८ वैशाख २०८१ शनिबार
राजनीति

स्विजरल्याण्ड भ्रमणमा प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्विजरल्याण्ड भ्रमणको क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले माघ ८ देखि ११ गतेसम्म डाभोसमा हुने विश्व आर्थिक सम्मेलनमा भाग लिने छन्। उनले सो क्रममा स्विजरल्याण्डका राष्ट्रपति विल मिउरे, भियतनामका प्रधानमन्त्री विअन स्वान फुक लगायतलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।

सो सम्मेलनमा भाग लिन १९ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली माघ ६ गते स्विजरल्याण्डको डाभोस जाँदैछन्।

'हामी अन्य नेताहरुसँग पनि भेटवार्ताको समय निर्धारण गर्न खोजिरहेका छौं', परराष्ट्र स्रोतले भन्यो। विश्व आर्थिक सम्मेलनलाई सम्वोधन गर्ने ओली नेपालको पहिलो सरकार प्रमुख हुनेछन्।

सम्मलेनमा प्रधानमन्त्री ओलीले दुई सत्रमा आफ्नो मन्तव्य दिने छन्। उनले 'स्ट्रटेजिक आउटलुक अन साउथ एसिया' र 'सेपिङ दी फ्युजर अफ डेमोक्रेसी' विषयमा मन्तव्य दिने कार्यक्रम प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताए।

जी २० मुलुकबाट सम्मेलनमा भाग लिने देशका नेताहरुसँग प्रधानमन्त्रीले भेट गर्ने भट्टराईले बताए। भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई लगायत रहनेछन्।

 

प्रकाशित: २ माघ २०७५ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App