कलेज लाइफ

मेरी क्लासमेट चादँनी राणा

बुधबार, ०२ माघ २०७५, १५ : २७ प्रजु पन्त

1028


काठमाडौँको डिल्लीबजारस्थित चारखाल अड्डा भएको ठाउँ त्यतिबेला देवकोटा, तिवारी, जोशीहरुको ठूलो बस्ती थियो। त्यही बस्तीमा एउटा  तिवारी टोल थियो। त्यही टोलमा साहित्यकार भीमनिधि तिवारीको घर। त्यही घरमा भीमनिधि तिवारी र भुवनेश्वरी तिवारीको दोस्रो सन्तानको रुपमा वि.सं. २००४ माघ महिना १६ गते जन्मेकी हुन्, साहित्यकार  मञ्जु काचुँली तिवारी।

त्यतिबेला काठमाडौँ अहिलेजस्तो भिडभाड थिएन। प्राकृतिक सौन्दर्य मासिएको थिएन। त्यो बेला काठमाडौँ विकसित गाउँजस्तै थियो। कला–संस्कृतिले चिटिक्क थियो। भर्खर खुल्न थालेका स्कुल अनि प्रजातन्त्रको आगमनपछि खुलेआम लेख्न पाएका लेखक। रमणीय प्रकृति र अध्ययनशील  बुबाआमाको सामीप्यमा हुर्कन पाएकी मञ्जु अहिले ती दिन सम्झँदा सपना पो हो किझैँ मान्छिन्।

‘फराकिलो आँगन र बारी, बारीमा लहलहै फल्ने तरकारी र फलफूल,’ मञ्जु सम्झँदै भन्छिन्, ‘अनि घरभरि अंग्रेजी, हिन्दी र संस्कृतका ठेलीका ठेली पुस्तक ! समग्रमा पुस्तक र प्रकृतिको सामीप्यमा मेरो बालजीवन बित्यो।’

हजुरआमाले स्कुल नपठाउँदा
बुबा भीमनिधि तिवारी त्यसै पनि चर्चित साहित्यकार। उस बेलामा पनि मञ्जुकी आमा भुवनेश्वरी पनि  ग्र्याजुएट। फाइन आर्टमा गोल्डमेडलिस्ट उनकी आमा महेन्द्र भवन स्कुल सानोगौचरणमा अध्यापन गराउँथिन्।

यस्तो परिवारको सन्तान भएर स्कुल जानबाट वञ्चित हुनुपर्ने कारण थिएन। त्यसमाथि राणाकालमै डिल्लीबजारस्थित पद्यकन्या विद्यापीठ खुलिसकेको थियो। घरनजिकै विद्यालय भए पनि मञ्जुले बच्चा बेलामा पढ्न पाइनन्। मञ्जुकी हजुरआमा भीमनिधिकी सौतेनी आमा थिइन्। उनले सिधै केटीमान्छेलाई स्कुल किन पठाउनु भन्न त सकिनन् तर मोटरले  किच्छ, घरमै पढाउने व्यवस्था गरे भइहाल्यो भन्न थालिन्। त्यसैले १० वर्षको हुञ्जेल मञ्जुले घरैमा पठनपाठन गरिन्। त्यसपछि पनि स्कुल पठाउन बुबा भीमनिधिलाई निकै सकस भएको सम्झिन्छिन् मञ्जु।
स्कुल जान नपाए पनि बुबाले उनलाई नेपाली, अंग्रेजी र गणितका सामान्यज्ञान घरैमा सिकाएका थिए। उनी भन्छिन्, ‘बुबा त मेरो गुरु हो। उहाँले क ख मात्रै सिकाउनु भएन, मलाई जीवन सिकाउनु भयो।’

नछुट्ने बुबाको साथ
उनको घरमा घरभरि फूल थिए। त्यो पनि थरिथरिका। उनलाई कति फूलहरुमा पानी हाल्न असाध्यै मन पथ्र्याे। उनी बिहानबेलुकी ती फूलमा  पानी हाल्थिन्। फूलमा पानी हालेको देखेर बुबाले स्याबासी दिन्थे। प्रायः बुबासगँको साथ छुट्दैनथ्यो। उनी  भन्छिन्, ‘विभिन्न ठाउँमा कविता वाचन हुन्थे। बुबाले मलाई सँगै लैजानुहुन्थ्यो। त्यस कारणले मैले कसरी कविता वाचन गर्ने भनेर पनि छिट्टै सिक्न पाएँ।’ त्यति मात्र हैन, उनीहरुको घरमा प्रायः साँझ आफूले सिर्जना गरेका कविताहरु लय हालेर सुनाउने चलनै थियो। उनी पनि आफ्नो पालो आएपछि पढेर सुनाउँथिन्। उनको लय सुनेर बुबाको स्याब्बासी पाउँथिन्।

