेको छ।

त्यस्तै महिला साफ च्याम्पियनसिपको प्रशिक्षणमा रहेका खेलाडीलाई समेत जनही नगद १० हजार रुपैयाँ दिने एन्फाले जनाएको छ। एन्फाले महिला साफ च्याम्पियनसिपका लागि अध्यक्ष कर्माछिरिङको नेतृत्वमा ५ सय १ सदस्यीय मूल आयोजक कमिटीसमेत गठन गरेको छ।

प्रकाशित: ४ माघ २०७५ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App