coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हरिबहादुरको अरबको १८ वर्षे कमाई प्यारालाइसिस – डलरको कथा

काठमाडौं– गुल्मीकी तुमाकला कुमालले करिब ४ वर्षअघि श्रीमान हरिबहादुर कुमाललाई साउदी अरबका लागि बिदा गरेकी थिइन्। श्रीमानसँग बिछोडिदाको पीडालाई मनको एउटा कुनामा गाठो पार्दै तुमाकला काठमाडौंबाट घर फर्किन्। सम्झनामा दिनहरु कट्दै गए। साउदी अरबबाट फर्किंदै गरेका श्रीमानलाई लिन तुमाकला त्यहीँ ४ वर्षअघि छुट्टिएको एयरपोर्ट पुगिन।

महिनौ विदेशमा जे जस्तो दुःख भोगे पनि आफ्नो मातृभूमि फर्किंदाको खुसी अनि साथमा लामो बिछोड पछि हुन लागेको मिलन। धेरैका निम्ती खुसियालीको त्यो क्षण तुमाकलाका लागि भने ४ वर्षपछिको भेट तुवालै तुवालोले घेरिएको धुम्म अनि अध्यारो बन्यो। हरिबहादुर सँगै एउटै कम्पनीमा काम गरेर फर्किएका कोही सुटकेश घिसार्दै बाहिर निस्किंदै थिए त कोही विदेशको कोसेलीले भरिएको झोला काँधमै भिरेर बाहिरिंदै थिए। तर तिनैका बीचमा कसैको सहारामा बाहिरिन्छन् हरिबहादुर।

अचेत अवस्थामा उनलाई ह्विलचेयरमा राखेर कसैले बाहिर ल्याउँछन्। त्यही दृश्यले तुमाकला भावविह्वल हुन्छिन्। बोल्न र हिड्न नसक्ने बनेका हरिबहादुरका आँखाबाट बर्र आशु झर्छन्। परिवारको सहारा बन्ने सपना देख्दै साउदी अरब गएका हरिबहादुर अरुको सहारामा नेपाल फर्किन्छन्।

जीवनको उर्जाशील समय हरिबहादुरले विदेशमै लगाए। आजभन्दा १८ वर्ष पहिले १५ हजार नेपाली तलबमा गाडी कुदाउन साउदी अरब जाँदा २ छोरा २ छोरीको बिहे भएको थिएन। विदेशमा बगाएको श्रम पसिनाले हात लागेको त्यही पैसाले उनले छोराछोरीको बिहे गरेर बाबुको कर्तव्य निर्वाह गरे। जवानीमै विदेश हानिएका हरिबहादुर आफ्नै देशमा कुटो कोदालो गरेरै भए पनि बुढेसकालको बाँकी जीवन बिताउने योजना बुन्छन्। त्यहि भएर परिवारसँग छुट्टिएर फेरि साउदी गएको ४ वर्षपछि नेपाल फर्किदा घर परिवारका लागि ल्याइदिने कोसेलीको जोहो गर्न जुट्छन्। तर विदेशमा परिवारको खुसी जोहो गर्दागर्दै हरिबहादुरको जीवन दोसाधमा पुग्छ।

अचेत अवस्थामा हरिबहादुरलाई ह्विलचेयरमा राखेर कसैले बाहिर ल्याउँछन्। त्यही दृश्यले तुमाकला भावविह्वल हुन्छिन्। बोल्न र हिड्न नसक्ने बनेका हरिबहादुरका आँखाबाट बर्र आशु झर्छन्। परिवारको सहारा बन्ने सपना देख्दै साउदी अरब गएका हरिबहादुर अरुको सहारामा नेपाल फर्किन्छन्।

दिनभरी गाडी कुदाएर कोठा फर्किएका हरिबहादुर परिवार सम्झिँदा सम्झिँदै एक्कासी कोठामै ढल्छन्। लामो समय एउटै कम्पनीमा काम गरेका अनि एक हिसाबले आफ्नो अभिभावक जस्तै ठानेका सँगैका सहपाठीहरुले हरिबहादुरलाई हतार हतार अस्पताल दौडाउँछन्। एक त परदेशको ठाउँ त्यसमाथि विदेशी कम्पनी भए पनि हरिबहादुरले आफूले काम गर्ने कम्पनीलाई कहिल्यै पराइ ठानेका थिएनन्। तर जीवन मरणको दोसाधमा पुगेका हरिबहादुरले त्यति लामो समय खर्चेको दुःख कम्पनीले देख्दैन। एक त परदेशको ठाउँ झन हरिबहादुरले राजा जस्तो मानेको कम्पनीले समेत उनलाई रैतीको जस्तो व्यवहार गर्दैन। झन् उनको उपचारमा धेरै खर्च हुने देखेपछि कम्पनीले उनलाई नेपाल पठाइदिन्छ।

