७ वैशाख २०८१ शुक्रबार
अर्थ

पाइलटले धोका दिँदा थन्किए ‘वाई१२–ई’ जहाज

काठमाडौं - दुर्गम क्षेत्रमा उडान गर्ने नेपाल वायुसेवा निगमका चार थान ‘वाई१२–ई’ जहाज थन्किएका छन्। पाइलटले नियमित तालिका अनुसार जहाज उडाउन आनकानी गरेपछि अहिले निगमका चारै थान ‘वाई१२–ई’ जहाज थन्किने अवस्थामा पुगेका हुन्। ती जहाजले दैनिक तीनदेखि चार उडान गर्दै आएका थिए।

‘वाई१२–ई’ जहाजमा चार जहाजमा चार क्याप्टेन छन्। उद्धव घिमिरे, नृपेन्द्र भट्टराई, सन्जयबादे श्रेष्ठ र आङनुरी शेर्पा। चारमध्ये उद्धव घिमिरे एअर बस उडाउने तालिम गर्न इन्डोनेसिया गएका छन्। बाँकी तीन पाइलटले उडाउन अटेर गरेकाले जहाज थन्किने अवस्था आएको हो।

पुस २९ गते निगमले नियमित तालिका अनुसार क्याप्टेन नृपेन्द्र भट्टराई र सन्जय बादे श्रेष्ठलाई सोधेरै सिमरा, भैरहवा लगायत तीन ठाउँको उडान राखेको थियो। उडानको समय भएर क्याप्टेन भट्टाराई र श्रेष्ठलाई फोन गर्दा जहाज उडाउन नसक्ने जानकारी दिए। तत्कालै क्याप्टेन शेर्पा आएर एउटा उडाए; बाँकी दुइटा उडान अन्तिम समयमा आएर रद्द गरियो। टिकट काटेर विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारियो।

क्याप्टेन भट्टराई र श्रेष्ठको कारण यसैगरी बारम्बार उडान रद्द हुने गरको निगमको उच्च स्रोत बताउँछ। ‘उनीहरुलाई सोधेरै उडान राखिन्छ,’ निगम उच्च स्रोतले भन्यो, ‘अन्तिम समयमा आएर नसक्ने जानकारी दिन्छन्।’ स्रोतका अनुसार पछिल्लो सयममा भट्टराई र श्रेष्ठले तालिकाअनुसार जहाज नउडाउँदा निगमलाई ठूलै घाटा भइरहेको छ। नाम नबताउने सर्तमा निगमका एक अधिकारीले ‘वाई१२–ई’ जहाज उडाइरहेका क्याप्टेन घिमिरेलाई एअरबस उडाउने तालिम गराउन पठाएको भन्दै भट्टराई र श्रेष्ठले तालिका अनुसार जहाज उडाउन आनकानी गरेका हुन्। आफूहरुलाई पनि एअरबस उडाउने तालिममा नपठाएको गुनासो उनीहरुको छ। तर, आन्तरिक मूल्यांकनको आधारमा भट्टराई र श्रेष्ठ दुवै क्याप्टेन तालिमको लागि योग्य छैनन्।

निगमका अनुसार क्याप्टेन भट्टराईको नियुक्ति ‘वाई१२–ई’ जहाज उडाउनकै लागि भएको हो। क्याप्टेन श्रेष्ठको भने ‘वाई१२–ई’ चलाएको १५ सय घन्टा पुगेकै छैन। क्याप्टेन श्रेष्ठले १६ दिनअघि आफूले सानो जहाज उडाएको १५ सय घन्टा नपुगेकाले पुगेपछि तालिममा पठाउन अनुरोध गरेर निगममा निवेदन दिएका थिए। तालिमको लागि अयोग्य हुँदाहुँदै पनि तालिममा नपठाएको भन्दै नियमित उडान नगरेपछि निगमले उनीहरुलाई कारण सोधेको थियो। भट्टाराई र श्रेष्ठले तीन दिनअघि बिरामी रहेको जानकारी गराएका थिए। निगम स्रोतका अनुसार खासमा उनीहरु बिरामी नभएर निगमलाई असहयोग गर्न बिरामीको बहाना गरेका हुन्। निगमले यसलाई क्याप्टेनले दिएको धोका मान्दै छानबिन गर्ने बताएको छ।

यी दुई क्याप्टेन यसअघि पनि निगमको कारबाहीमा परेका थिए। दुवैजना निगमको स्थायी पाइलट हुन्। श्रेष्ठ लापरबाहीपूर्वक जहाज उडाएको भन्दै आन्तरिक कारबाहीमा परेका थिए। भट्टराईले पनि जहाज उडानमा लापरबाही गरेको भन्दै निगम बोर्डले सेवामा अयोग्य नठहरिने गरी हटाएको थियो। भट्टराई सर्वोच्च अदालतबाट स्टे अर्डर ल्याएर पुनर्बहाली भएका क्याप्टेन हुन्। अहिले फेरि तिनै क्याप्टेनले १० दिनदेखि नियमित उडान नगरेपछि उडान तालिका समेत कटौती गरेको निगमका प्रवक्ता नवराज कोइरालाले बताए। क्याप्टेन श्रेष्ठ र भट्टराई दुवैले नियमित उडान नगरेपछि क्याप्टेन शेर्पाले दैनिक एक उडान गर्दै आएका थिए। शेर्पाले पनि बुधबार राजीनामा बुझाएका छन्।
‘कोही पाइलट पनि जहाज उडाउन तयार हुँदैनन् भने किन मैले मात्रै उडाइरहनुपर्‍यो र ?’ उनले भने, ‘त्यसैले बुधबार निगममा मैले पनि राजीनामा दिएको छु।’ शेर्पा करारका क्याप्टेन हुन्।

क्याप्टेन शेर्पाले राजीनामा दिएसँगै पाइलटको कारणले गर्दा निगमको ‘वाई१२–ई’ चारै थान जहाज थन्किने अवस्थामा छन्। यी जहाजले दुर्गमका क्षेत्रमा उडान गर्छन्। हाल यी जहाजबाट सिमरा, पोखरा, दाङ, भैरहवा लगायत ठाउँमा दैनिक तीनदेखि चार उडान हुँदै आएको थियो। केही दिनयता उडान कटौती भई दैनिक एकमा झरेको उडान शेर्पाको राजीनामपछि पूरै रोकिने अवस्थामा पुगेको छ। यस विषयमा क्याप्टेन भट्टराई र श्रेष्ठसँग बुझ्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन्।

 

प्रकाशित: ३ माघ २०७५ ०५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App