तरकारी पकाउँदा बक्सिस
उनको घरको आर्थिक अवस्था हुनेखानेमा नै गनिन्थ्यो। उसमाथि बुबा सरकारी जागिरे। पैसाको गाह्रो थिएन। पहिला जातअनुसार काम हुने र फलामे काम वा लुगा सिउने काम पर्यो भने घरमै काम गर्ने मानिसलाई बोलाउने चलन थियो। खाना पकाउनसमेत बाहुन–बाहुनी राख्ने चलन थियो। त्यसैले उनले घरमा खासै काम गर्नु पर्दैनथ्यो। केटाकेटी बेलामा भने जे गर्नुपर्दैन भन्यो, त्यही गर्न मन लाग्थ्यो। तरकारी छोडाउन हुन्न भन्यो भने त्यही छोडाउनुपर्ने, पकाउन हुन्न भन्यो भने त्यही पकाउन मन लाग्ने ! उनले भनिन्, ‘हुन त त्यतिबेला हामीले पकाएको खाना बुबाआमाले खानुहुन्नथ्यो तर तरकारी भने चल्थ्यो। मैले पनि एक दिन रहर लागेर तरकारी पकाएँ। बुबाले खानुभयो। उहाँले मीठो तरकारी पकाइछ भनेर बक्सिस दिनुभयो।’

बुबा देख्दै डर लाग्ने
‘ब्राह्मण परिवार कडा अनुशासनमा बसेको हामी त !’ बालापन सम्झँदै तिवारीले भनिन्, ‘बुबाले हात उठाउनै पर्दैनथ्यो, उहाँले सिधा हेरेपछि हामी डरले थुरथुर हुन्थ्यौँ।’ बिहान बुबाको कोठाअगाडि घण्टी बज्थ्यो। त्यो घण्टीअघि आफ्नो हाजिरी जनाउनुपथ्र्यो। त्यसपछि सुरु हुन्थ्यो बुबाको पढाइ। पढ्ने–लेख्ने निरन्तर चलिरहन्थ्यो। यस्तैमा एक दिन उनीहरु घण्टी बजेपछि हाजिर भनेर पढ्न बसे। बुबाको अन्तैकतै काम परेर बाहिर गए। यही मौकामा मञ्जुका दिदीबहिनी बाहिर खेल्न गए। उनीहरु घरको चौघेरा नाघ्न नपाए पनि अरु टोलका साथी भने उनका घरमा आउँथे। त्यस दिन पनि बुबाको आँखा छलेर खेल्न पुगे। छोराछोरी पढिरहेका होलान् भनेर ढुक्क भएका बाबु आउँदा त छोराछोरी गायब ! कता गएछन् भनेर बरण्डाबाट हेर्दा त उनीहरु मज्जाले खेलिरहेका ! बरण्डाबाट बुबा भीमनिधिले बोलाए, ‘ओई, मञ्जु !’

यसपछि त उनको सातो गइहाल्यो। हत्त न पत्त बुबाका अगाडि पुगेकी मञ्जुलाई सुस्तरी कान निमोठे पनि चर्को भइहाल्यो। त्यसपछि त डाँको छाडेर रुन थालिन् उनी। ‘म यति रोएँ कि, त्यसपछि बुबाले मलाई कहिल्यै कुट्नु भएन,’ उनले भनिन्, ‘म पनि बुबाको हातको कान मोलाइबाट जोगिन सधैँ अनुशासनप्रिय रहेँ।’

गुन्यूचोली लगाउँदा मनै रमाउने
महिनावारी सुरु हुनुअघि हिन्दु संस्कारअनुसार छोरीलाई गुन्यूचोली दिने चलन हुन्छ। उनको पनि गुन्यूचोली लगाउने दिन आयो। त्यो दिन गुन्यूचोली लगाउँदा उनलाई यति रमाइलो लाग्यो कि त्यसको रमरमी उनले अहिलेसम्म भुलेकी छैनन्। उनले भनिन्, ‘त्यो गुन्यूचोली दिएको दिन दिनभरि सारी चोली लगाएर बसियो। सारी नै फुकाल्न मन लागेन। भोलिपल्ट त त्यो सारीको कुर्था बनाइदिनुभएछ ! कम्ती त नरमाइलो लागेको होइन !’

