घर फर्किने  छोराको चिठ्ठी

बिहिबार, ०३ माघ २०७५, १४ : ०० अस्मोद

प्रिय आमा अनि बुबा,

बुबाको फेसबुकमा ४१९ जना साथी रहेछन्। यद्यपी बुबा राजनीति गर्ने चाहना राख्नु हुन्छ। त्यो बीस बर्ष अघिको जोश अझै तातै देख्छु। बुबा, तपाईंको उदाउँदो राजनीतिक यात्रामा करिब २० वर्षको बिश्राम लाग्यो। तपाईं नेपाली कांग्रेस ट्रेड युनियनको कुनै भेलाको प्रतिनिधि भएर कहिले पोखरा त कहिले काठमाडौंका कुनाहरुमा दौडधुप गर्नु हुन्थ्यो २०५५ तिर। राजनीति तपाईंको नशामा थियो। त्यस बेला म बुझ्दिन थिएँ तपाईंको लागि के अर्थ लाग्थे ती कुराहरु।

२०५५ सालमा तपाईंले एक कठिन निर्णय लिन भयो। आफ्नो सबै कुरा छोडेर तपाईं परदेश लाग्नु भयो आफ्नो सपनाको दुनियाँ बसाउनको लागि। परिवारको सुनौलो भबिष्यको आशामा तपाईंले आफ्ना साथी भाइ, घर, गाऊँ, सब कुरा त्याग गर्नुभो। कतारको गर्मिमा रम्दा होटेलमा भाँडा माझेर सुरु गर्नु भयो यात्रा। गैरीको गोठहरुमा बालापन बिताएको युवकलाई पहिलो पटक प्लेन चढ्नु र कतारको त्यो विशाल सहरमा अवतरण गर्नु कस्तो महसुस भयो होला। अंग्रेजी वा अरबिक नजानेर पनि विश्वभरिका अरु मजदुरसंग बस्नुपर्दा कस्तो भयो होला ? तपाईंले लगभग आफ्नो आधा जीवन र पुरै कसरी त्यसरी काट्नु भयो बुबा? म पूरा बुज्न सक्दिन।

घण्टा, दिन, वर्ष गर्दै दशक बितिसके छन्, बुबा। एक होइन दुइ दशक। ७३०० दिनहरु, एक करोड बढी मिनेट र अन गिन्ति पलहरु। यी समयका बीच तपाईंका पाइलाहरु खाडीका लगभग सबै मुलुकहरु टेके। कतारदेखि साउदीसम्म ,जोर्डनदेखि ओमनसम्म (परिवारको लागि। तपाईंको सम्पूर्ण जवानीको त्याग भन्दा बेसी म के मागौं र बुबा ?

तपाईंको आर्थिक सहयोगलाई आमाले व्यवाहारिक र सामाजिकरुपले पूर्णता दिनुभयो। कहिले हिमाल झै चट्टान भएरत कहिले कलकल बग्ने कर्णाली जस्ती शान्त भएर। अझै याद छ मलाई ती फोनका घन्टी बजेको जब आफन्त अनि ऋणदाता ले किस्ता वा ब्याज दिनहुँ माग्थे। जब हामीले १८ महिनासम्म घर भाडा तिरेका थिएनौं मैतिदेवीको त्यो तीन कोठाको डेरामा। कसरी आयो आमा तपाईंमा यत्रो आटँ ? दुई वटा बच्चा, सिमित पैसा, काठमाण्डौको महंगी, अनि समाजको व्यवहारका बाबजुद।

आमा, तपाईंले पढ्ने मौका पाउनु भएन। अझै  याद छ मलाई तपाईंलाई कति गाह्रो हुन्थ्यो शब्द शब्दकोर्न, मनका भावना आफ्नो श्रीमानलाई चिठ्ठी मार्फत पोख्न । ती दिन जब फोन गर्न साइबर गएर सेकेन्ड सेकेन्डको हिसाब गर्नु पर्थ्यो। श्रीमानसंग बोल्ने रहर वा छोराछोरीको खाजा किन्नेका बीच द्वन्दमा तपाईले कसरीआफ्नो जवानी अपर्ण गर्नु भयो,आमा?

