७ वैशाख २०८१ शुक्रबार
खेल

सिमरा गोल्डकपमा आयोजकको विजयी सुरुआत

बललाई नियन्त्रणमा लिने प्रयास गर्दैै सेतो जर्सीमा रहेका मकवानपुर खेलाडी। तस्बिर : नागरिक

बारा – मकवानपुर– ११ हेटौंडालाई ३–० ले पराजित गर्दै आयोजक नवजनजागृति युवा क्लबले सिमरामा बिहीबारदेखि सुरु भएको रुस्लान सिमरा गोल्डकपको दशौं संस्करणमा विजयी सुरुआत गरेको छ। सिमरा रंगशालामा भएको उद्घाटन खेलमा नवजनजागृतिका लागि  नीरज थापामगरले दुई तथा प्रज्वल थापामगरले एक गोल गरेका थिए।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा मकवानपुरमाथि आयोजक सिमरा तीन गोल गर्न सफल भएको थियो। खेलको ४६औं मिनेटमा आयोजकका सुरज ठकुरीले हानेको फ्रिकिक मकवानपुरका गोलरक्षक अनिश देउलाले समात्न नसक्दा आयोजक एक गोलको अग्रता लिन सफल भयो।

खेलको ६०औं मिनेटमा आयोजकका लागि प्रज्वल थापामगरले अर्को गोल गर्दै टिमलाई दुई गोलले अग्रता दिलाए। मकवानपुरका डिफेन्डरले क्लियर गर्न नसकेको बल डी बक्सभित्रै खोस्न सफल प्रज्वलले सहजै गोलमा परिणत गरेका थिए। खेलको ७१औं मिनटमा मोहित गुरुङको क्रसमा नीरज थापामगरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे। कर्नर एरियाबाट मोहितले डी बक्सभित्र निकालेको क्रसबल नीरजले सहजै गोलमा परिणत गरे।

जितपछि आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले स्थानीय खेलाडीले भरिएको टिमको प्रदर्शनबाट आफू खुसी भएको बताए। दुई दिनअघि वीरगन्जमा त्रिभुवन आर्मीसँग भोगेको पराजयले कमीकमजोरी पहिल्याउन मद्दत गरेकाले मकवानपुरविरुद्ध खेल्न सहज भएको उनले बताए।

मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले दोस्रो हाफमा आक्रामक खेल्न खोज्दा पराजय बेहोर्नुपरेको बताए। खेलको म्यान अफ दी म्याच आयोजकका नीरज थापामगर घोषित भए। उनले दश हजार नगदसहित ट्रफी प्राप्त गरे। शुक्रबार विशाल मेमोरियल फाउन्डेसन वीरगन्ज र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ४ माघ २०७५ ००:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App