नाङ्लो ठटाएर लुतो भगाउने काइदा
हिन्दु संस्कारअनुसार अझै पनि साउने संक्रान्तिमा लुतो फाल्ने चलन छ। अहिले काठमाडौँमा उति साह्रो यस्तो संस्कार गरेको देखिँदैन। त्यतिबेला भने लुतो फाल्ने चलन बाक्लो थियो। उनी भन्छिन्, ‘हामी त्यो दिनमा लुतो फाल्दा को बढी कराउने भन्ने प्रतिस्पर्धा हुन्थ्यो। तर हाँसो उठेर कराउनै सकिँदैनथ्यो। त्यो दिनमा आगो बालेर नाङ्लो ठटाई लुतो फाल्ने गरिन्थ्यो।’

त्यस दिन तिउरी फूल डाँठसहित पिसेर, त्यहाँ भँगेरोको दिसा र मकरकाँची (एक किसिमको अमिलो झार) को मिश्रण बनाई, त्यसको लेप लगाउने चलन थियो। यस्तो लेप लगाउँदा हात पूरै रातो हुन्थ्यो। हिजोआज मेहन्दी लगाउने चलन त्यसैको विकसित रुप हो कि जस्तो लाग्छ। पहिला हामी तिउरी लगाउने पनि भन्थ्यौँ।

मेरी क्लासमेट चादँनी राणा
मञ्जु स्कुलमा खासै बोल्ने विद्यार्थी थिइनन्। उनको त्यो बानी क्याम्पस पढ्दासमेत गएन। स्कुलमा त एक ठाउँमा बसेपछि क्लास नसकिउञ्जेल त्यहीँ शिक्षक आउँथे। पद्यकन्या क्याम्पसमा भने विषयअनुसार क्लास फेर्दै हिँड्नुपर्दा सुरुमा उनी छक्कै परिन्। पछि त उनी २०१७–२०१९ ब्याचको मेजर इङ्लिसको कलेज टपर बन्न पुगिन्। उनको पढ्ने आफ्नै शैली थियो। ‘मैले कलेज टपुँली भनेर सोचेको पनि थिइनँ,’ उनले खुलाइन्, ‘भाइहरुसँग गुच्चा खेल्दै पढेकी थिएँ, परीक्षा आउनुभन्दा केही दिनअघि मात्र पढ्थेँ। तर पछि त कलेज टप भएर छात्रवृत्ति नै पाएँ।’

पद्यकन्या क्याम्पसमा पढ्दा अनुभव गरेको एउटा गज्जबको पक्ष चाहिँ हरेक जातका विद्यार्थीको ग्रुपिज्म हो। ब्राह्मण, क्षेत्री, नेवार र राणाहरुको आफ्नै समूह हुन्थ्यो। त्यतिबेला एउटा समूहको अर्काेसँग त्यति राम्रो सम्बन्ध हुँदैनथ्यो। त्यतिबेला उनी र चादँनी राणा कक्षासाथी थिए। उनीसँगै बेञ्चमा बस्ने चाँदनीसँगै अन्य राणाका छोरीहरु पनि थिए। उनीहरु ठूलो स्वरमा ‘हामी त युवराज वीरेन्द्रसँग बिहे गर्ने हो’ भनी सुनाउँथे। पछि त चादँनी राणाको बिहे वीरेन्द्रसँग हुँदा म त छक्क परेँ।

तिवारी पनि कम बोल्ने र कविता लेख्ने अनि उता चादँनी पनि कम बोल्ने र कविता लेख्ने। उनीहरु दुवै एउटै कक्षा र बेञ्चकै साथी भए पनि खासै कुराकानी नहुने उनी बताउँछिन्।