तै नि समाजले कुरा काट्न पछि परेन,आमा। तपाईंको दयालाई शंखालु नजरले हेर्यो समाजले। कुरा काट्यो।घर झगडाको बिऊमा मलजल गर्यो। तैपनि तपाईंले आफ्नो मानवतामा अलिकति पनि खिया लाग्न दिनुभएन।ग्याँसको सिलिण्डर बोक्ने बाजेलाई केहि रुपैयाँ धेरै मात्रै होइन चिया पनि दिनुहुन्थ्यो। पाहुनालाई चिया र समयले सत्कार गर्नु हुन्थ्यो आफ्नो पीडा मानमै राखेर हाँस्नुभयो तपाईं अनि दुनियालाई खुसी बाड्नु भयो आमा। तपाईंको मानवताबाट मैले धेरै सिक्ने मौका पाएको छु आमा। गत वर्ष जब म फेरि अमेरिका स्थित मेरो पूर्व विश्वविद्यालय केही दिनको छुट्टीमा गएँ मैले त्यहाँ भान्सामा कामगर्ने बुबा र आमालाई अँगालो हालेँ। अझै पनि कुरा गर्छु कोहि सँग फेसबुकमा। कोहि मेरा साथी करोडवाला भैसके, अरबवाला पनि हुन्छन बिस्तारै। तर उनीहरुलाई गर्ने मानवीय व्यवहार र म बेइजिङमा अहिले कामगर्ने अफिसको पालेदाइ र दिदिलाई गर्ने व्यवहार मा फरक नगर्ने कोसिस गर्छु आमा। तपाईं बाट सिक्दैछु। म र दिदि धेरै भाग्यमानी भयौँ तपाईंहरुको ममता र स्नेह पाएर। मलाई नेपाल र विश्वकै सर्वोत्किष्ट शैक्षिकसंस्थाहरुमा ज्ञान हासिल गर्ने र संसार देख्ने मौका मिल्यो। म क्यालिफ़ोर्नियादेखि सिकागो अनि न्युयोर्कसम्म पुगेँ, ओस्लोदेखि कोपेन्हागेंनसम्म, बार्सिलोनादेखि पेरिससम्म अनि जुरिच देखि रोमसम्म, इस्तानबुलदेखि यानगॊन्सम्म अनि ब्याङ्ककदेखि क्वालालुम्पुरसम्म, सिङगापुर देखि जकार्तासम्म अनि ग्वांग्जौदेखि बेइजिङ्गसम्म। दुनिँया फन्को मारे कयौँपटक बितेका छवर्षमा। बिर्तामोडदेखि राजविराज पुगेँ, जनकपुरदेखि रामेछाप, चित्लाङ्देखि पालुङ्टार, पोखरादेखि लुम्बिनी, नेपालगन्जका रोडदेखि माथि कर्णालीको तिरै तिर हिडे अनि धन्गडीका खेतहरुमा झुलेका बालामा रमाए। आमा जन्मेको फर्पु गए अनि बुबा गोठालो भएको गैरीको बाटो पहिलाएँ। ती बाटोहरुमा अनियात्राहरुमा मैले प्रयत्न गरेँ आफ्नो पहिचान खोज्ने अनि जीवनको अर्थबुझ्ने।

यस बखत सम्झिरखेको छु ती पलहरु। करिब पाँच वर्ष अघि म सेलान्गोर (मलेशियामा) थिएँ। चाहना थियो बुबा जस्तै वैदेशिक रोजगारमा गएका को मर्म बुज्नु। त्यहाँ देखेँ मैले हाम्रा दाजु भाई दिनको १२ घण्टा काम गरेको, एक सानो कोठामा ६जना सुतेको, ट्वाइलेटको ढल फुटेको, खाना बनाउने पनि त्यही ट्वाइलेटबाट ओसारेको। अनि उहाँहरुको अनुहारमा देखेँ सपना आफ्नो परिवार र सन्तानको लागि। मैलेमलेशियामा तपाईँलाई देखे बुबा। ती परिवारको गाथा सुन्दा आमालाई झलझली सम्झिएँ।

२०७२ को भूकम्पपछि म गोर्खाको छोप्राक पुगेँ । भूकम्प केन्द्र बारपाकबाट करिब एक डेढ घण्टाको दूरीमा रहेको त्यस गाउँमा बस्ती पुनर्स्थापनाको खोजको सिलसिलामा पुगेँको थिएँ। भेटेका धेरै मध्ये एक आमाको एकदम याद आइरहेछ। विधवा आमा साठी नाघिसक्नु भएको थियो। सन्तान सबै परदेशमा। पैसाको अभाव रहेनछ आमालाई तर गोरखाको ठण्डीमा एक गिलास तातो पानि तताइदिने कोही रहेनछन् ।  लाग्यो पैसाले सामान किन्न साकिदो रहेछ तर निस्वार्थ साहारा होइन।

