८ वैशाख २०८१ शनिबार
राजनीति

स्विस बैंकमा ५५ नेपालीको ५२ अर्ब

काठमाडौं - स्विस बैंकमा ५५ नेपालीका नाममा ४६ करोड आठ लाख २१ हजार स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार ५२ अर्ब सात करोड २७ लाख ७३ हजार रूपैयाँ) बचत गरेको तथ्य खोजपत्रकारिता केन्द्र नेपालले बुधबार सार्वजनिक गरेको छ। यसबापत उनीहरूले ६९ लाख ७४ हजार स्विस फ्र्यांक (७७ करोड ४१ लाख १४ हजार रूपैयाँ) ब्याजसमेत पाइसकेका छन्। 

खोज पत्रकारिता केन्द्र (खोपके) को टिमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस’ (आइसिआइजे) सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजको खुलासा हो– नेपाललिक्स २०१९। नेपाललिक्समा नेपालीले विदेशी बैंकमा राखेको धन र नेपालमा वैदेशिक लगानीमार्फत आएको ‘ट्याक्स हेवन’ को रकमबारे विस्तृतमा उल्लेख छ। अन्य देशसँग सूचना लिन नेपाल सरकारले पारस्परिक सूचना आदानप्रदानसम्बन्धी सम्झौता नगरेका कारण त्यो रकम फिर्ता गर्न त के रकम राखिएको विषयमा अध्ययनमै कठिन छ।

नेपाललिक्सका अनुसार नेपालमा सशस्त्र द्वन्द्व सुरु भएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्विस बैंकमा रकम जम्मा गर्न थालेको देखिन्छ। स्विस नेसनल बैंकले २०१७ मा सार्वजनिक गरेको विवरणअनुसार पहिलो वर्ष नेपालीले एक करोड १० लाख ४२ हजार स्विस फ्र्यांक अर्थात् एक अर्ब २४ करोड ७७ लाख ४६ हजार रूपैयाँ बचत भएको देखिन्छ। द्वन्द्वकालको १० वर्षे अवधिमा २४ करोड दुई लाख ७२ हजार स्विस फ्र्यांक (२७ अर्ब १५ करोड सात लाख ३६ हजार रूपैयाँ) नेपालीले स्विस बैंकमा रकम जम्मा गरेका छन्। 

व्यवसायी अजेयराज सुमार्गीले विभिन्न विदेशी कम्पनीबाट करिब ६ करोड अमेरिकी डलर (करिब ६ अर्ब रूपैयाँ) नेपाल भित्र्याइसकेका छन् ।

द्वन्द्व सकिएपछिका दुुई वर्षमा सबैभन्दा बढी रकम बचत भएको छ। सन् २००६ अर्थात् २०६३ सालमा मात्रै तीन करोड ६७ लाख २७ हजार स्विस फ्र्यांक (चार अर्ब १५ करोड एक लाख ५१ हजार रूपैयाँ) बचत गरिएको छ। सन् २००७ मा नेपालीले उक्त बैंकमा तीन करोड ४५ लाख १० स्विस फ्र्यांक (तीन अर्ब ८९ करोड ९६ लाख ३० हजार रूपैयाँ) बचत गरेका छन्।  कुल बचतबाट अहिलेसम्म १३ करोड ८९ लाख ३७ हजार स्विस फ्र्यांक अर्थात् करिब १५ अर्ब ५८ करोड ६८ लाख ८१ हजार रूपैयाँ खाताबाट निकालेको देखिन्छ। अहिले पनि नेपालीको ३५ अर्ब ८४ करोड रूपैयाँ स्विस बैंकमा छ। कानुन छलेर देशभित्र र बाहिर राखेको सम्पत्तिको अध्ययन गर्न नेपाल सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन गरेको १२ वर्ष भइसकेको छ। तर स्विस बैंकमा पैसा पु-याउने क्रम रोकिएको छैन। विभाग गठन भएको २०६४ देखि २०७४ सालको अवधिमा मात्रै २२ करोड पाँच लाख ४९ हजार स्विस फ्र्यांक (२४ अर्ब ९२ करोड दुई लाख ३७ हजार रूपैयाँ) नेपाली बचतकर्ताले स्विस बैंकमा पु¥याएका छन्। अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेर राखिएको छ। यति गम्भीर मामिलामा यो निकायले कुनै सक्रियता देखाएको सार्वजनिक जानकारीमा छैन।