धाई सुसारेसहित कलेज
त्यतिबेला भर्खर राणा शासन त हटेको थियो तर राणाहरुको रवाफ भने हटेको थिएन। तिवारी भन्छिन्, ‘राणाजीका पुत्रीहरु गाडीमा कलेज  आउँथे। त्यो पनि धाई सुसारेसहित तर चाँदनीलाई भने उनका बुबा आफैँ मोटरमा राखेर पुर्याउन आउँथे।’ तिवारीका अनुसार त्यतिबेला पद्यकन्या क्याम्पसमा राणाका छोरीहरु पढ्न कक्षाभित्र बस्थे भने धाईहरु थकाई मार्ने छुट्टै घर थियो। राणाका छोरीहरु पढिसकेपछि उनीहरुलाई धाईहरुले सँगै लिएर जान्थे।

जिन्दगीको पाठ सिकाउने त्यो खेल
पद्यकन्या क्याम्पसमा खेल भइरहन्थ्यो। त्यतिबेला टेबलटेनिस, ब्याडमिन्टन् र चाइनिज चेकर भन्ने खेल बडो प्रचलित थिए। तिवारी पढ्नमा मात्र अब्बल थिइनन् र उनको खेलकुदमा पनि उस्तै दख्खल थियो। उनी  चाइनिज चेकर खेल खेल्थिन्। उनले भनिन्, ‘त्यो खेल चेसजस्तै हो। खेल खेल्दाका नियम दुईथरि हुन्थे। एउटा अरुलाई हराएर जित्नुपर्ने र एउटा आफैँले बाटो सिर्जना गरेर जित्नुपर्ने। म आफैँले बाटो खोजेर  जानुपर्ने तरिकाबाट खेल जित्थेँ।’ उनलाई यस खेलले जीवनमा ठूलो पाठ सिकाएको बताउँछिन्। ‘सायद जिन्दगीभर मलाई त्यो खेलको प्रभाव पर्यो,’ उनी भन्छिन्, ‘मैले कहिल्यै अरुलाई लछारेर पछारेर अघि बढ्नेबारे सोचिनँ, आफैँ नयाँ बाटो बनाएर हिँडिरहेँ।’

प्रिन्सिपलले सोधिन्ः किन संगठन खोलेको ?
पञ्चायती समय कुनै पनि संघसंस्था राजनीतिक उद्देश्यले खोल्न पाइँदैनथ्यो। तातो रगत भएर जोशिएका युवालाई कसले रोक्ने ? शिशु अवस्थामा नै प्रजातन्त्रको घाँटी निमोठिएको थियो। विद्यार्थी हकहितको उद्देश्य राखेर नेपाल विद्यार्थी संघ खुल्यो। पद्यकन्या कलेजमा शाखा खोल्न उनले पनि भूमिका खेलिन्। यही संस्थाबाट उनले केही समय राजनीति पनि गरिन्। उनले भनिन्, ‘मैले बुझेर राजनीति गरेको होइन। राजनीति गरेपछि मात्र अलिअलि बुझ्न थालेकी हुँ। त्यतिबेलाको कलेज टपर म संगठनमा लाग्नु राम्रो हुन्छ भनेर लागेकी थिएँ।’

त्यतिबेला पद्यकन्या क्याम्पसको प्रिन्सिपल अंगुरबाबा जोशी थिइन्। विद्यार्थीले पढ्नबाहेक अरु काम गर्न हुँदैन भन्दै सुझाउँथिन् तर त्यही क्याम्पसमा पढ्ने विन्दु कोइराला भने राजनीतिक चेतनाले  ओतप्रोत थिइन्। उनैले विद्यार्थी जम्मा पारेर नेवि संघ गठन गरिन्। त्यतिबेलासम्म नेवि संघ भन्ने विद्यार्थी संगठन दर्ता भएकै थिएन। तिवारीले भनिन्, ‘एक किसिमले कांग्रेसको भातृ संगठन नेवि सघंको जग बसाउने काम त्यतिबेला नै भएको हो। कार्यक्रम त्यति हुन पाएन तर २०२२ सालमा संगठन खुल्नु नै ठूलो कुरा थियो।’ बिन्दु कोइराला संस्थापक अध्यक्ष भइन् भने मञ्जु संस्थापक महासचिव भइन्।

