८ वैशाख २०८१ शनिबार
खेल

हिमालयन शेर्पा फाइनलमा

वीरगन्ज –११ (रातो) र हिमालयन शेर्पाका खेलाडी प्रतिस्पर्धा गर्दै । तस्बिर : रितेश नागरिक

वीरगन्ज - आयोजक वीरगन्ज ११ लाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै हिमालयन शेर्पा क्लब, यहाँ जारी दोस्रोे टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। यहाँस्थित नारायणी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको थियो।

टाइब्रेकरमा हिमालयन शेर्पाका लागि रवि थापा, उरिच सिवी, प्योट्रिक गोहा र विजय श्रेष्ठले गोल गरे भने वीरगन्जका लागि  कप्तान कृष्ण शाक्य, शिशिर थापा र कृपाकान्त चौधरी मात्र गोल गर्न सफल भए । सञ्जय चौधरी र अनुज सिंहका प्रहार हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले रोक्न सफल भए। 

पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेको थिएन। खेलको ५५औं मिनेटमा काजिमा भुसारीले गोल गरेपछि वीरगन्जले १–० गोलको अग्रता लिएको थियो। निर्धारित समयको अन्तिमसम्म वीरगन्जले सो अग्रता कायम राखेपछि खेल रोमाञ्चक बनेको थियो। इन्जुरी समयमा भने वीरगन्जले आत्मघाती गोलको उपहार दियो। निर्धारित समय १–१ को बराबरीमा सकियो।

सुरुमा लिएको अग्रता वीरगन्जले अन्तिम समयमा जोगाउन नसक्दा खेल टाइब्रेकरमा धकेलिन पुगेको थियो। निर्धारित ९० मिनेटको समयपछि थपेको समयमा हिमालयन शेर्पाका डेडी वाम्बा जुनियरले विपक्षीको डी–बक्सभित्र प्रहार गर्दा बल पोस्टको बारमा लागेर फर्किएको थियो। फर्किएको उक्त बल, वीरगन्जकै कृष्ण कार्कीको जीउमा लागेर गोलपोस्टभित्र छिरेपछि हिमालयनले आत्मघाती गोल उपहार पायो।

खेलको म्यान अफ दी म्याच वीरगन्जका कृष्ण कार्की घोषित भए। बिहीबार  त्रिभुवन आर्मी क्लब र झापा ११ बीच दोस्रो सेमिफाइनल हुनेछ। यी दुईबीचको विजेतासँग हिमालयन शेर्पाले उपाधिका लागि भिड्नेछ। फाइनल खेल माघ ५ गते हुनेछ।

प्रकाशित: ३ माघ २०७५ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App