coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

'इन्दुशंकर सञ्चालन अन्नपूर्णको टुंगो छैन्'

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगको यार्डमा उखु बोकेर आएका सवारीसाधनको लाम। तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही - सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले चालू सिजनका लागि उखु क्रसिङ सुरु गरेको छ। उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले मंगलबार रातीबाट पूर्ण रुपले उद्योग सञ्चालनमा आएको जानकारी दिए।‘मंगलबार दिउँसो दुई बजेदेखि ट्रायल सुरु गरेका थियौं,’ नेपालले भने, ‘केही छिन चल्ने अनि केही छिन बन्द हुने भयो र रातीबाट भने पूर्ण रुपमा उद्योग चलिरहेको छ।’ इन्दुशंकरले पाँच दिनअघि किसानलाई उखु ल्याउने चलान पुर्जी वितरण गरेको थियो। चलान पुर्जी पाएसँगै किसानले धमाधम उखु काटेर उद्योगमा ल्याउन सुरु गरेका छन्।

चालू सिजनमा करिब ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखिएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। गत वर्ष पुस ३ गते नै सञ्चालन भएको उक्त उद्योगले ३९ लाख ९९ हजार एक सय २२ क्विन्टल उखु क्रसिङ गरेको थियो। सरकारले केही दिनअघि नै चालु सिजनका लागि उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा तोक्दै चिनी उद्योगले चार सय ७१ रुपैयाँ २८ पैसा तथा सरकारले अनुदानबापत किसानलाई ६५ रुपैयाँ २८ पैसा उपलब्ध गराउने निर्णय गरेसँगै मुलुकभरका चिनी उद्योग सञ्चालनको तरखरमा छन्।

नेपाल उखु उत्पादनक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले धेरै ढिला गरी चिनी उद्योग सञ्चालन हुँदा किसानलाई उखु काट्न निकै चटारो परेको बताए। ‘सामान्यतया यस वर्ष चिनी उद्योग चल्न डेढ महिनाभन्दा बढी ढिला भइसक्यो,’ अध्यक्ष मैनालीले भने, ‘त्यसैले अब किसानलाई विगतका वर्षभन्दा उखु काट्नका लागि निकै चटारो परिरहेको छ।’

त्यस्तै जिल्लाकै पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर उद्योग सञ्चालन हुन अझै केही दिन लाग्ने भएको छ। उक्त उद्योगले डोंगा पूजा नै गर्न सकेको छैन। उक्त उद्योगले गत वर्ष १२ लाख ८४ हजार पाँच सय ६२ क्विन्टल उखु क्रसिङ गरेको थियो। अन्नपूर्णको मिलगेट क्षेत्रअन्तर्गत पर्ने धनगढाका किसान लक्ष्मण रायले छेउको उद्योग समयमै नचल्दा आफूजस्ता किसान निकै मारमा परेको बताए। ‘सिँचाइको व्यवस्था नभएको जमिनको उखु सुकेर खत्तम भइसक्यो,’ उनले भने, ‘उद्योग अझै १०–१५ दिनपछि मात्र चल्छ भनेका छन्, अन्य बाली लगाउन उखु काटेर बारी खाली गराउन समेत समस्या भइसक्यो।’

त्यस्तै जिल्लाकै बगदहस्थित महालक्ष्मी सुगर मिलले समेत यस सिजनबाट उखु क्रसिङका लागि प्रयास गरिरहेको बताइएको छ। दुई वर्षदेखि निर्माणाधीन उक्त उद्योगले यस वर्ष भने ‘पाइलट फेज’का रुपमा उखु क्रसिङ सुरु गर्ने बताइएको छ। यस वर्ष सर्लाहीमा करिब २६ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको छ। सर्लाही मुलुकमै सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो। हरिवनको इन्दुशंकर र धनकौलको अन्नपूर्णबाहेक बगदहमा नयाँ स्थापना भएको महालक्ष्मी सुगर मिलले समेत यस वर्षदेखि पाइलट फेजका रुपमा उद्योग सञ्चालनको तयारी गरिरहेको बताइएको छ।

प्रकाशित: ३ माघ २०७५ ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App