लुम्बिनीमा धन्नै जलिएन
२०२२ सालमा नै ग्र्याजुएट गरेका विद्यार्थीले समाजसेवाअन्तर्गत   स्वेच्छिक रुपमा गाउँगाउँमा क्षमताअनुसार काम गर्नुपथ्र्यो। गरेका काम कलेजमा रिपोर्ट गर्नुपथ्र्यो। उनको कक्षामा सबै विद्यार्थीको नेतृत्व गर्दै प्राध्यापक सहाना प्रधान ३७ जना विद्यार्थी लिएर लुम्बिनी गइन्। काठमाडौँबाहिर पहिलो पटक जाँदै थिइन्। घरबाट निस्कने बेलामा मञ्जुलाई हजुरआमाले भनिन्, ‘जता गएर बसे पनि आफ्नो ओछ्यान  प्राध्यापक प्रधानको नजिक लगाएर सुत्नु है !’
त्यो बेला सबै विद्यार्थीले एक जना जमिन्दारको टहरामा लहरै सुत्थे। प्रायः अबेर रातिसम्म पढ्ने तिवारीको बानी लुम्बिनीको दुई महिने बसाइमा पनि जारी रह्यो।

एक रात आफ्नो वरिपरि केही पढ्ने कुरा छ कि भनेर हेरिन् र अंग्रेजी पुस्तक फेला पारिन्। त्यो पुस्तक मैनबत्तीको उज्यालोमा पढ्दै थिइन्, झप्प निद्रा लाग्यो। मैनबत्तीको ठुटो मात्र बाँकी भएपछि आफैँ निभिहाल्छ भनेर उनी सुतिन्। ‘त्यहाँ परालमाथि हाम्रो ओछ्यान लगाइएको थियो, मैनबत्ती त पूरै जलेर परालमा पो सल्किएछ,’ त्यो दिनको दुर्घटना सम्झँदै उनले भनिन्, ‘आगो सल्कँदै म सुतेको सिरानीको आधा भाग पनि डढिसकेछ। त्यही तातोले गर्दा साहना दिदी ब्युँझनुभएछ। अनि हामी बाँच्यौँ।’ त्यो बेलामा सरकारको साक्षरता कार्यक्रमलाई सहयोग पु¥याउन आफ्नो समूहले भूमिका खेलेको मञ्जुले बताइन्।

पुष्पलाल भेट्न बनारस
त्यही लुम्बिनीमा रहेको बेला प्राध्यापक सहाना प्रधानले लखनउ घुम्न जाने योजना बनाइन्। ‘त्यतिबेला सहाना म्यामको ठूलै निगरानी हुन्थ्यो,’ प्रष्ट्याउँदै उनले भनिन्, ‘उहाँ कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालकी पत्नी हुनुहुन्थ्यो। त्यति मात्र होइन, उहाँ आफैँ पनि राजनीतिक ज्ञानले भरिपूर्ण हुनुहुन्थ्यो। उहाँलाई बेलाबेला सरकारले केरकार गरिरहन्थ्यो।  उहाँले हामीलाई पनि लखनउ जाने भन्नुभएको थियो। बोर्डर पनि त्यही भनेर क्रस गरेका थियौँ। आखिरीमा उहाँले हामीलाई बनारस पो पुर्याउनुभयो ! हामी रेलबाट गएका थियौँ। हामीलाई लिन पुष्पलाल आफैँ आउनुभएको थियो।’ त्यतिबेला पुष्पलाललाई देख्दा अनौठो लागेको मञ्जु बताउँछिन्। ‘सहाना दिदी पूरै रफटफ र हाट्टहुट्ट गर्ने तर पुष्पलाल भने शान्त र सौम्य प्रकारको हुनुहुन्थ्यो। हामी त्यहाँ बसुञ्जेल खासै धेरै बोलेको पनि सुनिनँ।’

प्रेमप्रतिको वितृष्णा
त्यो बेला नै तीन वटा विषयमा डिग्री गरेकी मञ्जु काँचुली एक प्रख्यात साहित्यकार पनि भएकीले उनलाई मन पराउने कयौँ थिए होलान्। उनले कसैलाई प्रेम गरिन् त ? उनी टक्टकिन खोजिन्, ‘खै, त्यस्तो प्रेम सम्बन्ध त भएन।’
२०३७ सालमा ३३ वर्षको उमेरमा उनको विवाह भयो तर दुई छोराकी आमा भइसकेपछि उनले वैवाहिक जीवन लम्ब्याउन सकिनन्। साहित्यमा यति लगाव बस्यो कि उनले साहित्यलाई नै स्थायी साथी बनाउने निर्णय गरिन्।
त्यसो त लामो समय विवाह नगरेकाले समाज र परिवारको दबाबमा उनले बिहे गरिन् तर १८ वर्षको उमेरमा यौन दुर्व्यवहार (उनको भनाइमा हल्का भ्वाइलेन्स)मा परेपछि प्रेम सम्बन्धमाथि उनको विश्वास नै रहेन।

