coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निवर्तमान महाप्रबन्धक पौडेलकाे नागरिक अभिनन्दन

अभिनन्दनपछि सामुहिक तस्बिर खिच्दै आयोजक र अतिथि । तस्बिरः महेश्वर/नागरिक

उदयपुर – उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका निवर्तमान महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेललाई नागरिक अभिनन्दन गर्दै बिदाई गरिएको छ। उद्योग परिवार, त्रियुगा नगरपालिका, कर्मचारी, मजदुर कर्मचारी संघ–संगठन, स्थानीय संघ–संस्था र नागरिक समाजको संयुक्त आयोजनामा बृहत कार्यक्रमका साथ बुधबार दिउँसो पौडेललाई नागरिक अभिनन्दन गरिएको हो।

त्रियुगा नगरपालिका ६ जलजलेस्थित शिव मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा अभिनन्दन गर्दै विभिन्न क्षेत्र र दलसँग आवद्ध अगुवाहरूले दोस्रो कुलमान हुन सफल पौडेललाई ‘महाकुलमान’ बन्न शुभकामना दिए। समारोहका प्रमुख अतिथि उदयपुर प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश १ का सचिव सुरेशकुमार राई (हिमाल) ले पौडेललाई दोसल्ला ओढाउँदै अबीर, खादा र माला लगाएर जिल्लाबासीको तर्फबाट नागरिक अभिनन्दन गरे। राईले त्रियुगा नगरपालिकाकाको तर्फबाट दिइएको अभिनन्दनपत्र पनि पौडेललाई प्रदान गरे।

सोही अवसरमा त्रियुगा नगरप्रमुख बलदेव चौधरीले पौडेललाई खादा, माला पहिर्याउँदै नगरबासीको तर्फबाट अर्को अभिनन्दन गरे। परम्परागत पञ्चे बाजागाजाका साथ आयोजित अभिनन्दन समारोहमा पौडेललाई प्रदेश सांसदहरू अम्बिका थापा, सुनिता चौधरी, पूर्व सहरी विकासमन्त्री मञ्जु चौधरी, उद्योग प्रदुषण समिति अध्यक्ष निर्मल चोधरी र सिमेन्ट ढुवानी संघ तथा स्वर्णिम युवा क्लव जलजलेले पनि अभिनन्दन गरे।

उद्योगको आधिकारिक ट्रेड युनियन, बिभिन्न राजनीतिक दलनिकट मजदुर संघसंगठनका औद्योगक प्रतिष्ठानका नेता र कर्मचारी समुहले पनि सो कार्यक्रममा पौडेललाई अभिनन्दन गरेका थिए। अभिनन्दनपछि बोल्दै सांसद राईले आफ्नो कार्यकालमा जिएम पौडेलले राष्ट्रिय अर्थतन्त्रलाई प्रभाव पार्ने गरी उद्योगलाई पुनर्जीवन दिएकोमा धन्यवाद दिँदै त्यसलाई मानक बनाएर अघि बढ्न उद्योग कर्मचारी र मजदुरलाई आग्रह गरे।

पौडेलले सुरु गरेको सुधारको कामलाई आउँदा दिनका जिएमहरूले मानक बनाएर काम गर्नुपर्ने भन्दै राईले टाट पल्टेर नीजिकरण भइसकेको उद्योगलाई पुनर्जीवन दिएर बचाएकोमा जिल्लाबासीको तर्फबाट आभार व्यक्त गरे। कार्यक्रममा पूर्व सहरी विकासमन्त्री मञ्जु चौधरी, प्रदेश सांसदहरू सुनिता चौधरी, अम्बिका थापा, प्रदुषण समिति अध्यक्ष तथा त्रिनपा ६ का वडाध्यक्ष निर्मल चौधरीलगायतले कौडीको भाउमा नबिक्ने अवस्थामा पुगेको उद्योगलाई पुनर्जीवन दिएर ऐतिहासिक योगदान गरेकोमा पौडेलको मुक्तकण्ठले प्रशंसा गरे। थप एक कार्यकाल बसेर उद्योगलाई अरु मजबुत र व्यवस्थित गर्नुपर्ने माग भइरहेका बेला पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशक भएर उदयपुरबाट बिदाई भएका हुन्।

अभिनन्दन समारोहका अध्यक्ष त्रियुगा नगर प्रमुख बलबदेव चौधरीले मुलुककै गहनाको रुपमा रहेको पूर्ण सरकारी स्वामित्वको उसिउलि बन्द हुनबाट बचाउँदै राष्ट्रिय लगानीको उद्योगमध्ये सबभन्दा बढी नाफा कमाउन सफल हुनेगरी पुनस्र्थापना गरिदिएकोमा पौडेलेको तारिफ गरे। अभिनन्दन ग्रहण गर्दै पौडेलले कर्मचारी, मजदुर, स्थानीयबासी, राजनीतिक दल, नागरिक समाज र पत्रकार सबैको सहयोगले उदयपुर सिमेन्टले यो सफतला हात पारेको बनाए।

नागरिक अभिनन्दनप्रति कृतज्ञता जाहेर गर्दै पौडेलले स्थानीयबासीले दिएको न्यानो माया र अभिनन्दनले राष्ट्रसेवाको जिम्मेबारी र ऋण बढेको भन्दै यो जिम्मेबारी नेपाल आयल निगमको सुधार गरेर चुक्ता गर्ने वाचा गरे। उनले आगामी दिनमा थप जिम्मेबार र कर्तव्यनिष्ट भएर काम गर्न अभिनन्दनले प्रेरणा दिएको उनको भनाई थियो।

यसअघि उनलाई बुधबारै बिहान उद्योग परिसरमा आयोजित कार्यक्रममा आधिकारिक ट्रेड युनियन, नेपाल औद्योगिक मजदुर संघ, नेपाल श्रमिक संघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल स्वतन्त्र कारखाना मजदुर संघलगायत उद्योग प्रतिष्ठानस्तरीय संघसंगठनले पौडेललाई दोसल्ला, अविर, माला र खादा ओढाएर भावपूर्ण बिदाई गरेका थिए। बिदाई कार्यक्रममा मजदुर कर्मचारी भावविह्वल भएको देखेका पौडेल पनि उनीहरूको श्रद्धा र मायाले पग्लिन पुगे। विदाईको क्षणमा भावुक भएका पौडेल आँखा रसाउदै बिदाईका अन्तिम हात हल्लाउँदै जहाँ रहे पनि राष्ट्रको सेवा गर्ने प्रतिबद्धता जनाए।

‘आयल निगमलाई तत्काल सुधार्छु’
पौडेलले घाटामा गइरहेको नेपाल आयल निगमलाई तत्काल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। जलजलेमा आयोजित कार्यक्रममा जिल्लाबासीबाट अभिनन्दन ग्रहण गर्दै आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक पौडेलले निगममा सुधारको कदम चालिसकेको बताए। ‘मलाई उसिउलिलाई पुनर्जीवन दिएको भनेर यति धेरै माया, श्रद्धा र अभिनन्दन गर्नुभयो, यसको म ऋणी छु’ पौडेलले भने, ‘अब डुब्दै गरेको आयल निगम सुधार्ने जिम्मेबारी पाएको छु, यो सबै तपाइहरूको पहलले गर्दा हो। निगमलाई केही समयभित्रै सुधार गर्नेगरी योजना अघि सारिसकेको छु।’ उनले छिट्टै परिणाम देखिने गरी निगममा काम थालिसकेको जानकारी पनि कार्यक्रममा दिए।

प्रकाशित: ३ माघ २०७५ १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App