विभागका प्रवक्ता विनोद लामिछाने अन्तरदेशीय सूचना संकलनमा कानुनी समस्या रहेको नेपाल लिक्सलाई बताएका छन्। ‘यहाँ बसेर ज्योतिषीले चिना हेरेझैं पत्ता लाग्दैन। अन्य देशसँग सूचना लिन नेपाल सरकारले पारस्परिक सूचना आदानप्रदानसम्बन्धी सम्झौता गर्नुपर्ने हुन्छ। अहिलेसम्म त्यस्तो सम्झौता भइनसकेकाले अध्ययनमा कठिनाइ छ।’ 

बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख गर्ने मिनु शाह छिब्बर परिवार स्विस बैंकमा दुई अर्ब ६१ करोड रूपैयाँ जम्मा गरेर स्विस बैंकमा सबैभन्दा धेरै रकम जम्मा गर्ने नेपालीमा परेको नेपाललिक्सले जनाएको छ। नेपाललिक्सका अनुसार थप विवरणको खोजी गर्दै जाँदा मिनुको कारोबार स्विस बैंकमा मात्रै सीमित छैन भन्ने देखिन्छ। अवैध धन राख्न, स्रोत लुकाउन र गैरकानुनी आर्जनको खोजीनितीबाट बच्न सुरक्षित मानिने ‘ट्याक्स हेवन’ मुलुकको लगानीमा पनि मिनु जोडिएकी छन्। आइसिआइजेको पानामा पेपर्सले फेला पारेको २०१६ को विवरण अनुसार ब्रिटिस भर्जिन आइल्यान्डस्को विवादास्पद कम्पनी मोसेक फोन्सेकाले मिनुको नाममा रुनी होल्डिङ्स कम्पनी दर्ता गराइदिएको छ।
इंगल्यान्ड र फ्रान्सबीचको टापु जर्सीको च्यानल आइल्यान्डसमा दर्ता भएको यो कम्पनीको बैंकखातामा लगानीको लाभकर्तामा मिनुको नाम छ। ट्याक्स हेवन मानिने जर्सीमा यो कम्पनी सन् २००० मा दर्ता भई २०१६ सम्म सक्रिय रहेको देखिन्छ। रुनी होल्डिङ्स कम्पनीको सेयर सदस्यसम्बन्धी सन् २०१० को एक दस्ताबेजअनुसार उक्त कम्पनीमा मिनुले लगानी गर्नुपूर्वका सेयर सदस्यहरू ब्रिटिस नागरिक थिए। उनीहरूमार्फत मिनु ‘ट्याक्स हेवन’ मुलुकमा प्रवेश गरेको देखिन्छ।

दुबईको पर्ल ग्लोबलसँग सम्बन्धित एटवाटर पनि स्विस बैंकका बचतकर्ता हुन्। उनले दुुई फरकफरक खातामा रकम जम्मा गरेका छन्। एउटा खातामा नौ लाख सात हजार ७७ अमेरिकी डलर (नौ करोड ६३ लाख रूपैयाँ) रकम जम्मा देखिन्छ। अर्को खातामा भने पाँच करोड ६५ लाख १६ हजार ९७९ डलर अर्थात् करिब नौ अर्ब रूपैयाँ रकम देखिन्छ। अहिले उनी बेलायतमा बस्दै आएका छन्। स्विस बैंकको विवरणअनुसार बेलायतमा एटवाटरको पाँचवटा कम्पनीमा लगानी छ।