हरिबहादुरले आफू काम गर्ने कम्पनीमा आफ्ना सहोदर २ जना भाइलाई पनि बोलाएका थिए आफ्नै खर्चमा। तर सम्पत्तिमा सबैको हाइ हाइ विपत्तिमा कोही छैन पराइ भन्ने भनाई उनका निम्ती त्यतिबेला चरितार्थ सावित भयो जब सँगै भएका भाइहरुले समेत हेरेनन्। बरु सहकर्मीले जेनतेन उनको उपचार गरे र अन्तत कम्पनीमै सँगै काम गरेका एक सहकर्मीले उनको उपचार गर्न आफू सँगै नेपाल लिएर आए। त्यो विगत सम्झिँदा तुमकलाको गला अवरुद्ध हुन्छ। ‘अब विदेश नफर्किने गरि आउँछु भन्नु हुन्थ्यो। तर एक साँझ एक्कासी ढल्नु भएछ। सँगैका साथीहरुले अस्पताल लागेछन्। तर अस्पताल लगे पनि त्यति उपचार भएन। घरका भाईहरु पनि थिए तर हेरेनन्। बरु त्यही काम गर्ने एक जना साथीले नेपाल ल्याइदिए।’

नेपाल फर्किएपछि एक अस्पतालमा उपचार गराइरहेका हरिबहादुरलाई दिनमा बल्ल तल्ल २ पल्ट भेट्न पाएकी उनकी जहान हरिबहादुरले २/४ महिनामै नेपाल फर्किन्छु भनेका शब्द सम्झेर भक्कानिन्छिन्। परिवारको सहारा बनेका हरिबहादुर अरुको सहारा बिना चल्न नसक्ने अवस्थामा पुगेसँगै तुमकलालाई घर खर्च कसरी जुटाउने चिन्ताले पिरोल्न थालेको छ। ‘राम्रोसँग घरबार गरेर बसौला भन्ने सोच थियो, तर के गर्नु यस्तो भइदियो। गरिबको जिन्दगी यस्तै त रछ’, तुमाकलाले दुःखको पोको पÞmुकाइन। 

वैदेशिक रोजगारीले धेरैको घर परिवारमा खुसी ल्याएको होला। तर, त्यही वैदेशिक रोजगारी हरिबहादुरका निम्ती भने बेसहाराको बाटो बन्यो। हरिबहादुर जस्ता सयौं नेपाली विदेशबाट अंगभंग भएर फर्किएका छन्। त्यसरी अंगभंग भएर विदेशबाट फर्किने नेपालीको संख्या १ हजार भन्दा बढी रहेको सरकारी तथ्यांकले देखाउँछ। आर्थिक वर्ष ०७५ को असोज मसान्तसम्म विदेशबाट रोगको भारी बोकेर नेपाल फर्किने नेपालीको संख्या १२ सय ५२ रहेको छ। तिमध्ये २ सय ७७ नेपाली साउदीबाट मात्रै अंगभंग भएर फर्किएका छन्। 

चिकित्सकका भनाइमा हरिबहादुरलाई पक्षघात अर्थात प्यारालाइसिस भएको हो। पक्षघात तनाव तथा गर्मी ठाउँमा धेरै पानी नपिउँदा हुने गर्छ। तर समयमै अस्पताल पु-याउन सके पक्षघात निदानका उपायहरु रहेको न्युरोलोजिस्ट डा पंकज जलान बताउँछन। ‘उमेर बढ्दै गए सँगै मान्छेमा तनाव बढ्दै जान्छ र जति जति तनाब बढ्दै जान्छ, पक्षघात हुने सम्भावना पनि बढी हुन्छ’, डा जलान पक्षघातका कारण खुलाउँछन्। 

विदेश गएका धेरै नेपाली समस्यामा पर्छन। तर त्यसरी समस्यामा पर्नुमा विदेश जानु अघि लिइने पूर्व प्रस्थान तालिमको अभाव मुख्य कारण रहेको जानकारहरुको बुझाई छ। कामदार जाने देश, त्यहाँको हावापानी, कानुन, कामको प्रकृति, लगायत  विदेशिने कामदारका लागि महत्वपूर्ण जानकारी समेटिएको अभिमुखीकरण तालिमको पाठ्यक्रम अलि बढी एचआइभी एड्समा केन्द्रित बनेको रोजगार विज्ञ डा. गणेश गुरुङको भनाइ छ। हाल दिइरहेको तालिमको पाठ्यक्रममा परिमार्जन गर्दै समग्र स्वास्थ्यको बारेमा जानकारीहरु समेट्न सके हरिबहादुरले भोगेको समस्या अन्य नेपालीले नभोग्ने डा. गुरुङको ठहर छ। 

वैदेशिक रोजगारीको तितो यथार्थ भोगेका हरिबहादुर हर्ष न विस्मात अवस्थामा छन् यतिबेला। अबको ६ महिनापछि भने उनी जसोतसो पाइला चाल्ने अवस्थामा पुग्न सक्ने चिकित्सकको विश्वास छ। तर त्यो ६ महिनाको अवधिमा कति नेपालीको नियती हरिबहादुरको जस्तो हुने हो टुंगो छैन। तर श्रीमान ठिक हुन्छन् भन्ने तुमाकलाको मनमा जागेको आशाको दियो निभेको छैन। ‘भगवानको कृपाले ६ महिनापछि हिड्न सक्नुहुन्छ कि भन्ने आशा छ’, उनले भनिन।

प्रकाशित: ३ माघ २०७५ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App