करिब एक वर्ष अघि म न्युयोर्कको ज्याकसन्हाइटको थकाली रेस्टुरामा म अर्डर गर्दा अर्को पात्रसँग भेट भयो। एमए पास गर्नुभएको होला साएद दाइले। न्युयोर्कमा बस्नुभएको केहि वर्ष भएछ त्यही रेस्टुरामा काम गरेर। परिवार र सन्तानको निम्ति बिरानो मुलुकलाई आफ्नो बनाउन प्रयत्नरत दाइको आँखामा आशा देखेँ मैले जब मैले मेरो पढाइ सकेर नेपाल जाने विचार राखेँ।

म जति जति घरबाट टाढा गएँ त्यति त्यति मलाई ब्रम्हाण्डले सम्झाइराख्यो घरमा नै उत्तर छ भनेर।ती यात्रा जति बाहिरी खोजको निम्ति थिए त्यति नै एउटा भगाइ पनि। घरबाट, नेपालबाट।म दुनिया चहारे उत्तरको निम्ति। चेतना भयो उत्तर म मा नै छ, घरमा छ, नेपालको माटोमा छ। म देश बनाउने कुरा लेख्न र बोल्न सक्छु तर यदि तपाईंहरुको ख्याल राख्न सकिन भने त्यो एक कहाली लाग्दो बिरोधाभाष हुनेछ। यदि मैले रातो पुल बुझिन भने कसरि बुज्नसकौंला सम्पूर्ण नेपालको चाहना अनि सपना।

त्यसैले बा आमा, म अर्को महिना नेपाल घर बनाउने हिसाबले फर्किन लागेँ। तर केवल घर ढुंगा, सिमेन्ट र माटोको होइन। भावना,सपना अनि आशाको। काठमाण्डौमा अझै धेरै वर्ष डेराकै बास हुन्छ होला। पैसा त्यति कमाको छैन। तर आउँदैछु अनुभव, ज्ञान, सीप अनि जवानी बोकेर।

म नेपाल फर्कदै छु छोड्ने या भाग्ने हिसाबले होइन। अडिग भएर बस्ने अठोट सहित। म म हसुस गर्न चाहन्छु काठमाडौँको धुलो। म झोक्किन्न चाहान्छु लाइसेन्स लिन जादाँ लामो लाइन देखेर। म झुन्डिन चाहन्छु त्यो टुडिखेलको माइक्रोमा, बसन्तपुरमा साँझको चियाको चुस्की लिएर रातोपुल फर्किने गाडी नपाउँदा। म किताबको ठेलीमा होइन जीवनको भोगाइमा ज्ञान खोज्ने प्रयास गर्नेछु। अनि म केहि गर्न चाहन्छु त्यो परिस्थिति बदल्ने।

म फर्किदै छु किन कि मलाई छैन त्यस्तो जीवन जिउनु जहाँ म आफ्नै देशवासी दिदी भाई अनि आमा बुबालाई अबिश्वाश गरौँ मेरो दैनिकी गुजार्न। मलाई बस्नु छैन वासिंगटनडीसी वा बेइजिङ्ग का एसी भरिएका कोठामा अनि गाली गर्न देशमा बस्नेहरुलाई। अनि मलाई बन्नु छैन त्येस्तो देशभक्त जो अवसर र सीपहुँदा हुँदै र बाध्यता नहुँदा पनि बिदेशमा आफ्नो जवानी बिताउँछ। स्वदेशमा करियर उँभो नलाग्ने डरले विदेश जान्छ जवानीको केही गर्ने बेला अनि फर्किन्छ उमेर बितेपछि एक सच्चा देशभक्तको ढोली पिट्दै । न मलाई नजानिदो जसरी धाक नै लाउनु छ मैले यति उति लाख अनि करोडको जागिर वा मौका छोडेर आएँ विदेशबाट। म दुनियाँलाई त अरु कथा भनौँला तर आफ्नै मन लाई के भन्नेर? म नेपाल फर्किदैछु मेरो अन्तस्करणको आवाज सुनेर। बस् त्यति हो।