त्यस्तै गोविन्दभाइ लालझिभाइ ककडिया नाम गरेका व्यक्तिले स्विस बैंकमा दुई हजार एक सय ८६ अमेरिकी डलर (दुई लाख ३५ हजार पाँच सय १९) रूपैयाँ जम्मा गरेका छन्। सुजल, अरूण र गोविन्द तीनैजनाको ठेगाना पाटन, काठमाडाैँ लेखिएको छ। यही ठेगानाका भरमा स्विस बैंक र आइसिआईजेले उनीहरूले राखेको पैसालाई ‘नेपालीले गरेको बचत’ को सूचीमा राखेको देखिन्छ। तर, गुजरात, पाटनमा जन्मेका गोविन्दभाइ लालझिभाइ ककडिया भारतका प्रतिष्ठित सुन तथा हीरा व्यापारी हुन्। रजिस्ट्रार अफ कम्पनिज इन्डियाका अनुसार भारतमा सुन र हीराको कारोबार गर्ने पाँच कम्पनीमा उनको लगानी छ। भारतमा हीराको कटिङ, प्रशोधन तथा उत्पादनमा अग्रपंक्तिमा रहकोे उनको कम्पनी हो, शीतल म्यानुफ्याक्चरिङ प्रालि।

नेपाल लिक्सका अनुसार ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानुनी व्यवस्थाविपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ। यस्तो लगानी गर्नेमा प्राध्यापक, डाक्टर, पूर्वसांसद, नेता र समाजमा नामै नसुनिएका व्यक्तिसमेत छन्। यसरी विदेशमा लगानी गर्नेमा व्यवसायी अजेयराज सुमार्गीको पनि रहेको भेटिएको छ। नेपाल लिक्सले सुमार्गीले साइप्रसको एयरबेल सर्भिसेज लिमिटेड कम्पनीमा लगानी गरेको उल्लेख गरेको छ। साइप्रसस्थित म्याग्नम हाउस ठेगाना उल्लेख गरिएको र हालसम्म पनि सक्रिय यो कम्पनी सन् २००८ मा खोलिएको हो। ‘म्याग्नमसर्भ सेक्रेटरी लिमिटेड’ नामक ल फर्मले दर्ता गराइदिएको एयरबेलका लगानीकर्तामा अजयराज सुमार्गी पराजुली, नेपालस्थित सुमार्गीको कम्पनी मुक्तिश्री प्रालिमा काम गर्ने अर्जुन शर्मा, ब्रिटिस भर्जिन आइल्यान्डस्को जोधार इन्भेस्टमेन्ट्स प्रालि र अरू १२ जना विदेशी नागरिक छन्। सुमार्गीको ठेगाना हेटौंडा–५ मकवानपुर नेपाल लेखिएको छ भने शर्माको कमलादी काठमाडौं–२ उल्लेख छ। 

साइप्रसका खोज पत्रकार स्तेलियोसलाई उधृत गर्दै नेपाल लिक्सले लेखेको छ, ‘साइप्रसमा सुमार्गीको कम्पनी दर्ता हुँदा नेपालको मात्रै हैन, साइप्रसको समेत कानुन उल्लंघन भएको छ। विदेशमा लगानी गर्न नपाउने देशका नागरिकले साइप्रसमा पनि लगानी गर्न पाउँदैन। म्याग्नमसर्भ ल फर्मले नेपालीले विदेशमा लगानी गर्न नपाउने कानुनी व्यवस्थाबारे थाहा पाउनु जरुरी थियो।’

सुमार्गी र शर्माले विदेशमा लगानी गरेर कानुनको स्पष्ट उल्लंघन गरे। त्यतिमात्रै होइन, नेपालका सरकारी निकायसँग अनुमति नलिई विदेशी लगानीका नाममा विदेशको आफ्नै कम्पनीबाट नेपालमा रकम भिœयाउने कामसमेत गरे। यसअघि सार्वजनिक विवरणअनुसार उनीहरूले नेपालका सरकारी निकायसँग अनुमति नलिई विदेशी लगानीका नाममा आफ्नै एयरबेल कम्पनीबाट नेपाल रकम भिœयाएका थिए। २०७४ पुसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तयार गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार ‘सन् २००८ देखि २०१३ सम्ममा सुमार्गीले नौ पटक गरेर ६ करोड ३१ लाख ८५ हजार ५३३ अमेरिकी डलर (६ अर्ब ३१ करोड ८५ लाख ५३ हजार ३५५ रूपैया“) एयरबेलबाट आफ्ना नेपाली कम्पनीमा भिœयाएको देखिन्छ।’ यसबाहेक पनि सुमार्गीले अरू विभिन्न विदेशी कम्पनीबाट करिब ६ करोड अमेरिकी डलर (करिब ६ अर्ब रूपैयाँ) अहिलेसम्म नेपाल भित्र्याइसकेका छन्। 

