७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

‘स्वाइन फ्लु फैलिएको छैन’

काठमाडौं – हाल समुदायमा फैलिरहेको संक्रमण स्वाइनफ्लु नभएर इन्फ्लुएन्जा रहेको राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै अहिले देखा परिरहेको ‘इन्फ्लुएन्जा एच वान–एन वान पेन्डामिक २००९’ रहेको जनाएको छ। ‘वंगुरबाट मानिसमा सर्ने स्वाइनफ्लु देखिएको छैन। संचारमाध्यममा भनिए तापनि यो रोग मानिसबाट मानिसमा सर्ने इन्फुलुन्जा हो,’ महाशाखाको विज्ञिप्तिमा उल्लेख छ। महाशाखाले हालै फैलिरहेको इन्फ्लुएन्जा मौसमी फ्लुकै रुप रहेको र एक व्यक्तिमा तीव्र रुपमा संक्रमण भई श्वास–प्रश्वासमा लाग्ने रोग भएको जनाएको छ। सो संक्रमण जाडो मौसम तथा मौसम परिवर्तन हुने समयमा फैलिने गर्छ।

राष्ट्रिय प्रयोगशाला टेकुमा मंसिरदेखि पुस २६ भित्रमा १ सय ४६ जनामा इन्फ्लुएन्जा ए एचवान– एन वान पेण्डामिक २००९ प्रमाणित भएको छ भने ९ जनामा ‘इन्फुलुन्जा ए एच थ्रि’ र १३ जनामा ‘इन्फुलुन्जा बी’ प्रमाणित भएको छ। ती मध्ये इन्फ्लुएन्जा प्रमाणित भएका एक जनाको स्वास्थ्य जटिल भई मृत्यु भएको महाशाखाले जनाएको छ। राष्ट्रिय प्रयोगशलामा यो अवधिमा बिभिन्न अस्पतालमा उपचार गर्न पुगेका ३ सय ६४ जनाको र्‍यालको नमुना परीक्षण गरिएको थियो। सामान्य रुघाखोकीको रुपमा देखिएने यो रोग संक्रमण भएपछि एक जनाबाट अर्को व्यक्तिमा खोक्दा, हाच्छ्यिुँ गर्दा सर्ने भएकोले शरीरमा प्रतिरोध क्षमता कम भएका समूहका व्यक्तिहरु सचेत हुनुपर्ने महाशाखाले जनाएको छ।

हाल समुदायमा फैलिरहेको संक्रमण स्वाइनफ्लु नभएर इन्फ्लुएन्जा हो तर सावधानी अपनाउनु आवश्यक छ । इन्फ्लुएन्जा प्रमाणित भएका एक जनाको मृत्यु भइसकेको छ ।

महाशाखाका अनुसार मधुमेह, उच्चरक्तचाप, दम, मिर्गौला, एचआइभी रोग लागेको, लामो समयदेखि औषधि सेवन गरेका,६५ वर्ष माथिका वृद्ध–वृद्धा, पाँच वर्षमुनिका बालबालिकाहरु विशेष सचेत हुुनुपर्ने महाशाखाले जनाएको छ।यो रोगबाट बच्नको लागि भीडभाडमा नजाने, सही तरिकाले साबुलन पानीले हात धुने, हात नमिलाउने, नमस्कार गर्ने, अरुसित बोल्दा टाढैबाट बोल्ने, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने, रोगीलाई छुट्टै कोठामा राख्ने, आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने, जथाभावी नथुक्ने लगायतका सावधानी अपाउनुपर्छ। यसका साथै शंकास्पद व्यक्ति सकभर टाढा बस्ने, रुघाखोकी लागेका व्यक्ति तीन÷चार दिनसम्म घरैमा आरम गर्ने, रोगी व्यक्तिलाई पौष्टिक आहार दिने, प्रशस्त मात्रामा झोल कुरा खाने, भातको माड, दालको रस, तरकारीको रस, गेडागुडीको झोल खुवाउने, रक्सी तथा चुरोट सेवन नगर्न सुझाव छ।

कुनै पनि व्यक्तिमा रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएमा स्वस्थ व्यक्ति पाँच दिनसम्म आरम गर्ने र ज्वरो आएमा चिकित्सकको सल्लाहमा औषधि खाने, जथाभावी औषधि किनेर नखाने र पाँच दिनपछि पनि निको नभएमा अस्पताल जाने र शंका लागेमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय प्रयोगशाला टेकुमा निःशुल्क परीक्षण हुने भएकाले ती स्थानहरुमा सम्पर्क गर्न महाशाखाको अनुरोध छ। सोही क्रममा महाशाखाले इन्फुलुन्जाको लक्षण भएका एकै स्थानका धेरै बिरामी आफ्नो संस्थामा आएमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखालाई खबर गर्न पनि महाशाखाको अनुरोध छ। 

प्रकाशित: ३ माघ २०७५ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App