७ वैशाख २०८१ शुक्रबार
खेल

सेरेना तेस्रो चरणमा

मेलबर्न – अमेरिकी स्टार सेरेना विलियम्सले आफ्नो कीर्तिमानी २४औं ग्रान्ड स्लामको उपाधि यात्रा कायम राख्दै अष्ट्रेलियन ओपन टेनिसकाे दोस्रो चरणमा युजेनी बौचार्डलाई हराएकी छिन्।

मेलबर्न पार्कको रोड लाभेर एरिनामा बिहीबार भएको खेलमा क्यानाडाकी युजेनीमाथि सोझो सेटमै जित निकालेकी सेरेनाले तेस्रो चरणमा स्थान बनाउँदै कीर्तिमानी उपाधियात्रा कायमै राखेकी हुन्। २३औं ग्रान्ड स्लाम जितिसकेकी सेरेना यस पटक अस्ट्रेलियाकी मार्गरेट कोर्टको सर्वाधिक २४औं ग्रान्ड स्लाम कीर्तिमान बराबरी  गर्ने लक्ष्यमा छिन्।

सन् २०१७ मै २३औं ग्रान्ड स्लाम जितेकी सेरेना आमा बनेपछि कीर्तिमानी उपाधि बराबरी गर्न संघर्षरत छिन्। अस्ट्रेलियाकी मार्गरेट कोर्टले सर्वाधिक २४औं पटक ग्रान्ड स्लामको उपाधि उचालेकी छन्। दोस्रो चरणमा सेरेनाले ७०औं मिनेटमै खेल आफ्नो बनाउन बौचार्डलाई ६–२  र ६–२ को सोझो सेटमै स्तब्ध बनाइन्।

गत वर्ष युएस ओपन र विम्बल्डनको फाइनलमा पुगे पनि सेरेना दुवै उपाधि जित्न असफल रहिन्। ३७ वर्षे सेरेनाले बौचार्डविरुद्धको खेल जित्न निकै सहज भएको बताइन्। ‘पछिल्लो वर्ष निकै खराब खेलेर आएको थिएँ,’ सेरेनाले भनिन्, ‘तर यस पटक परिस्थिति फरक छ। उनी निकै राम्री खेलाडी थिइन्। यद्यपि, सहज जित निकालें।’ सेरेनाले तेस्रो चरणमा ५७औं वरीयता प्राप्त डायना यास्ट्रम्स्काविरुद्ध प्रतिस्पर्धा गर्नेछिन्।

वर्षको पहिलो ग्रान्ड स्लाममा शीर्ष खेलाडी सिमोना हालेपले पनि तेस्रो चरणमा स्थान बनाएकी छन्। रोमानियाकी सिमोनाले अमेरिकी स्टार सोफिया केनिनलाई ६–३, ६–७ (५–७) र ६–४ ले हराउँदै लगातार दोस्रो खेलमा सोझो सेटमार्फत जित निकालिन्। ‘म आफैं  चकित छु, कसरी जित आफ्नो बनाएँ,’ विश्व नम्बर एक सिमोनाले भनिन्, ‘कोर्टभित्र के भयो भन्ने व्यक्त गर्न नै गाह्रो भइरहेको छ। तर, खेल निकै संघर्षपूर्ण रह्यो।’

गर्त वर्षको फ्रेन्च ओपनकी फाइनलिस्ट सिमोनाले तेस्रो चरणमा सेरेनाकै दिदी भेनससँग प्रतिस्पर्धा गर्नेछिन्। यसअघि भेनसले फ्रान्सकी एलिज कोर्नेटलाई हराउँदै तेस्रो चरणमा स्थान बनाइसकेकी छन्। युएस ओपन च्याम्पियन जापानकी नाओमी ओसाकाले पनि तेस्रो चरणमा स्थान बनाएकी छन्। चौथो वरीयताकी ओसाकाले स्लोभानियाकी तामरा जिदानसेकलाई ६–२ र ६–४ ले सहजै स्तब्ध बनाइन्।

गत वर्ष युएस ओपनको फाइनलमा सेरेनालाई स्तब्ध बनाएकी २१ वर्षीय ओसाका यस पटक पनि उत्कृष्ट लयमा छिन्। जित निकाल्दै ओसाकाले आफूले निकै राम्रो सर्भिस गरेअनुरूप खेलमा पनि सफलता मिलेको बताइन्। ओसाकाले तेस्रो चरणमा ताइवानकी हिसिइ सुवेईसँग खेल्नेछिन्। पुरुष एकलमार्फ छ पटकको विजेता नोभाक जोकोभिच पनि तेस्रो चरण पुग्दै सातौं उपाधि यात्रामा होमिसकेका छन्।

क्यानडाका मिलोल राओनिकले निकै संघर्षपूर्ण खेलमा चौथो सेटमार्फत स्विट्जरल्यान्डका स्टान वावरिंकालाई स्तब्ध बनाए। सातौं वरीयताका अस्ट्रियाका डोमिनिक थिम भने रिटायर्ड हुँदै प्रतियोगिताबाट बाहिरिएका छन्। वाइल्ड कार्डमार्फत ग्रान्ड स्लाम खेलिरहेका अस्ट्रेलिया एलेक्सेई पोपिरिनसँग ७–५, ६–४ र २–० ले पछाडि रहेको अवस्थामा थिमले खेल त्यागेका हुन्।

प्रकाशित: ४ माघ २०७५ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App