‘जब म १८ वर्षको उमेरमा भ्वाइलेन्समा परेँ, त्यसपछि दिदीले आफूलाई प्रेम भयो र कसैसित प्रेम सम्बन्ध छ भनेर सुनाउँदा विश्वासै लागेन,’ उनले भनिन्, ‘प्रेम सम्बन्ध भन्ने पनि हुन्छ र जस्तो अझै लागिरहन्छ। साँच्चै भन्दा मलाई युवाकालमा हुने गहिरो प्रेमको अनुभूति भएको छैन।’

‘स्वास्नीमान्छे एक पटक न एक पटक भ्वाइलेन्समा परेकै हुन्छे,’ उनको दाबी छ, ‘म पनि लाइट भ्वाइलेन्समा परेँ। प्रेमको टुसा पलाउने बेलामा निमोठिदिएपछि के हुन्छ ?’ त्यसपछि उनले लक्ष्मीप्रसाद देवकोटाको कविता ‘नटिप्नु हेर कोपिला नचुँड्नु पाप लाग्दछ’ गुन्गुनाइन् र भनिन्, ‘त्यस्तै भयो भनौँ।’ कसले त्यस्तो दुर्व्यवहार गर्यो, जसको असर अहिले लगभग ७० वर्षको उमेरमा पनि कुप्रभाव पारिरहेको छ ? उनी यो खुलाउन चाहन्नन्। ‘नाइँ मान्छे त म भन्दिनँ,’ उनले कर नगर्न आग्रह गरिन्, ‘अब त्यो पुरानो कुरा अहिले के भनौँ र ? सबैभन्दा राम्रो कुरा अहिले उनी आफ्नो इमानमा छन्।’

के उसो भए त्यही भएर लोग्नेमान्छेप्रति उनलाई विश्वास नभएको हो ? ‘मैले २०३७ सालमा विवाह गरे पनि २०४९ सालमा छुट्यौँ, योबारे म कुरा गर्न चाहन्नँ। रह्यो लोग्नेमान्छे प्रतिको प्रेमको कुरा, मेरा दुई छोरा छन्। उनीहरुले मलाई भरपूर माया गर्छन्, मैले पनि उनीहरुलाई मातृवात्सल्य दिइरहेकी छु। मलाई माया गर्ने मेरा बुबा पनि लोग्नेमान्छे नै हुन् तर  प्रेमीका रुपमा प्रेमको अनुभूति कमै भयो।’  

अहिलेका बालबालिका भाग्यमानी
‘हाम्रो पालामा घरमा आदेशात्मक शासन चल्थ्यो,’ पहिले र अहिलेको अभिभावकत्वको तुलना गर्दै उनले भनिन्, ‘अहिलेका अभिभावक  प्रजातान्त्रिक छन्, बालबालिकाको मनोभावना बुझ्ने प्रयास गर्छन्। त्यस हिसाबले अहिलेका बच्चाबच्ची भाग्यमानी छन्।’ उनले मनोविश्लेषकसमेत भएकाले धेरै विद्यार्थीको मनोउपचार गरेकी छन्। अहिलेको शिक्षा प्रणालीप्रति तिवारीलाई रत्ति चित्त बुझेको छैन। विद्यार्थीको मनोभावाना बुझ्ने भन्दा पनि लाद्ने प्रवृत्तिको उनी विरोधी हुन्।  भन्छिन्, ‘अहिले हामीकहाँ मेमोरीमा आधारित शिक्षण प्रणाली चलिरहेको छ तर शिक्षा भनेको सिर्जनात्मक हुन जरुरी छ।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

DxOMark अनुसार अहिलेको सबैभन्दा अब्बल क्यामरा स्मार्टफोन ! ...

Ncell Footer Ad