त्यसै ले मलाई गाली गर्नु छैन नेता अनि नेत्रीलाई देश बिगारे वा बनाएनन् भनेर। उनीहरुले जे गरेका छन् आफ्नो बलबुताले भ्याएसम्म गरे मलाई गर्वछ त्यसमा। म धन्य छु उनीहरु प्रति मेरो स्वतन्त्रको लागि, जो मेरो लागि  एकदम प्यारो छ। म कृतज्ञ छु उनीहरुप्रति यति छोटो समयमा यति धेरै परिवर्तन सम्भव पारेकोमा। विश्वका यस्ता मुलुक बिरलै होलान्   जहाँ नेपाल जत्रो परिवर्तन तुलनात्मक हिसाबमा कम अशान्तिले सम्भव भएको छ। त्यसको मतलब घाउहरु नभएका होइनन। ती पुरिन लाग्ला वर्षौ वा केहि पुस्ता पनि। तर जुन परिवर्तन आएको छ त्यसको लागि श्रेय दिन्छु म नेता, कर्मचारी अनि सम्पूर्ण अग्रजलाई।

तर अब मलाई बिश्वाश छ उहाँहरुले हामीलाई विश्वास गर्नु हुन्छ होला। उहाँहरुको ख्याल विचार गर्ने। मलाई आशा छ उहाँहरु गर्व गर्नु हुनेछ हामीमा। हामी सक्षम छौ विश्वको कुनै पनि मुलुकको उत्तम भन्दा पनि उत्तमसंग प्रतिस्पर्धा गर्न। हामी केवल कुरा र नारामा मात्र होइन, क्षमतामा पनि उत्तिकै निखारिएका छौ। हामी घर फर्किदैछौँ । उहाँहरुको उपलब्धि खोस्न होइन त्यस्लाई युग अनुसार परिस्कृत र संस्थागत गर्न।

बुबा, यतिका वर्ष पछि तपाईं राजनीतिमा फेरि कदम चाल्न खोज्दै हुनुहुन्छ। हो, म तपाइको कैयौँ विचारसँग सहमत छैन न कि तपाईंले पुज्ने नेता ज्युलाई आदर्श मान्दछु। तथापी मतपाईंलाई सहयोग गर्ने छु।तपाईंको त्याग र समर्पणको लागि। मलाई आशा छ देशले तपाईं जस्तो धेरैलाई एक मौका दिनेछ आफ्नो सीप र जोश प्रस्तुत गर्ने।

त्यसैले बुबा म तपाईंको फेसबुकमा भएका साथीको संख्या बढोस भन्ने कामना गर्दछु। कुनै खोक्रो लोक प्रियताको लागि होइन तर यो विश्वासले कि तपाईंलाई मौका मिल्ने छ आफ्नो देश र माटो चिन्ने अनि बुझ्न्ने। त्यो माटो जसलाई तपाईंले विदेशबाटै यतिका वर्ष मलजल गर्नु भयो आफ्नो पसिना र रगतले। आशा छ माटोले तपाईंको त्याग बिर्सेको छैन र बिर्सने पनि छैन।

तर मलाई अझै लाग्छ कि केहि वर्षमा जब तपाईंले बिश्राम लिने दिन आउनेछ तपाईंले मौका दिनु हुन्छहोला आफ्नो छोरी अनि छोरालाई तपाईंको ख्याल राख्ने। यदि राजनीतिमा तपाईंले सोचेको जस्तो सफलता हात लागेन भने कृपया हरेस नखानुस्। तपाईंले मेरो अनि हाम्रो पुस्तालाई जुन बातावरण बनाइदिनुभएको छ त्यसबाटै हामी देशलाई अघि बढाउनेछौँ। आखिरमा मेरो सपना भने कै तपाइको सपना होइनर?

मलाई बिश्वास छ म तपाईंलाई म माथि गौरव गर्न लायक कार्य गर्नेछु। प्रयत्नरहनेछ मेरो। छोरो चुकेमा बाटो सम्झाइ दिनुहोला, लडेमा हात समाति दिनुहोला। जसरी यतिका वर्ष गरि राख्नु भएको छ मेरो कुनै आग्रह विनानै।

प्रिय आमा अनि बुबा, तपाईंको फर्किन लागेको छोरोको आग्रह यति नै हुनेछ। म मा अलिकति विश्वास, थोरै आश अनि अथाह विश्वास राख्नुस ताकि म बुन्न सकूँ सपनाअरु बा आमाको लागि। आउनुहोस नेपालको लागि अझै केहि गरौँ। सुरुवात घरबाट नै।

 

धेरैमाया,

अस्मोद

 








यसमा तपाईको मत

अन्य समाचार

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

Ncell Footer Ad