coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र

लाटोकोसेरो तथा हुचिल उत्सवका लागि जालपामा निर्माण गरिएको स्तम्भ ।    तस्बिर : दमन/नागरिक

खोटाङ – माघ तेश्रो साता खोटाङको जालपामा हुने आठौं लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको छ। अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथीहरू नामक संस्थाको सहकार्यमा आगामी माघ १८ र १९ गते हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको हो।

महोत्सव सम्पन्न गर्नका लागि जालपामा लाटोकोसेरो तथा हुचिल स्तम्भ निर्माण, उत्सवस्थल पुग्ने सिँढी, मञ्च निर्माण, प्रचार–प्रसारको काम तीव्र पारिएको लाटोकोसेरो तथा हुचिल उत्सव आयोजक मूल समितिका संयोजक एवं वडाध्यक्ष बिकास राईले बताए। लाटोकोसेरो तथा हुचिल स्तम्भलाई रंगरोगन गर्न मात्र बाँकी रहेको छ। स्तम्भ र मञ्च दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सुरु गरिएको हो।

उत्सवलाई सहभागीपूर्ण बनाउनका लागि हाल विभिन्न विद्यालयसँगको सहकार्यमा विद्यार्थीबाट लाटोकोसेरो तथा हुचिल संरक्षण सम्बन्धी चित्रकला, कबिता, निबन्ध संकलन, निमन्त्रणा लगायतका काम भइरहेको आयोजकले जनाएको छ। उत्सवका लागि १ नम्बर प्रदेशले २ लाख, हलेसी तुवाचुङ नगरपालिकाले १ लाख, केपीलासगढी गाउँपालिकाले १ लाख आर्थिक सहयोग गरेको वडाध्यक्ष राईले बताए।

‘किसानको साथी’कारुपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्नमा भूमीका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पुर्याउनका लागि जालपामा उत्सवको आयोजना गरिएको हो। जिल्ला तथा जिल्ला बाहिरका गरी करिब ५ हजारको सहभागीता रहने भनिएको उत्सवको पहिलो दिन लाटोकोसेरो सम्बन्धी लघु म्यूजियम प्रदर्शनी, चरा अवलोकन, प्रकृतिको तस्बिर खिच्ने, घिर गाडे, झुलो चकमक र लाथ्रो लगायतका स्थानीय लोपोन्मुख खेल प्रदर्शनी एवं प्रतियोगीता सञ्चालन गरिने छ। सोही दिन राती लाटोकोसेरोको महत्व दर्शाउने खालका स्लाइड तथा भिडियो प्रदर्शनी गरिने आयोजकले जनाएको छ।

अवैध चोरीनिकासी, वन बिनास, विषादिको प्रयोग लगायतका कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए। लाटोकोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र हुँदै आएको छ।

‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं’ भन्ने नारासहित सञ्चालन हुने लाटोकोसेरो तथा हुचिल उत्सवको दोश्रो दिन वन बिज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षण सम्बन्धी नाच, स्थानीय तामाङको डम्फु र सेलो, शेर्पाको सेब्रु, राईको साकेला र मारुनी, हिन्दु महिलाको संगीनी नाच, गूरुङको सालैज्यू, बालन, सडक नाटक, हाक्पारे गीत, मुर्चुङ्गा, पीपीरी, यलम्बर, मादल, बाँसुरी लगायतका स्थानीय बाजा प्रदर्शनी लगायतका कार्यक्रम राखिएको छ।

उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट, लाटोकोसेरो सम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो, त्रिभुवन बिश्वबिद्यालय अन्तरगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमूना, गहुँको छवाली, चुरा तथा माटोबाट बनाइएका लाटोकोसेरा समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। उत्सवमा आठ किसिमका लाटोकोसेरोको आवाज सुन्ने व्यवस्था मिलाइने छ।

नेपालमा पाइने २३ प्रजातीका लाटोकोसेरोमध्ये ८ प्रजातीका दुर्लभ किसिमका छन्। उत्सवको अन्तिम दिन तीन संरक्षणकर्मीलाई प्राकृतिक संरक्षण पुरस्कार तथा बन्यजन्तु अनुसन्धान र संरक्षणको काममा योगदान दिएका मिथिला वाइल्डलाइफ ट्रष्ट धनुषा र हिमालयन नेचर काठमाडौंलाई सम्मान गर्ने कार्यक्रम छ। दुई स्थानीय संरक्षणकर्मीलाई समेत सम्मान गर्ने आयोजकले जनाएको छ। उत्सवका लागि बिभिन्न ११ उपसमिति गठन गरिएको छ। 

प्रकाशित: ३ माघ २०७५ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App