सुमार्गीले एयरबेलमा आफ्नो लगानी नभएको बताएको नेपाललिक्सले उल्लेख गरेको छ। ‘साइप्रसको एयरबेल भन्ने कम्पनीमा कसरी मेरो लगानी हुनु ? तपाईंले पाउनुभएको डकुमेन्टमा त्यही सूचना छ भने लेख्नुस्’, उनले विदेशबाट सबै रकम सरकारमार्फत औपचारिक रूपमै ल्याएको दाबी गरे। सुमार्गीले भने, ‘मेरो टेलिफोन कम्पनीको मालिक नै एयरबेल हो। एयरबेलको मालिक टेलियासोनेरा हो।’ उपेन्द्र महतो र टेलियासोनेरासँगको साझेदारीका विषयमा उनले भने, ‘मलाई थाहा छैन। यसबारे उपेन्द्र महतोलाई नै सोध्नुस्।’ नेपाल लिक्सका अनुसार सिंगापुर बस्ने नेपाली व्यवसायी सतिशलाल आचार्यले सन् २००० देखि २००७ सम्म ब्रिटिस भर्जिन आइल्यान्डसमा विभिन्न चार कम्पनी दर्ता गरेको देखिन्छ। आचार्यले पासा होल्डिङ लिमिटेड, स्क्वायर स्टार इन्क, लासेल होल्डिङ इन्कर्पोरेटेड र लिडिङ फेथ इन्कर्पोरेटेड कम्पनी दर्ता गरेका छन्। लासेल कम्पनीमा लिडेनवर्ग लिमिटेडको पनि लगानी छ। सतिश आचार्यकी पत्नी भावनासिंह श्रेष्ठको नामबाट पनि विदेशमा लगानी भएको देखिन्छ। सन् २०१५ मा उनको नाममा सिंगापुरमा सुनिभेरा क्यापिटल भेन्चर प्राइभेट लिमिटेड दर्ता भएको छ। सुनिभेरा क्यापिटल भेन्चर भावनाकै नाममा नेपालमा पनि कम्पनी दर्ता छ। नेपालमा ठूलो कर छली प्रकरणमा मुछिएको एनसेल कम्पनीमा सुनिभेराको (२० प्रतिशत) लगानी छ। 

सतिशको लगानी क्याम्बोडियालगायत अन्य मुलुकमा पनि छ। २१ अप्रिल २०१६ मा क्याम्बोडियाको नोमपेन पोस्टमा कार्यरत खोज पत्रकार ज्याक डेभिसको रिपोर्टमा उल्लेख भएअनुसार सन् २००६ मा आचार्यले क्याम्बोडियामा टेलिकम कम्पनी एप्लिफोन खोलेर सो कम्पनीको अध्यक्षमा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहलाई नियुक्त गरेका थिए। एप्लिफोनले नेपालको स्मार्ट टेलिकममा लगानी गरेको छ। स्मार्ट टेलिकम नेपालमा सतिश र उनका परिवारको लगानी रहेको कम्पनी हो। उनले सिंगापुरमा खोलेको अर्को बिटम्याप प्राइभेट लिमिटेडले एसिया तथा अफ्रिकामा टेलिकमको व्यापार गर्ने गरेको छ। सन् २००२ मा झन्डै एक खर्ब रूपैयाँ बराबरको पुँजी र सम्पत्ति देखाउँदै यो कम्पनी स्थापना भएको हो।

प्रकाशित: ३ माघ २०७५ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App